Comments Add Comment

सुर्खेतमा चुनाव शान्तिपूर्ण, जेष्ठ नागरिक भन्छन्- चुनावपछि शान्ति र विकास होस्


३१ बैशाख, सुर्खेत । वीरेन्द्रनगर-१२ की ८७ वर्षीया जमुना तिवारी स्थानीय चुनावमा भोट हाल्न उत्साहित थिइन् । हरेक राजनीतिक आन्दोलन बुझेको र सबैजसो निर्वाचनमा मत खसालेको बताउने उनको अनुहारमा आज बिहानदेखि पनि चमक नै थियो ।

अमरज्योती नमूना उच्चमावि चनौटे केन्द्रबाट मतदान गरेपछि उनले देशमा शान्ति र विकास होस् भन्ने कामना गरिन् ।

बुहारीको सहारामा मतदान केन्द्रसम्म आएर भोट खसालेकी उनले भनिन्, ‘पटक-पटकका निर्वाचनमा मतदान गरे देशमा कहिल्यै शान्ति छाएन्, अब कम्तिमा विकासको मुहारसँगै नातीका पालामा देश समृद्धिमा लम्किहोस् ।’

तिवारीले भनिन्, ‘धेरै पटक मत खसालियो, गाउँ र ठाउँको विकास कहिल्यै भएन । अब आउने जनप्रतिनिधिबाट समृद्ध गाउँ र नगर बनोस् भन्ने इच्छा छ बाबु ।’

तिवारीले देशमा अशान्ति र काटमारको अवस्था सदाको लागि अन्त्य होस् भन्ने कामना गर्दै मतपेटीमा मत खसालेको बताइन् ।

वीरेन्द्रनगरकै ८४ वर्षीय बालाराम पन्तले वीरेन्द्रनगरकै जनमावि मतदान केन्द्रबाट पहिलो मत खसाले । ०४९ र ०५४ सालमा भएका स्थानीय निकाय र अन्य निर्वाचनहरुमा पनि मत खसालेका पन्तको अन्तिम चाहाना छोरा, नाती र पनातीको पालामा देशमा विकास र शान्तिमय होस् भन्ने नै छ । ‘अधिकारका नाममा धेरै आन्दोलन भए,’ पन्त भन्छन्, ‘अब देशलाई आर्थिक समृद्ध बनाउनेतर्फ सक्षम नेतृत्व आओस् ।’

सुर्खेतका जेष्ठ नागरिक मात्रै हैन युवा पंक्ति पनि आफ्नो गाउँ र टोलको विकासका लागि कटिवद्ध नेतृत्व ल्याउनकै लागि मतदान गरेको बताउँछन् । ‘अब आउने नेतृत्वले कम्तिमा साच्चै नमूना गाउँ बनाउने साहस गरोस्,’ युवक दलबहादुर रानाले भने ।

नेपाली कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले गुर्भाकोट नगरपालिकाको सूर्यज्योती मावि मेहलकुना केन्द्रबाट मतदान गरेका छन् । खड्का सुर्खेत क्षेत्र नम्बर एकका सांसदसमेत हुन् ।

पूर्णबहादुर खड्का

यस्तै, सहकारी तथा गरिवी निवारण मन्त्री हृदयराम थानीले वीरेन्द्रनगर-१ सरस्वती प्रावि र नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्व पर्यटनमन्त्री यामलाल कँडेलले भैरव मावि वीरेन्द्रनगर-४ बाट मतदान गरेका छन् ।

९ स्थानीय तह रहेको सुर्खेतमा १३८ मतदान स्थलका २४० मतदान केन्द्रमा आइतबार बिहान ७ बजेबाट एकैसाथ मतदान शुरु भएको छ । हालसम्म अवस्था शान्तिपूर्ण रहेको र कुनै अपि्रय घटना नभएको जिल्ला निर्वाचन अधिकारी सुनिता थापाले जानकारी दिइन् ।

एक लाख ८४ हजार तीन सय ९९ मतदाता रहेको सुर्खेतमा १७ दलका दुई हजार १० उम्मेदवार चुनावी मैदानमा छन् । मतदान स्थलको सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाले खटिएका छन् । अप्रिय घटना हुन नदिन सुर्खेतमा सुरक्षा व्यवस्था कडा परिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन आचार्यले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment