Comments Add Comment

गोरखामा गाउँ तथा नगरसभा गठनको तयारी, कतै एकल कतै तालमेल

१० जेठ, गोरखा । दुई नगरपालिका र ९ गाउँपालिका रहेको गोरखामा गाउँ कार्यपालिका र नगर कार्यपालिकाको चुनावनको तयारी भइरहेको छ । ११ स्थानीय तहमध्ये नगरपालिका र सात गाउँपालिकामा कांग्रेस बिजयी भयो भने बाँकी दुई गाउँपालिकामा माओवादी केन्द्र बिजयी बन्यो ।

नगर कार्यपालिकाको पाँच जना महिला सदस्य र तिन जना दलित तथा अल्पसंख्यक गरी आठ जना सदस्यका लागी निर्वाचन हुनेछ । पाँच जना सदस्य निर्वाचित जनप्रनिधि भित्रैबाट निर्वाचित हुनेछन् । तीन जना दलित तथा अल्पसंख्यक सदस्य भने निर्वाचित जनप्रतिनिधि बाहेकका अन्य हुनुपर्ने प्रावधान छ । तर उनीहरुको मतदाता नामावलीमा नाम हुनु आवश्यक छ ।

यता गाउँ कार्यपालिकामा भने चार जना महिला सदस्य र दुर्इ जना दलित वा अल्पसंख्यक गरी ६ जना सदस्यका लागि निर्वाचन हुने निर्वाचन कार्यालयले जनाएको छ ।

नगर कार्यपालिकाको अध्यक्ष भने नगरका मेयर र गाउँकार्यपालिकाका अध्यक्ष गाउँपालिकाको अध्यक्ष हुनेछन् । त्यस्तै नगरपालिका वडा गाउँपालिकाको हरेक वडाका अध्यक्षहरु पदेन सदस्य रहनेछन् ।

गोरखा नगरपालिका

गोरखा नगरपालिकाको नगरसभामा काग्रेसको बर्चश्व कायम हुँदा नगर कार्यपालिकामा काग्रेसको सम्भावना बलियो देखिएको छ । १४ वटा वडा रहेको गोरखा नगरपालिकामा नगरको मेयर र उपमेयरका साथै आठ वडामा कांग्रेस बिजयी भएको छ ।

नगर क्षेत्रमा निर्वाचित ७० सदस्यमध्ये ४४ जना कांग्रेसका रहेका छन् । माओवादी केन्द्रले तीन वडा अध्यक्ष सहित १८ सदस्य जितेेको छ । एमालेले पनि तीन वडा अध्यक्ष सहित १० सदस्य जितेको छ । नयाँ शक्तिले भने सदस्य पद पनि जित्न सकेन ।

पालुङटार नगरपालिका

१० वटा वडा रहेको पालुङटार नगरपालिकामा काग्रेसले मेयरसहित दुई वडा अध्यक्ष र १२ सदस्य जितेको छ । माओवादी केन्ऽले नगरको उपमेयर सँगै चार वडा अध्यक्ष र १८ सदस्य जितेको छ । नयाँ शक्तिले तीन वडा अध्यक्ष सहित २१ सदस्य जितेको छ भने एमालेले एक वडा अध्यक्ष सहित एक सदस्य जितेको छ ।

जितको परिणामलाइ हेर्दा पालुङटार नगरको नगर कार्यपालिकामा निर्वाचन हुने सदस्य पदका लागि माओवादी केन्द्र बलियो देखिएको छ । तर कांग्रेस र नयाँ शक्तिले तालमेल गरेको हुँदा माओवादी केन्द्रको सम्भावना कम देखिएको छ ।

सिरानचोक गाउँपालिका

८ वटा वडा रहेको सिरानचोक गाउँपालिकामा काग्रेसले गाउँपालिका अध्यक्षसहित ६ वडा अध्यक्ष र २८ सदस्य जितेको छ । माओवादी केन्द्रले एक वडा अध्यक्षसहित दश सदस्य जितेको छ भने नयाँ शक्तिले एक वडा अध्यक्षसहित दुर्इ सदस्य जितेको छ ।

एमालेले भने दुर्इ सदस्य मात्र जितेकेा छ । उक्त मतपरिणामलार्इ हेर्दा सिरानचोकको गाउँकार्यपालिका काग्रेसको सम्भावन बलियो छ ।

अजिरकोट गाउँपालिका

५ वटा वडा रहेको अजिरकोट गाउँपालिकामा कांग्रेसले गाउँपालिका प्रमुख सहित तीन वडा अध्यक्ष र १७ सदस्य जितेको छ । माओवादी केन्द्रले दुर्इ वडा अध्यक्ष र दश सदस्य जितेको छ । अन्य पार्टीले भने कुनै सदस्य पनि जित्न सकेनन् । यस परिणामलाइ हेर्दा अजिरकोटको गाउँ कार्यपालिकामा कांग्रेसको सम्भावना बलियो छ ।

शहिद लखन गाउँपालिका

९ वटा वडा रहेको शहिद लखन गाउँपालिकामा माओवादी केन्द्रले गाउँपालिका प्रमुख सँगै दुइ वडा अध्यक्ष र १८ सदस्य जितेको छ । कांग्रेसले चार वडा अध्यक्षसहित १७ सदस्य जितेकेा छ । एमालेले तीन वडा अध्यक्ष सहित १० सदस्य जितेको छ भने नयाँ शक्तिले दुर्इ सदस्य मात्र जितेको छ ।

यस मतपरिणामलाइ हेर्दा कस्ले जित्ने भन्ने आकलन गर्न नसके पनि माओवादी र एमालेको तालमेल हुँदा उनीहरुको सम्भावना बलियो बनेको छ भने काग्रेस कमजोर देखिएको छ ।

गण्डकी गाउँपालिका

८ वटा वडा रहेका गण्डकी गाउँपालिकामा कांग्रेसले गाउँपालिका प्रमुखसहित चार वडा अध्यक्ष र १९ सदस्य जितेको छ । माओवादी केन्द्रले चार वडा अध्यक्ष सहित २३ सदस्य जितेको छ अन्य पार्टीको मतपरिणाम शून्य छ । उक्त मतपरिणामलाइ हेर्दा कांग्रेस भन्दा केही हद माओवादीको सम्भावना बलियो देखिन्छ ।

सुलीकोट गाउँपालिका

८ वटा वडा रहेको सुलीकोट गाउँपालिकामा माओवादी केन्द्रले गाउँपालिका अध्यक्षसहित ६ वडा अध्यक्ष र ३१ सदस्य जितेकेा छ । कांग्रेसले भने दुइ वडा अध्यक्षसहित ११ सदस्य जितेको छ । सुलिकोटको गाउँकार्यपालिकामा माओवादी केन्द्रको सम्भावना बलियो देखिन्छ ।

भीमसेन गाउँपालिका

८ वटा वडा रहेको भिमसेन गाउँपालिकामा कांग्रेसले गाउँपालिका प्रमुखसहित पाँच वडा अध्यक्ष र २६ सदस्य जितेको छ । माओवादी केन्द्रले भने ३ वडा अध्यक्षसहित १६ सदस्य जितेको छ । यस आधारमा भिमसेनको गाउँकार्यपालिकामा कांग्रेसको सम्भावना बलियो छ ।

आरुघाट गाउँपालिका

दश वटा वडा रहेको आरुघाट गाउँपालिकामा काग्रेसले गाउँपालिका अध्यक्षसहित चार वडा अध्यक्ष र २२ सदस्य जितेको छ । माओवादी केन्द्रले एक वडा अध्यक्ष सहित ५ सदस्य जितेको छ भने एमालेले पाँच वडा अध्यक्षसहित २५ सदस्य जितेको छ । आरुघाटमा पनि एमाले र माओवादी केन्द्रले तालमेल गर्नै भएका छन् । तालमेल हुने भएपछि काग्रेसको सम्भावना कमजोर देखिएको छ ।

धार्चे गाउँपालिका

७ वटा वडा रहेको धार्चे गाउँपालिकामा काग्रेसले गाउँपालिका प्रमुख सँगै तीन वडा अध्यक्ष र १४ सदस्य जितेको छ । एमालेले दुर्इ वडा अध्यक्ष सहित नौ सदस्य जितेको छ भने माओवादी केन्द्रले एक वडा अध्यक्ष सहिन नौ सदस्य जितेको छ ।

नयाँ शक्तिले भने एक वडा अध्यक्ष सहित पाँच सदस्य जितेको छ । मतपरिणाम हेर्दा काग्रेसको सम्भावना बलियो देखिएपनि एमाले र माओवादीले तालमेल गरेर गाउँ कार्यपालिका बनाइसकेका छन् ।

चुमनुव्री गाउँपालिका

७ वटा वडा रहेको चुमनुव्री गाउँपालिकामा काग्रेसले गाउँपालिका अध्यक्ष सहित चार वडा अध्यक्ष र १३ सदस्य जितेको छ । माओवादी केन्द्रले तिन वडा अध्यक्ष सहित १८ सदस्य जितेको छ भने एमालले एक सदस्य मात्र देखिएको छ । यहाँ कांग्रेस र माओवादी मिलेर गाउँ कार्यपालिका बनाएका छन् ।

गाउँकार्यपालिका र नगरकार्यपालकाको चुनावका लागी शहिद लखन, आरुघाट र धार्चै गाउँपालिकामा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको छ भने पालुङटार नगरपालिकामा काग्रेस र नयाँ शक्तिबीच तालमेल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment