Comments Add Comment

कांग्रेस-माओवादी तालमेलः उपत्यकामा ‘असफल’, पोखरा र भरतपुरमा सफल

पम्फा भुसाल भन्छिन्- काठमाडौं र ललितपुरमा अझै सम्भावना छ

२१ बैशाख, काठमाडौं । पहिलो चरणको स्थानीय चुनावमा ४ वटा महानगरपालिका चर्चाको शिखरमा पुगेका छन् । दुई ठूला दल कांग्रेस र एमाले सबै महानगरपालिकामा माओवादी र राप्रपाको साथ लिएर जित आफ्नो पक्षमा पार्ने दाऊमा लागेका छन् ।

बिहीबार नेपाली कांग्रेस र माओवादीले भरतपुर र पोखरा महानगरपालिकामा चुनावी तालमेल गरेका छन् । तर, काठमाडौं र ललितपुरमा कांग्रेस- माओवादीवीच तालमेल गर्ने प्रयास भने सफल भएन ।

एमाले र राप्रपावीच काठमाडौं र ललितपुरमा तालमेल भइसकेको छ । दुबै महानगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयरमा साझा उम्मेदवारी दिएका छन् । पोखरा र भरतपुरमा भने एमाले र राप्रपावीच तालमेलको चर्चा चले पनि हुन सकेको छैन ।

एमालेलाई काउण्टर गर्नका लागि कांग्रेस नेताहरुले बिहीबार दिनभरि माओवादीसँग तालमेलबारे छलफल गरेका थिए ।

भरतपुरमा माओवादीबाट मेयर, कांग्रेसबाट उपमेयर

भरतपुरमा माओवादीले मेयर र कांग्रेसले उपमेयरमा सहमति गरेका छन् । मेयरमा रेणु दाहाल र उपमेयरमा पार्वती शाह चुनाव लड्ने भएका छन् ।

भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसका मेयरका आकांक्षी दिनेश कोइरालाको उम्मेद्वारी फिर्ता भएको छ । त्यहाँ कांग्रेसले माओवादीकी मेयर उम्मेदवार रेणु दाहाललाई सघाउने सहमति भएको छ ।

भरतपुरमा माओवादीका उपमेयरका उम्मेदवार सुरेन्द्र गुरुङको उम्मेदवारी पनि फिर्ता भएको छ । माओवादीले उपमेयरमा कांग्रेस उम्मदेवार पार्वती शाहलाई सघाउने छ ।

बिहीबार दिउँसो काठमाडौंमा आयोजित दुई पार्टीको शीर्ष तहको छलफलपछि भरतपुरमा कांग्रेसले माओवादीलाई सघाउने सहमति गरेको खबर बाहिर आउनासाथ चितवनका कांग्रेस कार्यकर्ताहरु रिसाएर सडकमा उत्रिएका थिए । उनीहरुले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्दै पार्टी कार्यालय अगाडि आगो बालेर विरोध प्रदर्शनसमेत गरे ।

माओवादी र कांग्रेसवीच महानगरपालिकाको मेयर पद बाँडफाँड भएको खबर आउनासाथ चितवनका कांगेस कार्यकर्ताहरु केहीबेर आक्रोसित बनेका थिए ।
स्थानीय कार्यकर्ताहरुले विरोध गर्दागर्दै पनि अन्ततः तालमेल भएको छ । अब भरतपुर महानगरपालिकामा कांग्रेस-माओवादी संयुक्त प्यानलबाट मेयरमा रेणु दाहाल र उपमेयरमा पार्वती शाह दुबै महिला प्रत्याशीहरु खडा भएका छन् ।

पोखरामा मेयर कांग्रेस, उपमेयर माओवादी

पोखरामा माओवादीले मेयर पदबाट नाम फिर्ता लिएर कांग्रेसलाई सघाउने निर्णय गरेको छ । माओवादीका मेयर उम्मेदवार विश्वप्रकाश लामिछानेको उम्मेदवारी फिर्ता भएको छ । त्यहाँ माओवादीले अब कांग्रेसका रामजी बराललाई मेयरमा भोट हाल्ने छ ।

पोखरामा कांग्रेसले उपमेयरका लागि माओवादीकी उमा ढकाललाई सघाउने सहमति भएको छ । तर, कांग्रेसको उपमेयरकी उम्मेदवार सरस्वती गुरुङको उम्मेदवारी फिर्ता भएको छैन ।

काठमाडौं र ललितपुरमा तालमेल भएन

प्रमुख दलहरुले चारैवटा महानगरको चुनावलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । र, यसैका लागि एमाले र कांग्रेस दुबैले राप्रपा र माओवादीसँग साथ लिन खोजेका छन् । यद्यपि काठमाडौं र ललितपुरमा भने अन्तिमसम्म प्रयास गर्दा पनि कांग्रेस र माओवादीवीच तालमेल हुन सकेन ।

काठमाडौंमा माओवादीले उपमेयर लिएर कांग्रेसलाई मेयरमा सघाउने लगभग सहमति जनाइसकेको थियो । तर, यसका लागि कांग्रेसले ललितपुरमा आफूलाई मेयर छाडिदिनुपर्ने माओवादीको शर्त थियो ।

कांग्रेसले ललितपुरमा मेयर नछाड्ने अडान लिएपछि माओवादी पनि काठमाडौंबाट ब्याक हुन मानेन । अन्ततः काठमाडौंमा माओवादीका मेयर उम्मेदवार सर्वोत्तम डंगोलले आफ्नो उम्मेदवारी फिर्ता लिएनन् ।

उम्मेदवारहरुको नाम फिर्ता लिनुपर्ने म्याद बुधबार बेलुका ५ बजे सकिइसकेको छ ।

प्राविधिकरुपमा काठमाडौं र ललितिपुरमा चुनावी तालमेल हुन नसके पनि राजनीतिक रुपमा अझै पनि त्यो सम्भावना नसकिएको माओवादी प्रवक्ता पम्फा भुसालले बताइन् । भुसालले अनलाइनखबरसँग भनिन्- ‘नाम फिर्ता लिने समय सकिए पनि काठमाडौं र ललितपुरमा राजनीतिक रुपबाट तालमेलको सम्भावना अझै पनि छ ।’

चारवटा महानगरको हकमा केन्द्रबाटै तालमेल गर्ने र अन्य मातहतका स्थानीय तहमा स्थानीय स्तरबाटै तालमेल गर्ने पार्टीको नीति रहेको भुसालले बताइन् ।

हेटौंडामा पनि कांग्रेस-माओवादी तालमेल

त्यसैगरी हेटौडा उपमहानगरपालिकामा पनि कांग्रेसले मेयर र माओवादीले उपमेयर लिने गरी चुनावी तालमेल भएको छ ।

सहमति अनुसार माओवादी केन्द्रकी मेयर उम्मेदवार कुमारी मोक्तानले उम्मेदवारी फिर्ता लिएको जिल्ला संयोजक प्रेमबहादुर पुलामीले बताए । कांग्रेसबाट उपमेयरका उम्मेदवार लक्ष्मी श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिएकी छिन् ।

हेटौंडामा कांग्रेस-माओवादी गठवन्धनबाट अब मेयरमा कांग्रेसका उम्मेदवार आनन्दराम पराजुली र माओवादी केन्द्रका उपमेयरका उम्मेदवार बलराम चुनावी मैदानमा छन् ।
मकवानपुरकै थाहा नगरपालिकामा माओवादीले मेयर र कांग्रेसले उपमेयर तथा भीमफेदी गाउँपालिकाको प्रमुख माओवादी र उपप्रमुख कांग्रेसले लिने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment