Comments Add Comment

७ बर्षपछि जोडिए रेखा र आर्यन, आफ्नै स्वार्थ कि आवश्यकता ?

'रुद्रप्रिया'मा देखिनेछ रेखा र आर्यनको जोडी


चलचित्र ‘कसले चोर्‍यो मेरो मन’मा एकसाथ काम गरेपछि नायिका रेखा थापा र नायक आर्यन सिग्देल अलग भए । यो चलचित्रमा काम गर्दासम्म रेखा र आर्यनलाई दर्शकले निकै रुचाए । ‘किस्मत, हिफाजत, कसले चोर्‍यो मेरो मन’मा काम गर्दा सम्म रेखा र आर्यन दर्शकको रोजाइका जोडी बनिसकेका थिए ।

तर, चलचित्र सफलतासँगै दुबैमा स्टारडमको घमण्ड बढ्न थाल्यो । आर्यन रेखाविना पनि म सुपरस्टार हुँ भन्ने घमण्डले उचालिए त रेखा, आर्यनलाई मैले ल्याएको हुँ भन्ने घमण्डका कारण अर्कोतिर फर्किइन् ।

यही, सोचले आर्यन र रेखालाई दुई ध्रुवमा फर्काइदियो । जब, यी दुई अलग भए, त्यसपछि लाग्थ्यो कि आर्यन र रेखाविच अब कहिल्यै पनि बोलचाल हुँदैन । नेपाली चलचित्र क्षेत्रको एक चर्चित जोडी स्टारडमकै घमण्डले टुक्रियो । तर, करिब ७ बर्षपछि उनीहरु एकसाथ चलचित्र ‘रुद्रप्रिया’मा काम गर्न राजी भएका छन् ।

किन तोडियो आर्यन र रेखाको घमण्ड ?
१२ बर्षमा खोलो पनि फर्किन्छ भन्छन् । तर, रेखा र आर्यनलाई पानी बाराबारको स्थिती तोडेर अंकमाल मात्र गर्न होइन, एकसाथ चलचित्र नै खेल्न १२ बर्ष पर्खनु परेन । यी दुइले बोलचाल बन्द गरेको ७ बर्षपछि मुस्कुराउँदै अंकमाल गरे र एकसाथ चलचित्रको पर्दामा फर्किएको घोषणा गरे ।

बिहिबार बिहान जब केही मिडियामा आर्यन र रेखाले कसिलो अंकमाल गर्दै मुस्कुराएको तस्बिर सार्वजनिक भए, उनीहरु निकट साथीभाई अचम्मित भए । कारण, रेखा र आर्यनले झगडा भएपछि कहिल्यै चलचित्र नगर्ने बताएका थिए । तर, पछिल्ला केहि समय रेखाले आर्यनसँग चलचित्र खेल्न सक्ने बताउँदै आएकी थिइन् । तर, आर्यनले भने रेखासँग कहिल्यै पनि चलचित्र नखेल्ने भन्दै साथीभाइसँग कुरा गर्दै आएका थिए । तर, एकाएक बिहिबार उनै रेखाको अंगालोमा मुस्कुराइरहेका आर्यनको तस्बिर हेर्दा जोकोही पनि छक्क पर्नु स्वभाविक नै हो ।

रेखा र आर्यनलाई एकसाथ फर्किनका लागि विभिन्न फ्याक्टरले काम गरेको छ । हिजो जुन स्टारडमको घमण्डले आर्यन र रेखा अलग भएका थिए, त्यो आज दुबैसँग हिजोको जस्तो छैन । दुबैको स्टारडमको पावरमा अहिले रातो बत्ती बल्न थालेको छ । जसकाकारणले पनि रेखा र आर्यनलाई फेरि एकपटक चल्नका लागि एक अर्काको साथ आवश्यक थियो ।

चलचित्रमा सधै एक्लैले दर्शक हलसम्म तान्न सक्ने रेखाको अहिले त्यो पावर विस्तारै सकिएको छ । आर्यन त विगत २ बर्षदेखि चलेका छैनन् भन्दा पनि हुन्छ । यी दुइ एक अर्कासँग फेरि नजिक हुनुमा यही कुराले मुख्यतया काम गरेको छ ।

रेखाको जस्तो शत्रु अरुका भएनन्
नेपाली चलचित्रको ५ दशकको कालखण्डमा कलाकारविच शितयुद्ध चलेका छन् । तर, नायिका रेखा थापाको यूगमा जुन खालको शितयुद्ध चल्यो, त्यसपछि आउने अरु कलाकारमा यस्तो देखिएको छैन ।

नायक राजेश हमालदेखि विराज भट्ट, निखिल उप्रेती, आर्यन सिग्देलसम्म, सबैसँग रेखाको झगडा नै पर्‍यो । रेखापछि आएका नायिकाहरुमा यस्तो खालको बोलचाल नै बन्द हुनेगरि युद्ध चलेको छैन । राजनीतिमा होमिएपछि संभवत रेखाले यस्तो खालको सम्बन्धले अगाडि बढ्न गाह्रो पर्छ भनेर वुझेको हुनुपर्छ । आर्यनसँगको पर्दा शेयरिङ यही कारणले हुन पुगेको हो ।

मिलनपछि के भने रेखा र आर्यनले ?
बुधबार  अंकमाल गर्दै गर्दा रेखा र आर्यन कतै खुशी त कतै अकमक्क परिरहेका थिए । कारण, ७ बर्षपछि एकसाथ चलचित्र खेल्दै गर्दा आर्यन र रेखाले आम मिडियामा र दर्शकले अब के भन्छन् भन्ने सोच पनि राखिरहेका थिए ।

रेखाले आर्यनसँग हात मिलाउँदै यसलाई सुखद मिलनको रुपमा हेरिन् । आर्यनले भने-‘ रेखासँग मेरो व्यक्तिगत दुश्मनी कहिल्यै पनि थिएन । अहिले कथाले बोलायो । तपाइहरुले सोचे जस्तो झगडा नै परेको भएपनि मेरो क्यारेक्टरसँग त झगडा परेको छैन नि ।’ रेखाले भने आर्यन र आफू पर्दामा नआउँदा चलचित्र क्षेत्रलाई नै घाटा लागेको बताइन् ।

सुदर्शन र अर्पण कता ?
सुदिप बबी भूपाल सिंहले लेखन तथा निर्देशन गर्ने भनिएको यो चलचित्रमा सुरुवातमा निर्देशक सुदर्शन थापा र अर्पण थापाले काम गर्ने पक्का थियो । तर, आर्यनको प्रवेशसँगै चलचित्रमा सुदर्शन र अर्पण दुबै हुने छैनन् । सुदर्शनले निर्देशन गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ असार ३० गतेबाट रिलिज हुँदैछ ।

यो चलचित्रको रिलिज र पोष्ट प्रोडक्शनका कारण आफूले समय दिन नसक्ने भन्दै रेखासँग कुरा गरेर चलचित्र छाडेको सुदर्शनले बताए । यता, अर्पणले पनि आफू निर्देशित चलचित्र ‘आधा लभ’मा समय दिनुपर्ने भएकाले काम गर्न नसक्ने जानकारी दिदै रेखाको चलचित्र छाडेका थिए । यी दुइले आ-आफ्नो व्यस्तता देखाउँदै चलचित्रबाट पछि हटेपछि रेखा र आर्यनलाई एकसाथ जोडिन सजिलो भएको हो ।

कात्तिक २ गतेबाट रिलिज हुने चलचित्रको छायांकन जेठको ४ गतेबाट हुनेछ । चलचित्रलाई एमके पौडेल र सरस्वती थापा मिलेर बनाउने छन् ।

७ बर्षमा के-के परिवर्तन भयो ?
७ बर्ष अगाडि रेखा र आर्यनको जुन खालको जोडी जमेको थियो, यो विचमा चलचित्र क्षेत्र धेरै फरक भैसकेको छ । अनमोल केसीदेखि साम्राज्ञीराज्य लक्ष्मी शाहसम्मका नयाँ पुस्ताले चलचित्र क्षेत्रमा आफ्नो कसिलो जरा गाडिरहेका छन् ।

चलचित्रको कथा भन्ने शैली र दर्शकको चाहना फरक भएको छ । यो कुरालाई पनि रेखा र आर्यनले वुझ्न आवश्यक छ । नयाँ पुस्ताले जरो गाडिसकेको अवस्थामा त्यसलाई चिरेर फेरि पुरानै क्रेज फर्काउन आर्यन र रेखालाई त्यती सजिलो भने छैन ।

दुई मिल्दा के होला फाइदा ?
आर्यन र रेखा ७ बर्षपछि मिल्दा सबैभन्दा ठूलो फाइदा यी दुइलाई नै हुनेछ । कारण, खस्कदै गएको स्टारडम दुइको मिलनले फेरि माथि ल्याउन सक्छ । पर्दामा ‘कसले चोर्‍यो मेरो मन’ भन्दै दर्शकको मन जितेका आर्यन र रेखालाई दर्शकले फेरि एकपटक पर्दामा रुचाउन सक्छन् । जसले चलचित्र क्षेत्रलाई पनि फाइदा पुग्छ ।

आ-आफ्नै स्वार्थ बोकेर होस् या समयको मागले नै किन नहोस् या चलचित्र क्षेत्रको हितका लागि सोचेर नै किन नहोस्, रेखा र आर्यनले फेरि एकसाथ सहकार्य गर्ने पक्का गरेका छन् । रेखा र आर्यनको सम्बन्धमा अब कालो बादल नलागुन्, हाम्रो शुभकामना ।

तस्बिरः उद्धव रसाइली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment