Comments Add Comment

बिराटनगर र इटहरीमा उम्मेदवार खोज्दै रविन्द्र मिश्र

१९ जेठ, इटहरी । काठमाडौंमा पूर्वसचिव किशोर थापालाई चुनावमा उठाएर लोकपि्रय मत हासिल गरेपछि उत्साहित बनेको साझा पार्टीको ध्यान पूर्वी नेपालतिर सोझिएको छ ।

यसै साता साझा पार्टीका संयोजक रविन्द्र मिश्र र प्रवक्ता डा. सूर्यराज आचार्यको टोलीले बिराटनगर र सुनसरीको भ्रमण गरेको छ ।

बिराटनगरको नमस्ते होटलमा साझा पार्टीले कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा सहभागीहरुले साझा पार्टीबाट काठमाडौंमा किशोर थापा र निरुपमा यादवले जस्तै बिराटनगरमा पनि उम्मदेवारी दिइनुपर्ने सुझाएका थिए ।

मिश्र र आचार्यको टोलीले इनरुवामा साझा पार्टीको इकाइ कार्यालय स्थापना गरेको छ भने इटहरीमा औपचारिक कार्यक्रम नै आयोजना गरेर फर्केको छ ।

इटहरीमा साझा पार्टीको कार्यक्रममा उल्लेख्य उपस्थिति देखिएको भन्दै सो पार्टीका नेताहरु उत्साही बनेका छन् ।

सुनसरी र मोरङ डुल्ने क्रममा धेरैजनाले रविन्द्र मिश्रसँग भेट गरेर आफूहरु उम्मेदवार बन्न तयार रहेको भन्दै टिकट माग गरेका थिए ।

यसबारे आगामी मंगलबार काठमाडौंमा बस्ने बैठकमा छलफल हुने र बिराटनगर अनि इटहरीमा साझा पार्टीले उम्मदेवारी घोषणा गर्न सक्ने सम्भावना रहेको सो पार्टीका एक नेताले अनलाइनखबरलाई बताए ।

रविन्द्र मिश्र सुनसरी र मोरङको कार्यक्रममा सहभागी भएर फर्किए पनि प्रवक्ता सूर्यराज आचार्य झापासम्म पुगेर फर्केका छन् ।

उता दुई नम्बर प्रदेशमा पनि साझा पार्टीले त्यहाँको अवस्थाबारे बुझिरहेको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment