Comments Add Comment

चुनावमा लोग्नेस्वास्नीको झगडाः श्रीमानले कुटे महिला उम्मेदवार

जेठाजु -बुहारी बेग्लाबेग्लै पार्टीबाट उम्मेदवार बन्दा घरझगडा

२८ बैशाख, पोखरा । आजभन्दा १२ वर्षअघि अन्तरजातीय विवाह गरेकी कास्कीको रुपा गाउँपालिकाकी पद्मा क्षेत्री गुरुङले चुनावमा उम्मेदवार बनेकै कारण आफ्नै श्रीमानबाट मरणासन्न हुनेगरी कुटिन्छु भनेर सायदै सोचेकी थिइन् । तर, स्थानीय निर्वाचनमा भाग लिएकै कारण उनी अस्पताल भर्ना हुने अवस्थामा पुगिन् ।

स्थानीय चुनावले महिलाहरुलाई अधिकार र अवसर दुबै दिएको छ । तथापि चुनावमा मनहरु विभाजित हुन्छन् । एउटै परिवारका सदस्यहरु समेत भिन्नाभिन्नै दलमा लाग्न सक्छन् । र, भिन्नाभिन्नै दलबाट उम्मेदवारसमेत बन्न सक्छन् । तर, लोकतान्त्रिक संस्कारको विकास हुन नसकेको समाजमा यसले पदमाको परिवारमा जस्तै घरपरिवारभित्र झगडा निम्त्याउँछ ।

कास्कीको रुपा गाउँपालिका वडा नम्बर ५ की महिला वडा सदस्य उम्मेदवार पदमा क्षेत्री गुरुङका लागि यो स्थानीय श्रीमानबाटै चुनाव कुटाइ खाने दुर्भाग्यपूर्ण दिका रुपमा परिणत भयो ।

स्थानीय चुनावले लोकतन्त्र र अधिकारको अभ्यास हुनुपर्ने ठाउँमा पदमाको घरभित्रै झगडा र कुटपिट निम्त्यायो ।

रुपा गाउँपालिका वडा नम्बर ५ की महिला उम्मेद्वार पदमा आफ्नै श्रीमानबाट कुटिएकी हुन् । सोही वडाको वडाध्यक्षमा टेकबहादुर गुरुङले उम्मदेवारी दिएका थिए, जो पदमाका जेठाजु हुन् ।

वडाध्यक्षमा उठेका जेठाजु टेकबहादुरको भन्दा फरक पार्टीबाट भाइबुहारी पद्मा क्षेत्री गुरुङले सोही वडामा महिला वडा सदस्यका लागि उम्मेदवारी दिइन् । बुहारीले भिन्नै दलबाट चुनाव लडेपछि जेठाजु रीसले आगो भए ।

जेठाजुले बुहारीलाई उम्मेदवारी फिर्ता लिन भाइ यामबहादुर गुरुङमार्फत दबाव दिए । तर, पदमाले उम्मेदवारी फिर्ता लिन मानिनन् । जेठाजुको आग्रह अनुसार उम्मेद्वारी फिर्ता नगरेको आरोपमा उनी श्रीमानबाटै निर्घात कुटिइन् ।

श्रीमानबाट कुटिएकी पद्माको टाउकोमा गम्भीर चोट लागेको छ । दाहिने हातमा भित्री चोट लागेको छ । उनको उपचार पोखराको फेवासिटी हस्पिटलमा भइरहेको छ । उनको टाउकोमा चारवटा टाँका लगाइएको छ ।

उम्मदेवारी फिर्ता नलिए मार्दिन्छु भन्दै श्रीमानले घाँटी थिच्दा घाँटीमा दाग लागेको उनले देखाइन् ।

बेग्लाबेग्लै पार्टीमा लाग्दा घर झगडा

फरक पार्टी र फरक विचार भएपछि गुरुङ दम्पतीबीच बेलाबेला सामान्य भनाभन पहिले पनि हुने गथ्र्यो । क्षेत्रीकी छोरीलाई गुरुङ परिवारले कहिलेकाँहि घरको चुलो छुन नदिने, कुलपूजामा सामेल हुन नदिने लगायतका व्यवहार पहिलेदेखि नै हुने गरेको उनले गुनासो गरिन् ।

जब स्थानीय तहको निर्वाचन हुने भयो । एउटा कम्युनिष्ट पार्टीले रुपा गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा पदमाका जेठाजु टेकबहादुर गुरुङलाई उठायो । अर्को कम्युनिष्ट पार्टीले बुहारी पद्मालाई सोही वडाको महिला वडा सदस्यमा उम्मेद्वार बनायो ।

उम्मेद्वार नै भएपछि पद्मा चुनाव प्रचारमा लाग्न थालिन् । घरकै सदस्य विपक्षमा लागेर अर्को दलको प्रचारमा जुटेको भन्दै टेकबहादुरले पद्माका श्रीमान अर्थात आफ्नो भाइ यामबहादुरलाई आफ्नी श्रीमतीलाई सम्झाउन चेतावनी दिए ।

पदमाका श्रीमान यामबहादुर पोखरा लेकसाईडको कुटी रिसोर्टमा सुरक्षा गार्डको काम गर्छन् । दाजुले बोलाएपछि घर पुगेका यामबहादुरले घरमा पुगे लगत्तै पद्मालाई हातखुट्टा भाँचेर भए पनि दाजुलाई चुनाव जिताउँछु भने ।

बाहिर भाँडा माझिरहेकी पद्माले यो कुरा सुनेपछि त्यसो नभन्न र आफूलाई स्वतन्त्र रुपमा चुनाव लड्न दिन आग्रह गरिन् ।

त्यसपछि यामबहादुरले बुबाका घरमा पूजा छ भन्दै पद्मालाई त्यहाँबाट लिएर हिँडे । बाटामा भेटिएका मानिसहरुसँग पदमाले आफूलाई भोट दिन आग्रह गरिन् । त्यहीबेला यामबहादुरले आफ्नी श्रीमतीलाई देखाउँदै यसको पार्टीको अनुहार पनि हेर्न मन लाग्दैन भन्दै गाली गरे ।
जवाफमा पद्माले तपाईं दाजु टेकबहादुरलाई जिताउन लाग्नुस्, म आफ्नो तरिकाले चुनाव लड्छु भन्दा तलाई मार्दिन्छु भन्दै पिट्न खोजेपछि मानिसहरुले छुट्याए ।

लगत्तै उनले पदमालाई घरमा लिएर आए । घर पुगेर कोठामा पस्ने वित्तिकै उनले घाँटी थिचेर मार्ने कोशिस गरेको र आफू उम्किएर बाँच्न सफल भएको पद्माले बताइन् ।

पिटाइ खाएपछि दिउँसो नजिकैको झाडीमा लुकेकी उनी राती घर जाँदा पछाडिबाट बाँसको चिर्पटले टाउकोमा ३ पटक र ढाड तथा हातमा प्रहार गर्दा आफू घाइते भएको उनको भनाइ छ ।

कुट्नका लागि सासू र देउरानीले समेत सहयोग गरेको पद्माको  आरोप छ ।

हात भाँचिनुका साथै रगताम्मे हुने गरी कुटिए पनि उनलाई कसैले उद्धार गरेन । उनी बुधबार राति पुरानो घरमा रात काटेर विहीबार बिहान अस्पताल आएकी हुन् ।

उनले पिटाइ खाए पनि कुनै पनि हालतमा उम्मेद्वारी फिर्ता नलिने अडान दोहोर्‍याएकी छिन् । उनले हारको मानसिकताबाट ग्रसित भएर जेठाजुले आफूलाई कुटाएको गुनासो गरिन् । उनले उपचारपछि कारवाहीका लागि प्रशासनमा उजुरी दिने बताइन् । उनले आफ्नो जित सुनिश्चित रहेको पनि दाबी गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment