Comments Add Comment

भोलिबाट भक्तपुरमा साझाका २० बसले सेवा थाल्ने


९ जेठ, काठमाडौं । साझा यातायातले भोलिबाट भक्तपुरसम्म आफ्नो बस सेवा विस्तार गर्ने भएको छ । साझाका २० वटा बसलाई भोलिबाट भक्तपुरको नयाँ बाटोमा चलाउन सुरु गरिने भएको हो ।

अब स्वयम्भुबाट सीतापाइला- कलंकी- रवीभवन- सोल्टीमोड- कालीमाटी- टेकु- त्रिपुरेश्वर- रत्नपार्क- सहीदगेट -थापाथली- माइतिघर- बबरमहल- नयाँबानेश्वर-मीनभवनहुँदै कोटेश्वरसम्म चल्ने सबै बस नयाँबाटो हुँदै भक्तपुरको सूर्यविनायकसम्म सम्म जाने साझा यातायातका प्रमुख कार्याकारी अधिकृत महेन्द्रराज पाण्डले जानकारी दिए ।

कोटेश्वरबाट जडिबुटी लोकन्थली- कैशलटार- गठ्ठाघर- ठिमी- सल्लाघारी हुँदै सुर्यविनायकसम्म बस सेवा विस्तार हुनेछ । सूर्यविनायकबाट सोही रुट हुँदै फर्किने बस माइतिघरबाट सिंहदरबार- पुतलीसडक- कमलादी- घण्टाघर- पुरानो बसपार्क-सहीद गेट- त्रिपुरेश्वर-कलंकी हुँदै स्वयम्भु नै फर्किनेछ ।

साझाले कोटेश्वरबाट सानोठिमी-पुरानोठिमी- भक्तपुर हुँदै कमलविनायक भएर नयाँ बाटोमार्फत फर्किने गरी रुट मागेको थियो । तर, यो रुटमा भने साझाले अनुमति पाएन ।

नयाँ बाटो र पुरानो बाटोमा बस सेवा विस्तारका लागि गत चैतको सुरुवातमै भक्तपुरसम्म रुट इजाजत माग्दै साझाले यातायात ब्यवस्था विभागको साना ठूला सवारी कार्यालयमा आवेदन दर्ता गरेको थियो ।

यातायात ब्यवस्था विभाग साना ठूला सवारी कार्यालयले २० वटा बस भक्तपुरको नयाँ बाटोमा चल्न पाउने गरी अनुमति दिएको हो ।

योसँगै भक्तपुरको पुरानो बाटोमा अब साझा नजाने पक्का भएको छ । साझा यातायातले पुरानो बाटो र नयाँ बाटोलाई समेटेर कमलविनायकबाट फर्किने गरी १०र१० वटा बस सेवा भक्तपुरसम्म विस्तार गर्न अनुमति मागेको थियो ।

यातायात ब्यवसायीको विरोधका बीच विभागले नयाँ बाटोमा साझाका बस गुडाउने निर्णय गरेको हो । तर, पुरानो बाटोमा रुट इजाजत दिनेबारेमा अध्ययन भइरहेको विभागले जनाएको छ ।

ब्यवसायीले साझालाई भक्तपुरमा प्रवेशको अनुमति दिए आन्दोलन गर्ने चेतावनी दिएका थिए । साझा बसले सेवा थालेपछि आफ्नो एकाधिकार तोडिने डरले ब्यवसायीहरु अत्ताल्लिएर विभागसमक्ष साझाको रुट इजाजत प्रक्रिया रोक्न माग गरेका थिए ।

साझाले भने अझै पनि विभागले पुरानो बाटोमा आफूलाई इजाजत दिइनेमा आशावादी रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment