१८ जेठ , कैलाली । दोस्रो चरणको चुनावको माहोल सुरु भएसँगै धनगढी चुनावी चर्चाको केन्द्रमा छ । ७ नम्बर प्रदेशको सम्भावित राजधानी र एकमात्र उपमहानगरपालिका भएरमात्र धनगढी चर्चामा छैन । यहाँको मेयरमा चर्चित उद्यमी गोपाल हमालले स्वतन्त्र उम्मेदवारी घोषणा गरेपछि चुनावको पारो माथि चढेको छ ।
हमालले आफ्नो स्वतन्त्र उम्मेदवारी बैशाख ८ गते नै एक कार्यक्रमको आयोजना गरेर घोषणा गरेका थिए । तर दोस्रो चरणको चुनावी महोल भने भर्खरै सुरु हुँदैछ । प्रमुख दलहरुले प्रतिष्ठाको विषय बनाएको धनगढी उपमहानगरपालिकामा गोपालको उम्मेदवारीले झनै चहलपहल बढाएको छ ।
‘आर्थिक सम्बृद्धिको पहिलो आधारः व्यवस्थित शहरीकरण’ भन्ने मुल नाराका साथ सुन्दर सुदुरपश्चिमका अभियन्ता गोपाल हमालले मेयरको उम्मेदवारी दिएका छन् ।
५ बर्षमा धनगढी उपमहानगरपालिकालाई देशकै उत्कृष्ट र नमुना नगर बनाउने २८ बुँदे घोषणापत्रसहित स्वतन्त्र उम्मेदवार बनेका हमाल यहाँका चर्चित उद्योगी व्यवसायी हुन् ।
सात नम्बर प्रदेशमा कुल १३ लाख ३ हजार ७ सय १४ मतदाताहरु रहेकोमा कैलाली जिल्लामा ४ लाख ३ हजार २ सय ८० मतदाताहरु रहेका छन् । १९ वटा वडाहरु रहेको धनगढी उपमहानगरपालिकामा ७६ हजार ४ सय ३० मतदाता छन् ।
धनगढी नगर क्षेत्रमा रहेका मतदाताहरुको निणर्ायक मत समेट्ने लक्ष्य राखेर हमाल एक्लै मैदानमा उत्रिएका हुन् । उनलाई कांग्रेस लगायत अन्य पार्टीमा रहेका युवाले साथ दिएपछि ठूला पार्टीमा खैलाबैला मच्चिएको छ ।
कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष रहिसकेका हमालले आफू अध्यक्ष हुँदा ‘सुन्दर सुदूरपश्चिम’ अभियान सफल पारेको भन्दै हमाललाई नै आफ्नो सहयोग रहने पूर्व कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष दिनेश भण्डारीले बताए ।
नेपाली कांग्रेसको गड मानिने धनगढी उपमहानगरपालिकामा अहिलेसम्म उम्मेदरवारको टुंगो लागेको छैन । नेता कार्यकर्ता कसरी चुनावी प्रचारमा जाने भनेर सोचिरहेको बेला हमालले भने सबै वडा घुम्न भ्याइसकेका छन् ।
उनको प्रचारको शैलीसमेत अन्य पार्टीको भन्दा फरक छ । आफूलाई विभिन्न वडाका मतदाहरुले आफ्नो क्षेत्रमा आउन आग्रह गरेपछि जाने गरेको बताए । मतदाताको आग्रहपछि हमाल दलबलसहित सो क्षेत्रमा जाने र मतदाताको गुनासो सुनेपछि आफ्नो एजेण्डा राख्ने गरेका छन् ।
उनको चुनावी नारा नै ‘६ भोट दललाई, १ भोट विकासका लागि हमाललाई’ भन्ने रहेको छ ।
हमालको प्रचारमा जानेहरु आफै्ले गाडी र खाना खाजाको व्यवस्था मिलाउने गरेका छन् । कसैलाई अहिले सम्म मलाई सहयोग गरौ भनेर चन्दा माग्न नपरेको हमालले बताए ।
धनगढी उपमहानगरपालिको १ देखि ८ सम्मका वडाहरु नगर क्षेत्रमै पर्ने भएका कारण पनि आफू सबै पार्टीको साझा उम्मेदवार बन्न सक्ने उनी बताउँछन् । दलबाट उम्मेदवार बन्दा मतदाता बिभाजित हुने भएकाले स्वतन्त्र उम्मेदवार बनेको उनले बताए ।
प्रतिक्रिया 4