Comments Add Comment

विप्लवका ‘विद्रोही’ उम्मेदवार पनि प्रहरी निगरानीमाः एसएसपी जोशी

'निर्वाचन अधिकृतले ५ मिनेट मात्र थेग्नुपर्छ, हामी पुगिसक्छौं'

२७ बैशाख, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले स्थानीय तहको चुनावका लागि आवश्यक सुरक्षा तयारी पूरा भइसकेको बताएको छ ।

प्रहरीले स्थानीय चुनावमा प्रमुख चुनौती विप्लव समूहबाट रहेको बताएको छ । परिसरका प्रमुख एसएसपी छविलाल जोशी भन्छन्, ‘उनीहरुले बमहरु राख्न सक्छ । हिट एण्ड रनको सम्भावना पनि छ ।’

तर, त्यसलाई रोक्न आफूहरुले पर्याप्त तयारी गरेको उनले दाबी गरे । जोशीका अनुसार सुरक्षा निकायले विप्लव माओवादीका सबै कार्यकर्ताको पहिचान गरिसकेको छ । र, केही ठाउँमा कुनै समय विप्लव समूहमा रहेकाहरु नै स्वतन्त्र उम्मेदवार बनेको पाइएको छ ।

उनीहरु पनि प्रहरी निगरानीमा रहेको भन्दै एसएसपी जोशीले अनलाइनखबरसँग भने, ‘उहाँहरुले पनि हामीलाई विप्लवबाट थ्रेट छ भन्नु भएको छ । त्यो वास्तवमा हो वा हाम्रो विश्वास गर्न हो हेरिरहेका छौं ।’

काठमाडौं प्रहरीले आफूहरुको प्रयास चुनाव विरोधी कुनै पनि घटना हुन नदिने हुने बताएको छ । ‘यदि भइहाल्यो भने पनि ५ देखि ७ मिनेटमा प्रहरी पुग्छ’ जोशीले भने, ‘निर्वाचन अधिकृतले ५/७ मिनेट मात्र थेग्नुपर्छ । पख्नुस् है पख्नुस् भन्दाभन्दा हामी पुगिसक्छौं ।’

काठमाडौं प्रहरी प्रमुख एसएसपी जोशीसँग चुनावी सुरक्षाबारे गरिएको संक्षिप्त कुराकानीः

काठमाडौंका लागि मुख्य सुरक्षा चुनौती के हो ?

थ्रेटहरु छन्, नभएको होइन । प्राइम थ्रेट भनेको विल्लव नै हुन् । उसले अहिले चुनाव विथाल्ने भनेको छ र केही ठाउँमा गतिविधि देखिएको छ । विप्लव समूहले हिजै मात्र पाटनको वडा कार्यालयमा केही शंकास्पद बस्तु छोडेका थिए । उनीहरुले हक्स बम र रियल बमहरु नै राख्न सक्छन् । हिट एण्ड रनको सम्भावना पनि छ ।

अरु त परम्परागत जुन चुनौती हुन्छन्, त्यही हुन् । होहल्ला गर्ने, झगडा गर्ने हुन्छन् ।

केही मान्छे अरु पनि छन् । शाही सेना, शिवसेना, राष्ट्रवादी नागरिक र पुरानो शक्ति भन्ने केही हिन्दु अतिवादी समूहले चुनाव गर्न नचाहेको अवस्था छ । उनीहरुको त्यति प्रभाव देखिँदैन तर, नजर अन्दाज गर्ने अवस्था छैन ।

०७० संविधानसभा चुनावमा हिट एण्ड रनको घटना पनि देखिएको थियो । सार्वजनिक बसहरुमा नै बम हान्ने र भाग्ने जस्ता घटना भए । यो पटक पनि त्यस्तो सम्भावना औल्याउनु भयो । त्यसलाई कसरी रोक्ने ?

यो पाली अली सजिलो के छ वैद्य माओवादीबाट छुटि्टएको विप्लव समूह मात्र छ । हामीले उसका सबै मान्छे चिनिसकेका छौं । को कहाँ छ, हाम्रो इन्टिलिजेन्स समूहले सबैलाई पहिचान गरिसकेको छ ।

हामीले पत्ता लगाएका छौं कि विप्लव माओवादीकै केही मान्छेहरु स्वतन्त्र उम्मेदवार बनेका छन् । पहुँच हुने भएकाले उनीहरुले पनि केही गर्न सक्छन् । अर्कोतिर उहाँहरुले नै हामीलाई विप्लवबाट थ्रेट छ भन्नु भएको छ । त्यो वास्तवमा हो वा हाम्रो विश्वास गर्न हो हेरिरहेका छौं । त्यसैले उनीहरुलाई पनि हामीले निगरानी गर्छौं ।

‘डन’ भनिएकाहरुलाई पनि पक्राउ गर्न थाल्नु भएको छ । चुनावमा थ्रेट भएरै हो ?

अपराध महाशाखा र हाम्रो टिमले केही मानिसहरुको सूची बनाएको छ । डन त हामी भन्दैनौं तर, जसको गतिविधिलाई समाजले स्वीकार गर्न सक्दैन, १६१ जनाको सूची बनाएका छौं । र, अहिले चुनावलाई प्रभावहीन बनाउन खोज्ने, मानिसहरु परिचालन गर्न सक्नेहरुलाई पक्राउ गरेका छौं । यो आज गरिएको होइन । यो लिस्ट लामो भइसक्यो । ३८ जनालाई पक्राउ गरिएको छ ।

प्रहरीले पक्राउ गर्ने र चोख्याएर छाड्ने काम मात्र गर्‍यो भन्ने आरोप पनि लाग्छ नि ?

यहाँ ल्याएर प्रहरीमा त भर्ना गर्ने होइन ? केही दिएर पठाउने पनि होइन । पटक-पटक निगरानी गर्दा आचरण सुधार आभास त्यहाँका जनतालाई भयो भने हामी छाड्ने मात्र होइन, लिस्टबाट नाम हटाउँछौं ।

साजन महर्जन लगायतका केही व्यक्तिलाई पक्राउ गरेका थियौं तर, अदालतबाट छुटे । गुण्डागर्दीसम्वन्धी ठूलो ऐन र कानुन पनि छैन । तर, यहाँ ल्याएर रेकर्ड अपडेट गर्ने, तस्वीर, फिंगर पि्रन्ट लिने र कारबाही गर्न पठाउने हो ।

पक्राउ गरेर ल्याइएकालाई कारबाही के हुन्छ ?

चुनावमा उहाँहरुबाट थप केही अफ्ठ्यारो नहोस् भन्ने हेतुले पनि ल्याइएको हो । हामीले अहिले सार्वजनिक अपराधमा कारबाही गर्छौं ।

डन भनिएकाहरु विभिन्न पार्टीमा आवद्ध भएका छन् । दबाव कत्तिको आउँछ ?

हामी ‘डन’ भन्दैनौं, उनीहरुको क्रियाकलाप समाजलाई स्वीकार्य नहुने भयो भन्छौं । ‘डन’ किन भनियो ? कसरी भनियो ? त्यतातिर नजाऔं । कुनै राजनीतिक दलमा आवद्ध हुनुहुन्न भनौं भने छ । तर, त्यो हाम्रो चासो रहेन । हाम्रो चासो उसको गतिविधिमा हो ।

सुरक्षा चासोलाई लिएर काठमाडौंका मतदातालाई के भन्नुहुन्छ ?

हामीले विगत २/३ महिनादेखि चुनावी सुरक्षालाई केन्द्रित भएर प्रहरी परिचालन गरेका छौं । प्रहरी पर्याप्त मात्र परिचालन गरेका छौं र चुनाव सौहार्द र भयमुक्त रुपमा सम्पन्न हुन्छ भन्ने विश्वास दिलाउन चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment