आजभोलि हामी जे गर्छौ, त्यसको फोटो फेसबुकमा अपलोड गर्ने हतारो हुन्छ । कतै हिँडेको, खेलेको, खाएको, फिल्म हेरेको, सपिङ गरेको सबै फोटो फेसबुकमार्फत शेयर गर्ने प्रवृत्ति छ ।
यसैगरी कति आमाबुवाले आफ्ना छोराछोरीको अनेक भाव-भंगिमाको फोटो फेसबुकमा राख्न हतारिन्छन् । चाहे उनीहरु रोएको होस् वा हाँसेको, खेलेको होस् वा स्कुल गएको, तात्तातो फोटो खिचेर फेसबुकमा राख्ने गरिन्छ ।
तर, यसरी जथाभावी फोटो अपलोड गर्नु कति उपयुक्त होला ? सोच्नुपर्ने हुन्छ । कतिपय यस्ता अवस्था हुन्छन्, जसलाई सामाजिक संजालमा शेयर गर्नु ठीक हुन्न । बच्चाको कस्तो फोटो सामाजिक संजालमा राख्न हुन्न त ?
दिसा-पिसाब गरिरहेको अवस्था
जतिसुकै उमेरको किन नहोस्, दिसा-पिसाब गरेको क्षण नितान्त व्यक्तिगत कुरा हुन् । यस्ता कुरा दुनियालाई देखाइरहनु आवश्यक छैन । यस अवस्थाको फोटोले कुनै अर्थ राख्दैन । बरु, बच्चा ठूलो भएपछि जब आफ्नो फोटो देख्छन्, उनीहरुलाई अप्ठ्यारो पर्न सक्छ ।
नुहाएको अवस्थामा
अक्सर आमाबुवाले बच्चालाई नुहाइदिएको फोटो शेयर गर्छन् । तर, यस्तो तस्बिर सार्वजनिक गर्नका लागि होइन । आफ्नो बच्चाको नग्न तस्विर सामाजिक संजालमा शेयर गर्दा त्यसले पछि समस्या निम्त्याउन सक्छ । किनभने यस्तो तस्विर गलत मान्छेको हातमा पर्यो भने प्रविधिको माध्यामबाट दुरुपयोग गर्ने डर हुन्छ ।
बिमार भएको बेला
सोच्नुहोस् त, यदि तपाई बिमार हुनुभएको छ र कसैले तपाईको फोटो खिचेर सामाजिक संजालमा अपलोड गर्छन् भने । बिमार भएको अवस्थामा फोटो खिच्नु राम्रो होइन । यतिबेला बच्चाको अवस्था नाजुक हुन्छ, अनुहार सिथिल हुन्छ । यस्तो दयानिय फोटोले के अर्थ राख्छ ?
अरु बच्चासँगको सामूहिक फोटो
बच्चाहरु आफ्नो साथीसँग खेलिरहेको, कतै बसिरहेको सामूहिक फोटो खिचेर सामाजिक संजालमा राख्नु उचित हुँदैन । किनभने आफ्नो बच्चाको फोटो अपलोड गर्न मन लागेपनि कति अभिभावक त्यस्तो चाहदैनन् । अभिभावकको अनुमति बिना अर्को बच्चाको फोटो अपलोड गर्नु सहि होइन । अर्काको प्राइवेसीको सम्मान गर्नुपर्छ ।
प्रतिक्रिया 4