Comments Add Comment

तीन वटा महानगरको उपमेयरमा कांग्रेसको अग्रता

महानगरमा ‘मिलीजुली सरकार’ बन्ने संकेत

२ जेठ, काठमाडौं । देशभरका चारै वटा महानगरपालिकामा अहिलेसम्म नेकपा एमाले अग्रस्थानमा छ । तर, उपमेयरमा भने नेपाली कांग्रेसले एमालेलाई उछिनिरहेको छ । ४ मध्ये तीन वटा महानगरमा कांग्रेसका उपमेयर उम्मेदवार अगाडि छन् ।

चारैवटा महानगरमा एमालेका उम्मेदवारहरु अगाडि रहे पनि धेरैवटा उपमेयरहरु कांग्रेसको पोल्टामा पर्ने प्रारम्भिक संकेत देखिएको छ । त्यस्तै विभिन्न वडाहरुमा पनि कांग्रेस र एमालेको छासमिस नतिजा आउने देखिएको छ ।

अन्तिम परिणाम यही रुपमा आयो भने देशका ठूला महानगरपालिकाहरुमा एमाले र कांग्रेसको एकलौटी नभएर मिलिजुली जित हुनेछ । त्यो अवस्थामा मतदाताले कांग्रेस र एमालेलाई मिलेर महानगरपालिका चलाउन जनादेश दिएको मान्नुपर्ने हुन्छ ।

काठमाडौंमा हरिप्रभा अगाडि

काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसकी उपमेयर उम्मेदवार हरिप्रभा खड्गीले सुरुदेखि नै अग्रता हासिल गरिरहेकी छिन् । एमालेसँग तालमेल गरेका उपमेयरका राप्रपा उम्मेदवार राजाराम श्रेष्ठले अहिलेसम्म हरिप्रभालाई उछिन्न सकेका छैनन् ।

मंगलबार दिउँसोको नतिजा हेर्दा उपमेयरका कांग्रेस उम्मदेवार हरिप्रभाले १ सय ८४ मत ल्याएकी छिन् भने राप्रपा–एमाले गठबन्धनका उपमेयर उम्मेदवार राजाराम श्रेष्ठले १ सय ४२ मत ल्याएका छन् । साझा पार्टीको तर्फबाट उपमेयर उम्मेदवार निरुपमा यादवले ९१ मत ल्याएकी छिन् ।

काठमाडौंको उपमेयरमा माओवादी उम्मेदवार सुशीला पौडेलको १४ मत खसेको छ भने फोरम/नयाँशक्तिकी उपमेयर उम्मेदवार सविना अर्यालको पक्षमा मंगलबार दिउँसोसम्म ८ मत परेको छ ।

काठमाडौंको मेयरमा एमालेका विद्यासुन्दर शाक्यले सुरुदेखि नै अग्रता कायम गरे पनि एमाले–राप्रपा गठबन्धनका उपमेयर उम्मेदवारले अग्रता पाउन सकेका छैनन् । यो प्रारम्भिक परिणामले गठबन्धन दलभित्रको क्रस भोटिङलाई संकेत गरेको छ ।

भरतपुरमा कांग्रेसकै अग्रता

काठमाडौंमा जस्तै भरतपुर महानगरपालिाको उपमेयरमा पनि नेपाली कांग्रेसले एमालेलाई उछिनिरहेको छ ।

भरतपुरको मेयरमा एमालेका देवी ज्ञवाली अग्रस्थानमा छन् भने माओवादी कांग्रेस गठबन्धनकी रेणु दाहाल दोस्रो स्थानमा छिन् ।

तर, उपमेयरमा एमाले उम्मेदवार दिव्या आचार्यभन्दा कांग्रेस उम्मेदवार पार्वती शाह अगाडि छिन् ।

मंगलबार दिउँसोसम्म भएको गणनाअनुसार भरतपुरको उपमेयरमा कांग्रेसकी पार्वतीको ८ सय २५ मत आउँदा एमालेकी दिव्याले ६ सय २७ मत पाएकी छिन् ।

ललितपुरमा पनि कांग्रेस नै अगाडि

ललितपुर उपमहानगरपालिकाको मेयरमा एमालेले अग्रता लिइरहेको छ । तर, उपमेयरमा भने एमालेलाई कांग्रेसले पछि पारिरहेको छ ।

ललितपुरको उपमेयरमा कांग्रेसकी गीता सत्यालले १ हजार ८ सय ३० मत पाउँदा राप्रपा एमाले गठबन्धनका उपमेयर उम्मेदवार बाबुकाजी थापाले १ हजार ६ सय १९ मात्रै पाएका छन् ।

ललितपुरमा पनि राप्रपा र एमालेबीच चुनावी तालमेल भएको थियो । तर, काठमाडौंमा जस्तै ललितपुरका राप्रपाका उम्मदेवारलाई पनि उत्साहजनक मत खस्न सकेको छैन ।

पोखरामा भने एमालेकै अग्रता

पोखरा महानगरपालिकामा भने मेयर र उपमेयर दुबैमा एमालेको अग्रता छ । यहाँको मेयर र उपमेयर दुबैमा नेपाली कांग्रेस दोस्रो स्थानमा छ ।

पोखरामहानगरमा एमालेबाट उपमेयरकी दाबेदार मञ्जु गुरुङले कांग्रेसकी सरस्वती गुरुङलाई पछाडि पारिरहेकी छिन् । पोखराको मत परिणाम यसैगरी अघि बढेमा महानगरपालिकामा मेयर र उपमेयर दुबैमा एमालेको जित हुन सक्ने देखिन्छ ।

अधिकांश स्थानमा प्रमुख र उपप्रमुख बेग्लाबेग्लै दलबाट

करिब दुई दर्जन स्थानीय तहको निर्वाचन परिणाम आइसकेको छ । यी मध्ये धेरैवटा गाउँपालिकाहरुमा प्रमुख र उपप्रमुखमा बेग्लाबेग्लै पार्टीका उम्मेदवारहरुले जित हात पारेका छन् ।

यस्तो मिसमासे परिणामका कारण अब बन्ने स्थानीय तहमा सबै दलको सहकार्य अनिवार्य हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment