९ जेठ, काठमाडौं । पहिलो चरणमा चुनाव भएका २८३ स्थानीय तहमध्ये एक दर्जनमा महिला नेतृ आए । प्रमुख दलहरुले अध्यक्ष र मेयर पदमा उम्मेदवार नै कम बनाएका अवस्थामा ४ नगरपालिका र ९ गाउँपालिकाको अध्यक्ष महिला चुनिएका छन् ।
तर, ४ नगरपालिकासहित ११ स्थानीय तहमा भने दुबै पद महिलाविहीन भएका छन् । धेरैमा चुनावी तालेमलका कारण महिलाले मौका पाएनन् भने केहिमा फरक पार्टीबाट पुरुष नै पुरुष चुनिएका हुन् ।
दोलखाका दुई गाउँपालिकामा प्रमुख र उपप्रमुख दुबै पुरुष छन् । त्यहाँ सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले चुनावी तालेमल गरेर दुबै पदमा पुरुष उम्मेदवार बनाएका थिए ।
विगु गाउँपालिकाको प्रमुखमा कांग्रेसका युधिस्टीर खड्का र उपप्रमुखमा माओवादीका सञ्जीव वली निर्वाचित भएका छन् । दोलखाकै वैत्येश्वरमा कांग्रेसका छवी लामा अध्यक्षमा चुनिँदा उपाध्यक्षमा माओवादी केन्द्रका रविचन्द्र आचार्य निर्वाचित भए ।
प्रमुख र उपप्रमुख दुबै पुरुष भएको अर्को स्थानीय तह हो धादिङको नीलकण्ठ नगरपालिका । त्यहाँ पनि कांग्रेस र माओवादी केन्द्रको तालमेल थियो र, दुबै पार्टीले आआफ्नो भागमा परेका मेयर र उपमेयर पदमा पुरुष उम्मेदवार बनाएका थिए ।
मेयरमा कांग्रेसका भीम ढुंगाना र उपमेयरमा माओवादी केन्द्रका मनराज भण्डारी निर्वाचित भए ।
बेनीघाट गाउँपालिकामा पनि त्यस्तै भएको छ । माओवादीका पित्तबहादुर डल्लाकोटी अध्यक्षमा निर्वाचित हुँदा कांग्रेसका देवीप्रसाद सिलवाल उपाध्यक्ष चुनिएका छन् ।
मकवानपुरका थाहा नगरपालिकामा पनि मेयर र उपमेयर दुबै पदमा पुरुष निर्वाचित भएका छन् । सत्तारुढ दुई दलको चुनावी तालेमल भएको थाहामा माओवादीका लवशेर विष्ट मेयर र कांग्रेसका खड्ग नेपाली उपमेयर निर्वाचित भएका छन् ।
लमजुङमा भने एमाले र माओवादीको तालमेलका कारण दुई गाउँपालिकाका दुबै पदमा पुरुष चुनिएका छन् ।
दोर्दी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ओमबहादुर गुरुङ र उपाध्यक्षमा एमालेका दिलबहादुर घले निर्वाचित भएका छन् । मस्र्याङ्दी गाउँपालिकाको अध्यक्षमा एमालेका अर्जुन गुरुङ र उपाध्यक्षमा माओवादीका होमबहादुर विक चुनिएका छन् ।
लमजुङकै मध्यनेपाल नगरपालिकामा पनि एमाले र माओवादीको तालमेल थियो । माओवादीले मेयर र एमालेले उपमेयर लिएका थिए र दुबैले पुरुषलाई नै उम्मेदवार बनाएको थियो ।
तर, मेयरमा कांग्रेसका रमेशकुमार पाण्डे चुनिए । उपमेयउरमा भने एमालेका राजकुमार श्रेष्ठ निर्वाचित भए । र, दुबै पद मेयर र उपमेयर महिलाबिहीन भएका छन् ।
डोल्पाको दुई स्थानीय तहमा पनि त्यस्तै भएको छ । ठूलीभेरी नगरपालिकामा चुनावी तालमेलकै कारण मेयर र उपमेयर दुबै पुरुष चुनिएका छन् । यहाँ एमालेले राप्रपासँग चुनावी तालमेल गरेको थियो ।
मेयरमा एमालेका गणशबहादुर शाही र उपमेयरमा राप्रपाका योगेन्द्रबहादुर शाही चुनिएका छन् ।
शेफोक्सुण्डो गाउँपालिकाको अध्यक्षमा तासी तुन्डुक गुरुङ चुनिँदा उपमेयरमा स्वतन्त्र उम्मेदवार धावासन्दुक गुरुङ विजयी भएका छन् ।
हुम्लाको नाम्खामा प्रमुख र उपप्रमुख दुबै पदमा पुरुष चुनिए । गाउँपालिका प्रमुखमा माओवादीका विष्णु लामा विजयी हुँदा उपमेयरमा स्वतन्त्र उम्मेदवार पुरी लामा चुनिएका छन् ।
कालिकोटका मवाहै गाउँपालिकाको अध्यक्षमा कांग्रेसका नन्द सिंह र उपाध्यक्षमा एमालेका मनराज शाही चुनिए ।
प्रतिक्रिया 4