Comments Add Comment

काठमाडौंका ११ वडाध्यक्षको घोषणाः बिहानै कार्यालय खोल्नेदेखि घरैमा वृद्धभत्ता पुर्‍याउनेसम्म


२१ जेठ, काठमाडौं । लामो समयपछि स्थानीय निकायले जनप्रतिनिधि पाएको छ । अब वडास्तरसम्म नै जनताले चुनेका प्रतिनिधिहरु शासकका रुपमा पुगेका छन् । स्थानीय सरकारसँग नागरिकका बग्रेल्ती अपेक्षा छन् ।

अहिले चुनिएका प्रतिनिधिलाई जनताको आशा र भरोसा अनुरुप काम गर्न चुनौतीहरु छन् । अब यही अवस्थामा जनप्रतिनिधिहरुले कसरी काम गर्लान् भन्ने आम जिज्ञाशा र चासो छ । यसै सन्दर्भमा हामीले काठमाडौं महानगरपालिकाकाका वडाध्यक्षमा निर्वाचित केहीलाई अब आफ्नो वडामा के-के काम काम अघि बढाउनुहुन्छ ? भनेर सोधेका छौं ।

रामकृष्ण श्रेष्ठ, वडा नम्बर ९


लामो समयपछि स्थानीयको निर्वाचन भयो । जनताको अपेक्षा धेरै छ । हामी काम गर्न आएका छौं । जनताले यो बीचमा अपेक्षाअनुरुप सेवा पाएका थिएनन् । अब त्यो अवस्था हट्नुपर्छ । अब मेरो प्राथमिकता भनेको वडा कार्यालयबाट छिटो-छरितो सेवा दिनेमा नै हुन्छ ।

सँगै विकासका काम पनि तीब्र गतिमा गर्न म प्रतिवद्ध छु । विकासका काममा हुने ढिलासुस्ती हटाएर छिटो छरितो बनाउनेमा मेरो ध्यान केन्दि्रत हुनेछ । वडाका सबै सडकलाई धुलोरहित बनाउने योजना छ मेरो ।

हाम्रो वडामा बागमती र रुद्रमती बग्छ । तर, यो ज्यादै फोहोर र प्रदुषित अवस्थामा छ । यसलाई हरियाली बनाउने गरी काम सुरु गर्छु । अब यी नदी र खोलामा मिसाइका ढल हटाएर मलमुत्र जान नदिने ब्यवस्था गर्छौं ।

अधिरकार सम्पन्न बाग्मती सभ्यता समितिले पनि काम गर्दैंछ । रुद्रमती सरोकार मञ्चसँग सहकर्य गरेका हामी काम गर्छौं । खोलालाई स्वच्छ र सफा बनाउन हामी कसर बाँकी राख्दैनौं । जनतालाई सेवा छिटो दिने मा पनि म केन्द्रत हुन्छु । अहिले अनलाइन सेवा सुरु भएको छ ।

तर, अनलाइन भनेर सेवाग्राही अल्मलिने अवस्था आएको छ । वडामा महानगरपालिकालाई भनेर जनशक्ति थप्न लगाउँछौं र त्यो अनलाइनको काम कर्मचारीबाटै गराउने गरी ब्यवस्था गर्छौं । महानगरले नगरे हामी आफ्नै स्रोत जुटाएर भएपनि कर्मचारी थपेर सेवा चुस्त बनाउँछौं ।

रामकुमार केसी, वडा नम्बर १०


म १० नम्बर वडाको नागरिक सरोकार मञ्चको अध्यक्ष पनि हुँ, त्यसैले मलाई आफ्नो वडामा के-के समस्या छन् भन्ने सबै थाहा छ । यहाँ गर्न बाँकी कामहरुबारे म राम्रो जानकारी राख्छु । अब अधुरा कामहरु अघि बढ्छन् ।

मुख्य समस्या भनेको हाम्रो वडामा सार्वजनिक जग्गाको अतिक्रमण हो । त्यो त हामी हटाएर छाड्छौं । काठमाडौंको मुख्य क्षेत्रमै १२८ रोपनी जग्गा हडपिएको छ । सामुदायिक प्रहरीसँग मिलेर हामीले त्यसको पहिचान गरिसकेका छौं । त्यसलाई नाप जाँच गरेर चिनो लगाइसकेका छौं । अब जसरी पनि मिचिएको जग्गालाई सरकारको मातहत ल्याउँछौं ।

हाम्रो क्षेत्र हुँदै बग्ने बाग्मती र रुद्रमती फोहोर छ । त्यसलाई सफा गर्न हामी पनि काम थाल्छौं । अब खोलाका किनारालाई हरियाली बनाउन काम सुरु हुन्छ । अब खोलमा फोहोर फल्नै नदिने नियममा हामी कडाइ गर्छौं । नागरिकलाई जिम्मेवार बनाउँदै अघि बढ्छौं । १० नम्बर वडामा ८० प्रतिशत सडक पीच भइसक्यो । ५ महिना भित्रै बाँकी २० प्रतिशत सबै सडक पीच गर्ने मेरो लक्ष्य छ ।

ढल र बाटोलाई प्राथमिकता दिएर काम गर्छौं । हाम्रो वडामा शिक्षित वर्ग धरै बस्छन् । बानेश्वर क्षेत्रलाई हामीले ‘फ्री-वाइफाई जोन’ बनाउन हामीले दुईवटा संस्थासँग छलफल अघि बढाइसक्यौं । अब काम हुन धेरै समय लाग्दैन ।

दिनेशुकमार डंगोल, वडा नम्बर ८


हाम्रो वडा कार्यालयको आफ्नै भवन छैन । ०५९ सालमा पशुपति क्षेत्र विकास कोषले अधिग्रहण गर्दा हाम्रो वडा कार्यालय भत्काइएको थियो । अब कार्यालय भवन बनाउन काम सुरु गर्ने योजना छ । हाम्रो वडामा विश्वले चासोका साथ हेरेको पशुपति क्षेत्र छ । तर, पशुपति क्षेत्र विकास कोषले यो क्षेत्रमा फोहोर मैला ब्यवस्थापन गर्न चासो दिएको छैन ।

संसारको आँखा पर्ने यो ठाउँलाई फोहोरमैला मुक्त गर्न हामीले सफाइको काम गर्छौं । कोषले टुरिस्ट काउन्टर राखेर प्रति विदेशी १ हजार रुपैयाँ उठाउँछ । तर, त्यसको उचित प्रयोग भएको छैन । अब त्यसलाई वडा कार्यालयको मातहत ल्याएर हामी वडालाई उत्कृष्ट पर्यटकीय क्षेत्र बनाउँछौं ।

वडा कार्यालयको सेवाको गुणस्तरलाई अब हामी सुधार्छौं । विकासका काममा ढिलाइ नहोस् भन्नेमा म सचेत छु । नागरिकले खोजेजस्तै काम गर्नु नै मेरो मूल प्राथमिकता हो ।

भरतलाल श्रेष्ठ, वडा नम्बर १


मैले मेरो वडामा मुख्यतयाः स्वास्थ्य, शिक्षा र फोहोरमैला व्यवस्थापनको क्षेत्रमा प्राथमिकता दिएर काम गर्छु । वडाबाट हुने नियमित कामलाई पनि सहज र सेवाग्राही मैत्री बनाउनेमा मेरो ध्यान केन्दि्रत हुनेछ ।

नागरिकले वडाबाट कुनै दुःख र झमेला पाउनुहुँदैन । मैले सेवालाई प्रभावकारी बनाउँदै विकासका कामलाई सँगसँगै अघि बढाउँछु ।

मेरो क्षेत्र नक्सालमा ठूलो विकासका कामभन्दा पनि यसलाई पर्यटकीय गन्तब्य बनाउने गरी काम गर्नुपर्नेछ । अहिले बाटो बढाउने काम भइरहेको छ, त्यो नबढाओस् भन्ने गरी पहल अघि बढाउँछु । नागरिकरका घर भत्काएर सडक बढाउनुपर्ने छैन ।

सँगै मैले विकासका अधुरा काम पूरा गर्ने तथा धार्मिक तथा पुरातात्विक सम्पदाको पुनर्निर्माण र संरक्षणमा वडाध्यक्षका हैसियतमा काम गर्छु ।

राजेन्द्रुकमार श्रेष्ठ, वडा नम्बर २


मेरो प्राथमिकता वडालाई उज्यालो बनाउनेमा हुन्छ । अहिले सडकबत्ती नभएका स्थानमा सडक बत्ती जोड्न काम सुरु गर्छु । रातको समयमा नागरिकलाई सडकमै हिँड्न पनि डरमर्दो हुने अवस्था अब रहँदैन ।

फोहोरलाई हटाउने गरी सरसफाईमा पनि विशेष काम गर्छु । वडामा जे-जति समस्या छन् तीनको चरणवद्ध समाधान गर्ने योजना मेरो हो । वडामा भएका सबै किसिमका समस्या हटाउने गरी काम गर्नुपर्ने आवश्यकता पनि हो ।

मेरो वडामा टुकुचाले वषर्ामा ३/४ सय घर डुबाउँछ । त्यसलाई डुबान मुक्त बनाउने गरी काम गर्छु । वडाबाट सम्पादन हुने सेवा सेवा पनि हामी सुधार्छौं ।

वडामा पूर्णरुपमा आर्थिक पारदर्शिता कायम गर्दै काम गर्छौं । जनतालाई हुने सबै सास्ती हटाउन म प्रतिवद्ध छु ।

दीपक केसी, वडा नम्बर ३


मेरो पहिलो प्राथमिकता ३ नम्बर वडालाई ‘हेल्थ हब’ बनाउने हो । यसलाई विशेष स्वास्थ्य क्षेत्र घोषणा गरे हेल्थ हबका रुपमा डेभलेप गर्ने गरी म काम गर्छु ।

स्वास्थ्य भन्ने बित्तिकै खानेपानी, ढल, शिक्षा लगायत सबै पक्ष जोडिन्छन् । वडाका नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर गर्नुपर्ने सबै काम अघि बढाउँछौं । बाटोलाई धुलोमुक्त गर्ने, वडालाई शान्त र सफा राख्ने अनि सफा खानेपानीको सुविधा दिनमा म केन्दि्रत हुनेछु ।

हाम्रा वडामा १८ वटा हस्पिटल छन् । यो सकारात्मक पक्षलाई उपयोग गर्दै वडालाई समृद्ध गर्न हामी काम गर्नेछौं । यो काम भए वडामा रहेका विकृति त्यसै बढारिन्छन् । म मेरो वडालाई नमूना बनाएर अरुलाई पनि त्यसैगरी काम गर्न प्रोसाहित गर्छु ।

मोहनबहादुर बिष्ट, वडा नम्बर ४


मेरो वडामा प्रमुख प्राथमिकता स्वास्थ्यमा नै हुन्छ । मान्छे स्वस्थ नभएसम्म अरु जे-जे भए पनि, गरे पनि कुनै अर्थ छैन । त्यसैले सरसफाइका काममा मेरो ध्यान हुन्छ । सँगै नागरिकका स्वास्थ्यसँग जोडिने सबै किसिमका काम मैले गर्नुपर्नेछ र गर्छु ।

सँगै शिक्षाका क्षेत्रमा गर्नुपर्ने काम योजनावद्ध रुपमा अघि बढाउँछु । खानेपानी, ढल, सडकका योजनाहरु जनताको अपेक्षा अनुरुप अघि बढ्छन् ।

मेरो वडा सररफाइमा मूल समस्या छ । त्यसलाई समाधान गर्ने गरी अघि बढाउन मैले तयारी गरेको छु । नागरिकलाई वडास्तरबाट दिइने सेवा सहज र पारदर्शी गर्न मैले गर्न सक्ने सबै प्रयत्न गर्छु । वडालाई फोहोरमुक्त गर्न गर्न सबैको साथ लिएर काम गर्ने मेरो योजना हो ।

रमेश डंगोल, वडा नम्बर ५


मैले चुनावकै क्रममा जितेपछि ४ चरणमा काम गर्छु भनेर घोषणा गरेको थिएँ । अब त्यो कामहरु नै गर्ने हो । मसँग योजनाहरु छन् । पहिलो एक महिना, ९० दिन, १ वर्ष र ४ वर्षमा गर्ने सक्ने कामको बाँडफाँड मैले गरेको छु । त्यही अनुसार अब काम सुरु हुन्छ ।

मेरो वडामा मुख्य समस्या ढलकै हो । अब बर्षायाम लागेकाले यसको व्यवस्थापन तत्काल सम्भव हुँदैन । तर, ढललाई सफा गरेर त्यसमा अवरोध आउन नदिने गरी तत्काल काम गर्छु । त्यसपछि यो ढललाई दिगो रुपमा व्यस्थापन गर्नेछु ।

अहिलेसम्म हाम्रो वडा कार्यालयमा झमेला नै झमेलाका बीचमा चल्दै थियो । अब त्यस्तो हुँदैन । अब वडा कार्यालयबाट हुने काम सबै सहज रुपमा हुन्छन् ।

वडाका धेरै भाग र सडक रातमा अन्धकार हुन्छन् । अब एक महिना भित्रै सबै गल्ली, चोक, सडकमा बत्ती जोडिसक्छु । हामी अब वडामा रहेका समस्या पत्ता लगाउन नागरिकसहितको एउटा विज्ञ समिति बनाउँछौं । त्यसले दिने सुझावका आधारमा वडाले प्राथमिकता दिएर काम गर्छ ।

दीपेन्द्र लामा, वडा नम्बर ६


काठमाडौमा यसै त बस्नै नसक्ने धुवाँ-धुलो छ । तर, हाम्रो वडामा अन्य क्षेत्रभन्दा बढी नै यो समस्या छ । अब यसलाई हटाउन म प्रयत्नशील रहनेछु ।

यसबाहेक प्रशासनिक समस्या पनि थुप्रै छ । यसैका कारण सेवाग्राही वडा कार्यालयकोसेवाबाट असन्तुष्ट छन् । त्यसैले अब मैले वडा कार्यालयमा १ देखि ५ बजेसम्म मात्रै खुल्ने परम्परा तोड्दैछु । नागरिकलाई एउटा सिफारिस लिएर काम गर्न जान पनि निकै सास्ती छ । अब यसलाई हटाउन विहान ८ बजेबाट वडा कार्यालय खुल्छ ।

हतारमा भएका सेवाग्राहीले १० बजेसम्म वडाको काम सकाएर सम्बन्धित कार्यालयमा गएर आफ्नो कागजी काम गर्न सक्नेछन् । यसले सेवाग्राहीलाई सहज हुनेछ ।

अर्को कुरा सरकारले दिने बृद्धभत्ता बैंकमार्फत बाँड्दा बुढाबुढी आमा-बालाई सास्ती भयो । अब हामी त्यो बृद्धभत्ता सम्बन्धितकै घरमा पुर्‍याइदिन्छौं । राज्यले वृद्ध नागरिकलाई सम्मान गरेर दिएको बृद्धभत्ताले किन ब्यर्थै लक्षित समूहलाई सास्ती दिने ?

हाम्रो वडामा पार्किङको पनि समस्या छ । त्यसलाई हटाउने गरी अब पहल थालिहाल्छु । खानेपानी र ढलको विस्तारको लागि ब्यापक अब काम गछौं । हामी विश्व सम्पदा क्षत्रेमा छौं । बौद्धलाई आधार बनाएर हामी विश्वलाई आकषिर्त गर्ने गरी नमूना काम गर्छौं ।

चीनिकाजी महर्जन , वडा नम्बर २२


मेरो वडा राजधानीको पनि ‘राजधानी’ हो । देशको प्रमुख ब्यापारिक केन्द्र न्यूरोड लगातका क्षेत्र यही वडामा छन् । मुख्य ऐतिहासिक, पुरातात्विक र धार्मिक सम्पदा पनि यही क्षेत्रमा छन् ।

यहाँ ब्यापारिक र सांस्कृतिक जनजीवन छ । यसको मौलिकतालाई बचाउँदै ब्यापारिक समृद्धि र विकासलाई प्राथमिकता दिएर काम गर्छु ।

ठूलो चाप रहने यो क्षेत्रको पार्किङ अव्यवस्थित छ । यहाँ नयाँ पार्किङ क्षेत्र विकास गर्नु हाम्रो जिम्मेवारी हो । हामी अब यो क्षेत्रमा बहुतले पार्किङ बनाउँछौं । फोहोर सकंलन र व्यवस्थापनमा गर्नुपर्ने कामहरु पनि छन् ।

विशेष गरी यो क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न पनि मैले पहल लिनेछु । सँगै ऐतिहासिक सम्पदाको सुरक्षा र संरक्षण गर्न र जनतालाई सहज सेवा प्रवाह गर्दै विकासका काम अघि बढाउने मेरो योजना छ ।

उदय चूडामणि बज्राचार्य, वडा नम्बर २१


काठमाडौको सबैभन्दा पिछडिएको क्षेत्र हो, वडा नम्बर २१ । त्यसैले यो वडालाई समृद्ध गर्ने गरी काम गर्ने मेरो योजना छ । सरसफाइको ठूलो समस्या छ, मेरो वडामा । पानीको समस्याले जनता पीडित छन् ।

अब हामी खानेपानीलाई पनि व्यवस्थित गर्छौं । वडा कार्यालयमा आउनेहरुलाई अप्ठेरो नपर्ने गरी आजको काम भोलि नभनी गर्ने गरी ब्यवस्था पनि मिलाउँछु । विकासका काममा ढिलाइ हुन दिन्न । हुनुपर्ने कामहरु जसरी भए पनि गर्ने हो ।

सडक, बत्ती, ढलमा पनि मैले विशेष काम गर्छु । अब जनताको मतको सम्मान हुने गरी काम गर्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment