Comments Add Comment

भारतीय कम्पनीले भन्यो-नेपाललाई बेच्ने बल्बको मूल्य भारु ६५ नै हो


२५ वैशाख काठमाडौं । नेपाल विद्युत प्राधिकरणलाई बेच्न लागिएको एलइडी बल्बको मूल्य भारु ६५ पर्ने भारतीय इनर्जी इफिसेन्सी सर्भिस लिमिटेड (ईईएसएल) ले जनाएको छ ।

ईईएसएल भारतीय सरकारी कम्पनी हो, जोसँग प्राधिकरणले २ करोड एलईडी बल्ब किन्ने तयारी गर्दैछ ।

नेपाल विद्युत् प्राधिकरणले एलइडी बल्ब खरिद गर्न लागेको भारतीय सरकारी स्वामित्वको कम्पनीले आफ्ना जनताले पाएकै मूल्यमा नेपाल सरकारलाई एलइडी बेच्न लागेको बताएको हो । केही राज्यका तुलनामा नेपालले सस्तोमो बल्ब किन्न पाएको उसले जानकारी दिएको छ ।

अनलाइनखबरसँग कुराकानी गर्दै ईईएसएलकी जनसम्पर्क अधिकृत नेहा भटनाघरले भारतमा यो बल्ब उजाला योजना अन्तरगत एलइडी बल्ब ६५ देखि ७० भारुसम्म पर्ने जानकारी दिइन् ।

उनले भनिन् ‘बजारमा खरिद गर्दा यो बल्ब १ सय ५० देखि २ सय भारुसम्म पर्छ, तर उजाला स्किम अन्र्तगत भने हामीले ६५ देखि ७० भारु बेच्ने गरेका छौं ।’

विभिन्न प्रदेशअनुसार मूल्य फरक रहने गरेको उनले बताइन् । विभिन्न प्रदेशमा लाग्ने यातायात खर्चअनुसार यसको मूल्य ६५ देखि ७० भारु सम्म पर्ने भटनाघरले जानकारी दिइन् ।

नेपाललाई पनि उजाला योजना अन्तरगतकै मूल्य ६५ भारुमै बेच्न लागिएको उनले बताइन् । यसको अर्थ नेपाललाई एलइडी बल्ब किन्दा अधिकतम् १ सय ४ नेपाली रुपैयाँ पर्नेछ । प्राधिकरणले कर जाेडेर यसलार्इ बिक्री गर्नेछ ।

साथै कम्पनीले नेपालको हेटौंडासम्म आफैंले बल्ब ल्याइदिन लागेको छ । यसरी ल्याउँदा बीचमा टुट-फुट भएर क्षति पनि ईईएसएलले नै ब्यहोर्ने भएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकाअनुसार प्रति एलइडी बल्ब भारतीय कम्पनीलाई भारु ६५ तिरिनेछ । तर, नेपाल भित्रिँदा केही सरकारी करहरु जोडिनेछ ।

यस्तो करहरुसहित यो बल्ब नेपाली बजारमा १ सय ३५ देखि १ सय ४० रुपैयाँसम्म पर्ने अनुमान छ । अहिले बजारमा यो बल्ब नेपाली बजारमा ३ सय ५० देखि ४ सय रुपैयाँसम्म पर्ने गरेको छ ।

भारतमा पनि उजाला स्किमबाट यही कम्पनी बल्ब नकिन्ने हो भने भारतीयले बाहिर बजारमा भारु २ सयसम्म तिरिरहेका छन् । चर्चित अनलाइन सपिङ साइट अमेजन डटकममै ९ वाटकाे फिलिप्स बल्बको मूल्य १ सय माथि राखिएको छ ।

भारतमा ईईएसएलले फिलिप्स र ओस्रामसँग मात्रै एलईडी बल्ब खरिद गर्दै आएको छ । यि दुबै कम्पनी विश्वबजारमा गुणस्तरीय एलइडीका उत्पादक मानिन्छन् ।

ओस्राम जर्मनी एलइडी उत्पादक कम्पनी हो भने फिलिप्स नेदरल्याण्डमा मूख्य कार्यालय रहेको कम्पनी हो । सोही कम्पनीका बल्बलाई नै ईईएसएलले नेपाललाई उपलब्ध गराउन लागेको छ ।

यस्तो छ मूल्यको संरचना

ईईएसएलले ओस्राम र फिलिप्स कम्पनीबाट एक पटकमा २० करोडभन्दा बढी बल्ब खरिद गर्छ ।

यसरी ठूलो मात्रामा बल्ब खरिद गर्दा ३८ देखि ५५ रुपैयाँसम्म पर्ने गरेको छ । फरक-फरक समयमा यो कम्पनीले फरक-फरक मूल्यमा खरिद गर्ने गरेको छ । मात्राअनुसार यसको मूल्य फरक पर्ने गरेको ईईएसएलका अधिकारीहरु बताउँछन् ।

यसमा कर, यातायात खर्च, गोदाम खर्च लगायत विभिन्न खर्चहरु जोडेर भारतीय जनतालाई उजाला स्किमअन्र्तगत ६५ रुपैयाँमा बेच्ने गरेको छ । उसले ट्रान्सपोर्टेशनको पनि जिम्मा लिएर त्यही मूल्यमा नेपाललाई बल्ब उपलब्ध गराउन लागेको हो ।

प्राधिकरणले टेण्डर खोलेर ३८ भारुमा किन्न सक्दैन ?

नेपाल-भारत ऊर्जा सचिव स्तरीय बैठकमा ईईएसएलको बल्ब नेपालले खरिद गर्ने समझदारी भएकोथियो । त्यसैका आधारमा कम्पनीले परराष्ट्र मन्त्रालयमार्फत ऊर्जामन्त्रालयलाई पत्र लेख्दै आफूले भारतमै बेचिरहेको रेटमा नेपाललाई बल्ब बेच्न सक्ने जानकारीसहित प्रस्ताव गरेको थियो ।

‘आगामी वर्षको सुख्खायासम्म हामीले डिमान्ड साइड कम गर्न सकेनौ भने लोड ब्यवस्थापन गर्न हामीलाई धेरै गाह्रो पर्छ’ प्राधिकरण्का कार्यकारी निर्देशक घिसिङ भन्छन्,’ यो पनि प्रक्रिया मिचेर निर्णय गरिएको होइन । खुला टेण्डर गर्दा कम्तिमा अब १ वर्ष समय लाग्छ, सस्तो बल्ब नपाइन सक्छ । पाइहालेपनि यतिको गुणस्तरीय बल्ब यतिको मूल्यमा पाइँदैन ।’

घिसिङ नेपालमै यसरी टेण्डर खोल्दा गुणस्तरहीन बल्ब आउने तर्क राख्छन् । नेपालको खरिद ऐन कम मूल्यमा उपलब्ध गराउनेलाई टेण्डर जिम्मा लगाउनुपर्ने व्यवस्था छ ।

यसले गुणस्तरहीन बल्ब सप्लाइको सम्भावना बढ्छ । सँगै भारतीय सरकारी कम्पनीबाट किनिने भएकाले खरिद प्रक्रिया पनि पारदर्शी हुने देखेपछि ऊर्जा मन्त्रालयले यो निर्णय गरेको थियो ।

भारतमा टेण्डर प्रक्रियामा गुणस्तर कायम गर्ने कम्पनीलाई सूचीकृत गरिएको हुन्छ । टेेण्डरमा सुचिकृत कम्पनीबाहेक अरुले टेण्डर हाल्नै पाउँदैनन् ।

‘हाम्रोमा कम मूल्यमा टेण्डर हाल्नेले पाउँछन् । तर, भारु ६५भन्दा कममा आउने ग्यारेन्टी पनि छैन । किनभने हामीले सानो परिमाणमा किन्दैछौं’ घिसिङले भने,’कम मूल्यमै आयो भनेपनि बल्ब एक वर्ष पनि टिकेन भने त्यसको जिम्मेवारी कसले लिने ?हामी नागरिककप्रति जिम्मेवार हुनैपर्छ ।’

भारतलेउपलब्ध गराउने बल्बको ग्यारेन्टी ३ वर्षको हुनेछ । यदी बल्बमा समस्या आए नयाँ बल्ब नै दिने ईईएसएलको प्रतिवद्धता छ । अबको दुई महिनाभित्रै ईईएसएलबाट एलइडी बल्ब आउने क्रम सुरु हुनेछ ।

प्राधिकरणलाई अर्को वर्ष थप २ सय मेगावाट बिजुली आवश्यक पर्छ । त्यसलाई ब्यवस्थापन गर्न आगामी बषर्ायाम सकिनुअघि नै प्राधिकरणले एलइडीमार्फत २१० मेगावाट माग घटाउने योजना बनाएको छ ।

अहिले बिद्युत प्राधिकरणको पिक डिमान्ड १२ सय ७२ मेगावाट छ । तर, भारतबाट आयात गरिएकोसमेत जोड्दा जम्मो ८ सय ८२ मेगावाट बिद्युत उपलब्ध छ । आउँदो वर्षको यही समयसम्ममा माग बढेर १४ सय पुग्ने प्राधिकरणको विश्लेषण छ ।

तर, आगामी वर्षको ड्राइ सिजन सुरु हुँदासम्म ठूला आयोजनाको निर्माण सकिने अवस्था छैन । त्यसैले आगामी ड्राइ सिजनमा लोडसेडिङ नहोस् भनेर नै लिड बल्ब खरिद गर्न लागेको विद्युत प्राधिकरण प्रमुख घिसिङको भनाइ छ ।

२ सय मेगाबाट बिजुली बच्ने

योजना अनुसार २ करोड लिड बल्ब खरिद गर्दा २ सय मेगावाट बिजुली बच्ने प्राधिकरणको दाबी छ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार अहिले खरिद गर्न लागिएको २ करोड बल्बहरु ७ र ९ वाटका हुन् । यो खरिद गर्नको लागि २ अर्ब रुपैयाँ लाग्छ ।

यदि एलइडी बल्ब वितरण गर्न सक्ने हो भने २ सय मेगावाट बिजुलीको लोडसँगै राज्यको ४० अर्ब रूपैयाँ बचत हुने प्राधिकरणको तर्क छ ।

२ सय मेगावाटको आयोजना बनाउनको लागि राज्यको झण्डै ४० अर्ब भन्दा बढि रकम खर्च हुने प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment