Comments Add Comment

उपमेयरकी दाबेदार निरुपमा भन्छिन्-सेलरोटीले काठमाडौं र मधेसलाई जोड्छ

काठमाडौंको उपमेयरमा रञ्जुले नमानेपछि निरुपमालाई चिठ्ठा !

२४ बैशाख, काठमाडौं । बखुण्डोलस्थित साझा पार्टीको केन्द्रीय कार्यालय अगाडि ट्याक्सी रोकेर ओर्लिँदै गर्दा अधिवक्ता निरुपमा यादवले भनिन्- स्वयंभूबाट यहाँसम्म आउदा चार ठाउँमा बाटो भत्किएकाले ट्याक्सीमा दोब्बर भाडा उठ्यो । हामीले राजधानीलाई यस्तै हालतमा राख्ने हो त अब ?

काठमाडौं महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी निरुपमाले आफैंले भोगेको सास्तीबाट अनलाइनखबरसँग कुरा शुरु गरिन् ।
अघिपछि बस, टेम्पो र माइक्रोमा यात्रा गर्ने निरुपमाले चुनावी चटारोका कारण ट्याक्सी प्रयोग गर्न थालेकी छन् । काठमाडौंको सार्वजनिक यातायातलाई सहज र सम्मानजक बनाउने उनको मुख्य लक्ष्य शुरुमै सुनाइन् ।

शहरी विकास मन्त्रालयका पूर्वसचिव किशोर थापा मेयर रहेको साझा पार्टीबाट उपमेयरमा उठेकी निरुपमाले आफ्नो उम्मेदवारीका बहुआयामिक उद्देश्यहरु फुकाउन थालिन् । राजधानीबासीको मतले मधेस र पहाडको मन जोड्ने पुल बन्न खोजेकी छन् निरुपमा ।

काठमाडौं महानगरपालिकाका उम्मेदवारहरुले विकास निर्माण, सरसफाइ, रेल, मोनो रेल र पुल पुलेसाका सपना त बाँडिरहेकै छन् । तर, निरुपमाले भने वागमतीका दुई किनारा जोड्ने पुलभन्दा पनि मुलुकका दुई भूगोल र सभ्यता जोड्ने भावनात्मक पुल बन्ने सपना बोकेकी छन् ।

काठमाडौंले मधेसलाई कहिल्यै बुझेन भन्ने गुनासो चुलिएका बेला मधेसी महिला समुदायकी निरुपमा यादवको उम्मेदवारी काठमाडौंका लागि चुनौति, अवसर र परीक्षण तीनै थोक हो भन्ने तर्क जबर्जस्त उठेको छ ।

सावधानीपूर्वक आफ्नो धारणा व्यक्त गर्दै निरुपमाले भनिन्- मेरो उम्मेदवारी मधेस र पहाड, विशेष गरी काठमाडौं र मधेसको दूरी मेटाउने अवसर पनि हो ।

पहाडमा मधेसीको उम्मेदवारी सम्भवतः यो पहिलो हो । यसमा पनि मधेसी महिला निरुपमा यादव काठमाडौं महानगरको आजसम्मकै इतिहासमा पहिलो मधेसी उम्मेदवार बनेकी छन् ।

काठमाडौंमा सयौं वर्षदेखि मधेसीहरु पुस्तौनी बस्दै आए पनि अहिलेसम्म यहाँको राजनीतिमा उनीहरु अगाडि आउन सकेका छैनन् ।
नेपालको उत्पतिसँगै मधेसीहरु काठमाडौंमा रहेको बताउने निरुपमाले राजा जयस्थिति मल्लको इतिहास सुनाउने गरेकी छन् । उनी भन्छिन्- ‘जयस्थिति मल्ल मधेसी थिए । वास्तवमा यहाँ मधेसीहरु सयौं वर्षदेखि बसिरहेका छन् । यसपटक मेरो उम्मेदवारीले मधेसीलाई हेर्ने काठमाडौंको दृष्टिकोण देखाउनेछ ।’

को हुन् निरुपमा यादव ?

३९ वर्षीया निरुपमा यादव सप्तरीमा जन्मिइन् । बुबा बलराम यादव कोहलपुरको त्रिभुवन माविका हेडसर भएकाले उनी नेपालगञ्जमा हुर्किइन् ।

एसएलसी पास गर्नेबित्तिकै १७ वर्षको उम्मेदवारमा मोरङका सदानन्द यादवसँग उनको बिहे भयो । त्यसपछि काठमाडौंमा बसेर उनले नेपाल ल क्याम्पसमा पढिन् ।

अलिे पति सदानन्द त्रिचन्द्र क्याम्पसका सहप्राध्यापक छन् भने उनी कानुन व्यवसायी छिन् ।

क्याम्पस पढ्दा निरुपमा कुनै पनि विद्यार्थी संगठनमा आवद्ध भइनन् । सक्रिय राजनीतिमा नलागे पनि उनको परिवारको आस्था नेपाली कांग्रेससँग थियो ।

नेपालगञ्जमै हुर्किएका कारण सुशील कोइरालासँग उनको राम्रै सम्बन्ध थियो । एकपटक कोइरालाले उनलाई कांग्रेस राजनीतिमा सक्रिय हुन आग्रह पनि गरेका थिए । तर, उनी राजनीतिमा सक्रिय हुन चाहिनन् ।

एकपटक सर्वोच्च बारमा सदस्य भएबाहेक निरुपमासँग चुनावी अनुभव छैन । १५ वर्षदेखि वकालती पेशामा रहेकी उनले शान्ति सम्झौता उच्चस्तरीय अनुगमन समितिको सदस्य भएर काम गरेकी छिन् । अहिले पनि उनी मेलमिलाप परिषदको सदस्य छिन् ।

काठमाडौंलाई कर्मथलो बनाएकी निरुपमा हाल कामनपा-१४ की स्थायी बासिन्दा हुन् ।

कसरी बनिन् साझा पार्टीको उम्मेदवार ?

राजनीतिबाट टाढा रहेकी निरुपमाले कांग्रेसमा सक्रिय हुनुको साटो अचानक साझा पार्टीबाट उपमेयरको उम्मेदवारी दिँदा उनलाई चिन्नेहरु ‘सरप्राइज’मा परेका छन् ।

त्यसो त पढेलेखेकी मधेसी महिला भएकै कारण मधेसवादी दलहरुको नजर पनि उनीमाथि परेको छ ।

रविन्द्र मिश्रसँगको पटक-पटकको संवादपछि उनी साझा पार्टीमार्फत राजनीतिमा प्रवेश गर्न तयार भएकी हुन् । किशोर थापालाई मेयरको उम्मेदवारका रुपमा अघि सारेको साझा पार्टीले केही दिनसम्म उपमेयर होल्ड गरेर राखेको थियो ।

रञ्जु दर्शनालाई उपमेयर बनाउने प्रस्ताव विवेकशील पार्टीले स्वीकार नगरेपछि साझा पार्टीले निरुपमालाई अघि सारेको हो । तर, पछिल्लो समयमा आएर आइतबार विवेकशील पार्टीले उपमेयरमा निरुपमालाई समर्थन जनाउने घोषणा गरेको छ ।

निर्वाचन आयोगमा दल दर्ता नभएका कारण मेयर र उपमेयरका अलग अलग चुनाव चिन्ह परेको छ । निरुपमाले चुनाव चिन्ह सेलरोटी पाएकी छन् । सेलरोटी किन रोजेको ? अनलाइनखबरको प्रश्नमा उनले भनिन्- यो त समावेशी चुनाव चिन्ह हो नि । म मधेसी महिला हुँ । सेलरोटी पहाडमा लोकपि्रय छ । त्यसैले मिलाएरै यो चिन्ह रोजेकी हुँ ।

‘उपमेयर न्यायिक पद हो भन्ने बुझौं’

संविधान र कानुनले उपमेयरलाई न्यायिक समितिको अध्यक्ष भनेको छ । आफू कानुन व्यवसायी र मेलमिलाप परिषदमा रहेर काम गरेको कारण त्यो पदका लागि अरु उम्मेदवारभन्दा आफू योग्य रहेको दाबी निरुपमाको छ ।

उम्मेदवार उठ्नेले पनि आफू कुन पदका लागि योग्य छु भनेर सोच्नुपर्ने उनको तर्क छ । निरुपमाले भनिन्-अहिले उम्मेदवार भएकामध्ये मतदाताले सबैको प्रोफाइल बुझ्नुस् । त्यो पदमा पुगेर काम गर्ने सबै योग्यता मसँग छ । काठमाडौंले मधेसीलाई विभेद गर्दैन भन्ने सन्देश दिनुस् एकपटक ।

काठमाडौं महानगरको अहिलेको दुर्गति अन्त्य गर्न आफू राजनीतिमा लागेका बताउने निरुपमाले कांग्रेस र एमालेका मतदातालाई पनि एकपटक सोच्न आग्रह गरेकी छन् ।
‘दशपटक मधेसमा गएर हामी मधेसमैत्री हौं भन्नुको साटो एकपटक काठमाडौंमा मधेसी महिलालाई मत दिएर प्रायश्चित गर्ने मौका छ’ उनले अनलाइनखबरमार्फत भनिन् ।

काठमाडौंबासीसँग गुनासो

काठमाडौं र काठमाडौंबासीसँग निरुपमा यादवको कुनै गुनासो छैन । १५ वर्षदेखि काठमाडौंलाई कर्मथलो बनाएकी निरुपमाले यहाँको नयाँ पुस्ता मधेस र मधेसीप्रति संवेदनशील रहेको अनुभव गरेकी छन् । उनले आशा गरेको पनि काठमाडौंका परम्परागत मतदाता भन्दा पनि नयाँ र तटस्थ युवाहरुबाटै हो ।

काठमाडौंसँग गुनासो नभए पनि काठमाडौंबासीसँग उनको गुनासो छ । त्यो के भने-जो आए पनि उस्तै हुन् भनेरमात्रै बस्ने हो कि एकपटक नयाँलाई हेर्ने हो ?

निरुपमा भन्छिन्- काठमाडौंबाट मैले धेरै लिएँ, अब मैले दिनुपर्छ भनेर उपमेयरमा आएकी छु । काठमाडौंबासीले एउटा मौका पाएका छन्, सबै उस्तै होइनन् र मधेस-काठमाडौं एक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment