+
+
Shares

देउवामाथि खनिए ओली, सत्ता बाहेक केही नदेखेको आरोप

'नेपालमा लोकतन्त्रको आन्दोलन हुँदा देउवा बेलायतका गल्लीमा बरालिँदै थिए'

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १० गते ३:१०


९ जेठ, काठमाडौं । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेकै दिनदेखि निरन्तर खरो आलोचना गर्दै आएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार एकाएक प्रचण्डको प्रतिरक्षा र कांग्रेस सभापति शेरवहादुर देउवाप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

प्रचण्ड खल्तीमा राजीनामा बोकेर मन्त्रिपरिषद सदस्यहरुको बिदाइ फोटो सेसन गरिरहेका बेला प्रमुख विपक्षी नेता ओली भने बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा देउवाले प्रचण्डलाई ‘अहिल्यै प्रधानमन्त्री देऊ’ भनेर लोकलाज बिर्सिएको आरोप लगाउँदै थिए ।
उनले २०/२२ दिन पनि पर्खिन नसक्ने भन्दै देउवामाथि सत्ताभोगीको आरोप लगाए । देउवाले प्रचण्डलाई कुर्सी मागेर ‘थाल खाउँ कि भात खाउँ’को अवस्थामा पुर्‍याएको टिप्पणी समेत गरे ।एमाले प्रचार बिभागले आयोजना गरेको पत्रकार सम्मेलनमा ओली देउवामाथि खनिए ।

ओलीले भने, ‘प्रधानमन्त्रीलाई भेट्नै हुँदैन, मलाई कहिले कुर्सी दिने भन्छन् । बिचरा प्रधानमन्त्री आत्तिएर थाल खाउँ कि भात खाउँको अवस्थामा हुनुहुन्छ ।’

उनले अघि भने, ‘मैले बिहान (तीन दलका शीर्ष नेताहरुको बैठक) पनि कुर्सी चाहियो भन्ने नेताजीलाई सोधेँ, लोकलाज भन्ने केही हुन्न ? २०/२२ दिन पनि पर्खिन नसक्ने ? यस्ता मान्छेले अस्थिरता ल्याए ।’

ओली त्यतिमा रोकिएनन् । देउवा सत्ताका लागि जे पनि गर्न सक्ने नेता भएको भन्दै कुर्सीका लागि कांग्रेस कार्यकर्तालाई अरुकै चिन्हमा भोट हाल्नका लागि मुन्ट्याएर पठाएको टिप्पणी समेत गरे ।

एमाले अध्यक्ष ओलीले भने, ‘लोकतन्त्र भन्ने त उहाँलाई केही मतलबै छैन । हुन पनि नेपालमा लोकतन्त्रको आन्दोलन चलिरहेका बेला बेलायतका गल्लिमा बरालिँदै हुनुहुन्थ्यो । नेपाल फर्केर गृहमन्त्री भएपछि घरमा बसेको बालकलाई गोली हानेर मार्दा ‘गोलीको आँखा हुँदैन’ भनेर गैरजिम्मेवार जवाफ दिनुभयो । यस्तोबाट के अपेक्षा गर्ने ?’

एमाले अध्यक्ष ओलीले देउवा प्रधानमन्त्री भए दोस्रो चरणको स्थानीय चुनाव र त्यसपछि प्रदेश तथा केन्द्रीय संसदको चुनाव हुनेमा समेत आशंका व्यक्त गरे ।

यो एउटै चुनाव भएकाले चुनाव नसकी सरकार फेर्न नमिल्ने ओलीले बताए ।

आफूले प्रधानमन्त्री प्रचण्डको राजीनामा रोक्नु भन्दा पनि चुनावको सुनिश्चितता र विधि प्रक्रियाका लागि यो कुरा उठाएको ओलीको दाबी छ । ‘राजीनामा दिनु थियो भने चुनावअघि नै दिएको भए हुन्थ्यो । होइन भने अब चुनाव सकेर दिए भयो । २० दिन पनि पर्खिन नसक्ने कस्तो लोकलाज नभएको मान्छे भेटिए ।’

पूर्व प्रधानमन्त्री ओलीले यदि प्रधानमन्त्रीले राजीनामा दिएर संसदमा नयाँ प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया थालनी भएमा एमालेले त्यसमा भाग लिने बताए । तर, प्रधानमन्त्रीको उम्मेदवारी दिने निर्णय भने पार्टीले अहिलेसम्म नगरेको उनले प्रष्ट पारे ।

ओलीले भने, ‘राजीनामा दिनुभयो भने हामीले रोक्ने कुरा त भएन, प्रधानमन्त्री चयनको प्रक्रियामा भाग लिन्छौं । सकेसम्म सहमतिको प्रक्रियामा जाउँ भनेका छौं । कांग्रेसले विगतको गल्तीबाट प्रायश्चित गर्ने हो भने सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?