Comments Add Comment

हरिवंशले ल्याए पहिलो उपन्यास ‘हरिबहादुर’

हरिबहादुरलाई मदनकृष्णको झटारो: धोखा दिनेलाई के भन्नु र खै !

२४ बैशाख, काठमाडौं । मञ्चमा उक्लिएर केही भूमिका बाँधेपछि हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ एकाएक कड्किए, ‘नामी काइते, जाली, फटाहा, फन्टुस, छुल्याहा, मुल्याहा, हुल्याहा !’

पार्किन्सन रोगका कारण हिँडाइमा समस्या खेपिरहेका मदनकृष्णलाई कलाकार किरण केसीले डोर्‍याउँदै मञ्चमा उकालेका थिए । नेपाल प्रज्ञा-प्रतिष्ठानको डबलीमा खचाखच दर्शक यी पाका कलाकारको कुरा सुन्न व्यग्र भइरहँदा उनले काइतेदेखि हुल्याहासम्म भन्न भ्याए ।

उनी महजोडीमा हल बाँधेका अर्का कलाकार हरिवंश आचार्यलाई औंल्याइरहेका थिए । खासमा मदनकृष्णले ‘मदनबहादुर हरिबहादुर’ टेलिशृंखलामा हरिवंशले निर्वाह गरेको गाउँको बदमास चरित्र हरिबहादुरको विशेषता केलाइरहेका थिए ।

लगत्तै उनले थपे, ‘हरिबहादुरलाई मैले पनि चिन्छु । तर, मैले भन्दा बढी मदनबहादुरले चिन्छ । उसले धोखा दिनेलाई के भन्नु र खै भनेर एकोहोरो कराएको करायै गर्छ सिरियलमा ।’

प्रज्ञा डबलीमा सबै कुरामा हरिबहादुरकै चर्चा र प्रसंग जोडिएको थियो । सन्दर्भ थियो हरिवंशको पहिलो उपन्यास र दोस्रो कृति ‘हरिबहादुर’ को लोकार्पणको ।

मन्तव्य दिनुअघि मदनकृष्णले हरिबहादुरको चित्र अंकित बडेमानको तस्बिर अगाडि सहयात्री हरिवंशसँग संयुक्त रुपमा उपन्यास सार्वजनिक गरेका थिए ।

केही बेरअघि हरिबहादुरको हुल्याहा छविलाई कटाक्ष गरेका मदनकृष्णले अब भने हरिवंशको प्रशंसामा शब्द खर्चिए । यसअघिको ‘चिना हराएको मान्छे’ बाट जस्तै हरिवंशले उपन्यासबाट पनि पाठकहरु कमाउने आशा राख्दै उनले आत्मीयतापूर्वक भने, ‘मेरो परम मित्र, मेरो जिन्दगी, मेरो भाइ, मेरो आफ्नो मान्छे भन्नु कोही छ भने हरिवंश हो । उसको किताब निस्किनु मेरो लागि ठूलो खुसीको कुरा लागिरहेको छ ।’

उनले लप्पनछप्पनमा माहिर हरिबहादुरको आत्मकथा लेखेको भन्दै  हरिवंशलाई धन्यवाद समेत दिए । अत्यन्त रमाइलो माहौलमा भएको कार्यक्रममा मदनकृष्णले हरिबहादुरको दुष्ट चरित्रलाई समाजसँग जोड्दै छरछिमेक, कोलोनीदेखि राजनीतिसम्ममा हरिबहादुरको कमी नभएको गम्भीर पाटो औंल्याए ।

‘हरिबहादुरहरु राजनीतिमा भएको हुनाले नै आज देशमा अनेक किसिमका ताण्डव नृत्य देखिरहेका छौं’, उनले भने । उनले हरिवंशले दुई वटा पुस्तक निकालिसक्दा आफूलाई कहिले किताब आउँछ भन्ने प्रश्नको वर्षाले सताएको भन्दै आफ्नो पुस्तक सम्पादन प्रक्रियामा रहेको र चाँडै आउने जानकारी दिए ।

पुस्तक लोकार्पण अगाडि हरिवंशले रमाइलो प्रहसन प्रस्तुत गरेका थिए । टेलिशृंखलाकै हरिबहादुर हुलियामा मञ्चमा देखिएका उनले केही वर्षअघि टेलिभिजनको पर्दामा आउने नकारात्मक चरित्रलाई ब्युँताउँदै ‘त्यसो गरे कसो होला’ थेगो ताजा बनाए ।

‘आयो उपन्यास हरिबहादुर’ भन्दै मञ्चमा झुल्किएका उनले यसको दाम ३ लाख ९८ हजार पैसा (३८० रुपैयाँ) पर्ने भनेर विज्ञापन पनि गर्न भ्याए ।

हरिबहादुर चरित्र मार्फत उनले समाज र विश्वमै ठग प्रवृत्तिको जित हुने गरेको तीतो यथार्थ देखाउँदै संसारै ठगैठगको जालो बनिरहेकोमा सजग तुल्याए ।

जनजीवनका किस्सा जोडेर उनले प्रहसन देखाइरहँदा ‘जनता जान्न चाहन्छन्’ थेगोसहित पत्रकारको प्रवेश हुँदा प्रस्तुति अझ रोचक बनेको थियो । पत्रकारको भूमिकामा मञ्चमा देखिएका सुमन कार्कीले शिक्षादेखि बौद्धिक स्तरसम्मको कुरा सोधेपछि हरिबहादुर पत्रकारलाई अंकमाल गर्दै भन्छन्, ‘हामी दुवै उस्तै है !’

कार्यक्रमको अन्तिम सत्रमा लेखक बुद्धिसागरले हरिवंशसँग किताब लेख्नुको कारण र लेखन प्रक्रियाको बारेमा प्रश्नोत्तर गरेका थिए । हरिवंशले टेलिशृंखलाको हरिबहादुर पात्रलाई नै टिपेर उपन्यास लेखे पनि टेलिशृंखलाको १५ प्रतिशत कुरा मात्र रहेको र बाँकी नयाँ कुरा पस्किएको बताए ।

उनले उपन्यास लेख्दा विशुद्ध कल्पना गरेर लेखे पनि ‘चिना हराएको मान्छे’ आत्मकथामा छुटेका कतिपय कुरा ल्याएको प्रसङ्ग पनि जोडे ।

हरिबहादुरले गाउँमा अगेनाको आगो र शहरमा हिटर पिसाबले निभाउन खोजेको जस्ता छुल्याहा प्रसङ्ग वास्तविक जीवनसँग कति नजिक छन् भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘त्यसमा अलिअलि भएकै कुरा छन् । आत्मकथामा लेख्दा अलिक लाज हुन्थ्यो, उपन्यासमा त कल्पना भन्न पाइन्छ ।’

बुद्धिसागरले आफू लगायत केही लेखकलाई रुन्चे साहित्य लेख्ने भनेर बात लाग्ने गरेको उल्लेख गर्दै हँसाउने पुस्तकको रुपमा हरिबहादुरले फरक भूमिका निर्वाह गर्ने बताए । ‘हरि दाइले एकदम दुःखद घटनालाई पनि उपन्यासमा त्यति धेरै दुःखी रुपमा लेख्नुभएको छैन, दुःखमा पनि हास्यरस भेटिन्छ’, उनले भने, ‘हास्यरस मिसाएर नेपालमा केही लेखकले लेखे पनि आख्यानमा जुन खाली पोस्ट थियो,  त्यसमा हरिबहादुरले गोल गरेको छ भन्ने मलाई लाग्छ ।’

कार्यक्रममा कलाकार कविराज लामाले उड कार्पेन  गरेर बनाएको पुस्तकको आवरण कला फ्रेम हरिवंशलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रम सञ्चालक रवि लामिछानेले हरिबहादुर पुस्तक यात्रा जेठ ५ गतेदेखि देशका विभिन्न ११ ठाउँमा हुने जानकारी दिए । चितवन, पोखरा, बुटवल, दाङ, कोहलपुर, सुर्खेत, धनगढी, विर्तामोड, विराटनगर, धरान र सिन्धुलीमा हुने पुस्तक यात्राका क्रममा स्थानीय पाठकले हरिवंशसँग अन्तरक्रिया गर्न र पुस्तकमा हस्ताक्षर गराउन सक्नेछन् । सो क्रममा हरिवंश आचार्यको प्रहसन पनि हुने जनाइएको छ ।

उपन्यास फाइन प्रिन्टले प्रकाशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment