Comments Add Comment

भक्तपुरबासी भन्छन्- कसरी भोट हाल्ने थाहा छैन (भिडियो रिपोर्ट)

३० बैशाख, भक्तपुर । स्थानीय तह निर्वाचनको एक दिन अघिसम्म पनि भक्तपुरका मतदाताहरु कसरी भोट हाल्ने भनेर अन्यौलमा छन् । मतदाता शिक्षा प्रभावकारी नहुँदा बढी मत बदर हुने अनुमान गरिएको छ ।

निर्वाचन आयोगले देशैभर मतदाता शिक्षा कार्यक्रम लागू गरे पनि काठमाडौं उपत्यकाकै भक्तपुरका मतदाताले भोट हाल्ने तरिकाबारे अनविज्ञता प्रकट गरे ।

भक्तपुर नगरपालिकाका बलराम शाहीले भने, ‘अहिलेसम्म मलाई सिकाउन कोही आएको छैन । बेलुकासम्म कोही आयो भने सिकिन्छ होला ।’

यसैगरी जुनेश राजोपाध्यायले आफ्नो घर र टोलमा कुनै पार्टी वा व्यक्ति आएर भोट हाल्न नसिकाएको बताए । उनले भने, ‘भक्तपुर जस्तो ठाउँमा बुढा-बुढीहरुलाई नेपाली पनि राम्रोसँग बोल्न आउँदैन भने पढ्न पनि खासै आउलाजस्तो लाग्दैन । अक्षर पढ्न नजान्नेसँग मतपत्रको बारेमा जानकारी नै छैन ।’

राजधानीको छिमेकी जिल्लाकै मतदाताहरु भोट हाल्ने तरिकाबारे राम्रोसँग जानकार नहुँदा यसपटक बढी मत बदर हुने अनुमान गर्न सकिन्छ ।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश राईले पनि योपटक बिगतको तुलनामा बढी मत बदर हुने अनुमान गरे । ‘बिगतका निर्वाचनमा भक्तपुरमा दुई प्रतिशत मत बदर भएता पनि योपटक भने त्योभन्दा बढी हुने अनुमान गरेका छौं,’ राईले भने ।

बिगतकोभन्दा स्थानीय चुनावको मतपत्र ठूलो भएकाले चुनाव चिह्न खोज्न धेरै समय लाग्ने र मतपत्र पट्याँउदा मसी लतपतिने सम्भावना बढी हुनसक्ने राईले अनुमान गरे ।

भक्तपुरमा भक्तपुरसहित सूर्यविनायक, मध्यपुर थिमी र चाँगुनारायण नगरपालिका छन् । भक्तपुर जिल्लामा २ लाख ९८ हजार ६८४ मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment