Comments Add Comment

रुकुममा माओवादीको ‘क्लिनस्वीप’, ६ वटै स्थानीय तहमा विजयी

 

४ जेठ, रुकुम । पहिलो चरणको स्थानीय चुनावमा रुकुम जिल्लाका सबै स्थानीय तहमा माओवादी केन्द्र विजयी भएको छ । पहिलो चरणमा रुकुमका ६ स्थानीय तहमा चुनाव भएकोमा सबैमा माओवादी उम्मेदवारहरु विजयी भएका छन् ।

आठविसकोट, मुसिकोट र चौरजहारी नगरपालिका तथा सानीभेरी, बाँफिकोट र त्रिवेणी गाउँपालिकामा माओवादी विजयी भएको छ । रुकुम ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को गृहजिल्ला हो ।

पछिल्लोपटक सार्बजनिक आठविसकोट नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका गोर्खबहादुर केसी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धिरेन्द्र बटालालाई २ हजार ३४ मत अन्तरले पराजित गरेर केसी आठविसकोट नगरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन् ।

माओवादीका केसीले ५ हजार ६ सय २९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका बटालाले ३ हजार ५ सय ९५ मत प्राप्त गरे । नेकपा एमालेबाट नगर प्रमुखका उम्मेदवार हरिप्रसाद शर्माले २ हजार ४ सय ३५ मत पाएका छन् ।

उपप्रमुखमा पनि माओवादी केन्द्रकी गीता नेपाली निर्वाचित भएकी छन् । नेपालीले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अनिता बुढालाई २ हजार ४ सय ३१ मतले हराएर उपप्रमुखमा विजयी भएकी हुन् ।

नेपालीले ५ हजार ६ सय १८ मत पाइन् भने कांग्रेसकी बुढाको पक्षमा ३ हजार १ सय ८७ तथा एमालेकी अमृता शाहको पक्षमा २ हजार ७ सय ८५ मत खसेको छ ।

आठविसकोट नगरपालिकाका कुल १४ वडा मध्य ११ वडामा माओवादी केन्द्र, २ वडामा कांग्रेस र एउटा वडामा एमाले विजयी भएको छ ।

रुकुमको मुसिकोट नगरपालिकाको प्रमुखमा देबीलाल गौतम र उपप्रमुखमा प्रेमकु्मारी सुनार विजयी भएका छन् ।

चौरजहारी नगरपालिकाको प्रमुखमा विशाल शर्मा र उपप्रमुखमा राधा रोका विजयी भएका छन् ।

त्रिवेणी गाउँपालिकाको अध्यक्षमा झक्कुप्रसाद घर्ती र उपाध्यक्षमा निर्मला विष्ट विजयी भएका छन् ।

बाँफिकोट गाउँपालिकाको अध्यक्षमा धर्मबहादुर केसी र उपाध्यक्षमा मनकला पुन तथा सानीभेरी गाउँपालिका अध्यक्षमा डोरबहादुर पुन र उपाध्यक्षमा इन्दिरा ओली निर्वाचित भएका छन् ।

रुकुमका भुमे, पुथा उत्तरगंगा र सिस्ने गाउँपालिका भने पाँच नम्बर प्रदेशमा पर्ने भएकाले जेठ ३१ गते दोस्रो चरणमा चुनाव हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment