Comments Add Comment

ओली सरकार रहेको भए मोनोरेलको काम अघि बढिसक्थ्योः विद्यासुन्दर

'जितें भने काठमाडौंबासीलाई मेरै कार्यकालमा मोनोरेल चढाउँछु'

२७ बैशाख, काठमाडौं । नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले आफू विजयी भए आफ्नै कार्यकालमा काठमाडौंबासीलाई मोनोरेल चढाउने बताएका छन् ।

काठमाडौंमा केपी ओली नेतृत्वको सरकार रहिरहेको भए मोनोरेलको काम धेरै अगाडि बढिसक्ने शाक्यले अनलाइनखबरलाई बताए ।

बुधबार अनलाइनखबरसँगको फेसबुक लाइभ अन्तरवार्तामा एमाले नेता शाक्यले भने- ‘सबै डकुमेन्टहरु तयार भइसकेका छन् । शायद केपी ओलीको सरकार रहेको भए धेरै काम अगाडि बढिसकेको हुन्थ्यो । हाम्रो कार्यकालभित्र मोनोरेलको काम सकिन्छ । सम्पन्न नै हुन्छ । चढ्न नै हुन्छ ।’

एमालेले महानगरपालिकामा जितेको अवस्थामा पाँच वर्षमा धेरै काम गर्न सकिने शाक्यले बताए । ‘पाँच वर्षमा स्थिर सरकार भयो भने धेरै काम गर्न सकिन्छ,’ उनले भने- ‘०४६ सालपछि कांग्रेसले मात्रै बहुमत प्राप्त गर्‍यो । अरु कुनै पार्टीले सकेनन् । एमालेले अल्पमतको नेतृत्वमा सरकार बनाउन पायो, राष्ट्रले चिन्ने गरिकन सरकार चलायो ।’

काठमाडौं महानगरमा ०४९ र ०५४ लाई तुलना गरेर  हेर्न आग्रह गर्दै शाक्यले भने- ‘०४९ मा कांग्रेसले र ०५४ मा हामीले जित्यौं । महसुस हुने गरी, देख्ने गरी परिवर्तनहरु भएका छन् । तर, सोचेजति हुन सकेन, विडम्बना ! त्योबेला हाम्रो पार्टी फुट्यो ।’

अहिले एमाले एक ढिक्का भएको शाक्यले बताए । काठमाडौंमा जीवनराम श्रेष्ठ, केशव स्थापित र अष्टलक्ष्मी शाक्यहरु आफ्नो चुनावी प्रचारमा खटिएकाले एमालेमा कुनै विवाद नरहेको उनले स्पष्ट पारे ।

मोनोरेल आफ्नै कार्यकालमा चलाउने अठोट

एमाले काठमाडौं जिल्ला कमिटीका सचिव समेत रहेका शाक्यले भने- ‘हामीलाई सपनाहरु बाँड्यो भन्ने आरोप पनि लाग्ने गरेको छ, तर, मोनोरेल वर्षभित्रै ल्याउन सकिन्छ । यसका लागि नेपाल सरकार र महानगरपालिकाले अध्ययन सुरु गरिसकेको छ ।’

एमाले नेता शाक्यले काठमाडौं महानगरपालिकालाई जीवन्त र सुरक्षित शहर बनाउने बताए । महानगरपालिका २४ सै घण्टा सुन्ने र जागा राख्ने बनाउने उनले बताए ।

उनले भने- काठमाडौंलाई पर्यटकीय शहर र जीवन्त शहरका रुपमा विकसित गर्नुपर्छ, पुरातात्विक सम्पदालाई पुनर्निर्माण गर्नुपर्छ  ।

एमाले नेता शाक्यले भने- ‘विदेशमा गएर हामी १८ घण्टा काम गर्न सक्छौं, यहाँ पनि राति काम गर्छाैं भन्ने युवाहरुलाई कामको अवसर दिने दायित्व राज्यको हो । हामी उनीहरुलाई सुरक्षाको वातावरण प्रदान गर्छौं ।’

तर, महानगरपालिकाले सबै कुरा आफैं गर्न सक्दैन भन्दै शाक्यले यसमा राज्यको पनि सहयोग चाहिने बताए । यसका लागि केन्द्रमा पनि एमालेले जित्नुपर्ने बताए ।

बैशाख ३१ गते छिटो आओस् भनेर एमाले समर्थकहरुमा अधैर्यता देखिएको भन्दै शाक्यले काठमाडौंमा आफ्नो जीत पक्कापक्की रहेको दाबी गरे ।

‘राप्रपासँग तालमेल नभए पनि जित्थ्यौं’

काठमाडौंमा राप्रपासँग तालमेल नगरेको भए पनि एमालेले एक्लै जित्ने उनले दाबी गरे । ‘हामीले काठमाडौंमा एक्लै जित्न सक्थ्यौं, तर केन्द्रबाटै राप्रपासँग तालमेल भयो, यसले झनै एमालेको जितलाई सुनिश्चित बनाएको छ ।’

आफूहरु राप्रपासँगको तालमेलप्रति इमान्दार रहेको बताउँदै शाक्यले भने- हामीले पनि जित्छौं, राप्रपाका उपमेयरलाई पनि जिताउँछौं ।’

राप्रपासँगको तालमेललाई राष्ट्रवादीहरुको एकताको संज्ञा दिँदै उनले कांग्रेस माओवादीको सरकारमा समेत राप्रपाले सहकार्य गरेको उदाहरण दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment