Comments Add Comment

अन्तिम दिनको प्रचारमा शीर्ष नेताः को कहाँ ?

२८ वैशाख, काठमाडौं । बिहीबार राति १२ बजेबाट चुनाव प्रचार बन्द (मौन अवधि) सुरु हुँदैछ । प्रचारका लागि बिहीबार मात्रै भएकाले शीर्ष नेता अन्तिम प्रचारमा जुटेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार मध्याह्न ११ बजे चितवनको भरतपुर महानगरपालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् । कांग्रेस र माओवादी केन्द्रको तालमेल रहेको उक्त सभामा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड पनि सहभागी हुनेछन् । बिहीबारै देउवाले लमजुङको सुन्दरबजार नगरपालिका तथा काठमाडौंको असन र बूढानीलकण्ठमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार भरतपुरमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पोडेलले लमजुङको मध्यनेपाल तथा तनहुँको शुक्लागण्डकी र भिमाद नगरपालिकाको सभालाई सम्बोधन गर्दैछन् । एमाले नेता माधव नेपालले उपत्यकाको कागेश्वरी, महालक्ष्मी र कीर्तिपुर नगरपालिकाका सभालाई सम्बोधन गर्नेछन् । एमाले अर्का नेता झलनाथ खनालले काठमाडौं, वामदेव गौतमले पोखरामा सम्बोधन गर्दैछन् ।

माओवादी नेता नारायणकाजी श्रेष्ठ गोरखा जिल्लामा खटिएका छन् ।

नयाँ शक्ति पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पाँच दिन गृह जिल्ला गोरखाको चुनावी कार्यक्रममा सहभागी भएर काठमाडौं फर्केको नयाँ पत्रिकाले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment