Comments Add Comment

कनकाईका भावी मेयर भन्छन्-मापसे बन्द गरिन्छ, नगर बस कुदाइन्छ !

आपसमा गाली गलौज नगर्ने, एजेण्डा लिएर जनतामा जाने

२१ जेठ, झापा । साविक सुरुङ्गा र घैलाडुब्बा गाविस मिलेर ०७१ सालमा कनकाई नगरपालिका बनेको हो । प्रशस्त धार्मिक एवम् पर्यटकीय सम्भावना भएका कारण यो नगरपालिका चर्चित छ । यहाँ रहेको सुरुङ्गा बजार कहिल्यै बन्द नहुने सहरका रुपमा चिनिन्छ । जनताबीचको आपसी एकता र मेलमिलापको सधैँ प्रशंसा हुने गरेको छ सुरुंगामा ।

कनकाई धाम कोटीहोम, जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र, धनुषकोटी धाम इत्यादि कनकाई नगरपालिकाभित्र रहेका महत्वपूर्ण धार्मिक एवम् पर्यटकीय क्षेत्र हुन् ।

प्रशस्त धार्मिक र पर्यटकीय विकासको सम्भावनायुक्त क्षेत्र भएकाले यो नगरलाई ‘टुरिज्म सीटी’ का रुपमा अघि बढाउन सकिने सम्भावना छ ।

अर्को रोचक पक्ष के छ भने झापाको सुरुङ्गा बजार विकासको दृष्टिमा धेरै अगाडि नभएता पनि नागरिक सभ्यताको हिसाबले भने अरु ठाउँले समेत यहाँबाट सिक्ने स्थिति छ । यहाँका उम्मदेवारहरुले एक अर्कालाई गाली नगरी सकारात्मक एजेण्डा लिएर जनतामा जाने प्रतिवद्धता जनाएका छन् ।

पाँच पक्षीय प्रतिस्पर्धा

झण्डै दुई दशकपछि भइरहेको स्थानीय निर्वाचनमा अहिलेसम्मको स्थितिमा कनकाई नगरमा पाँच पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

नेपाली कांग्रेसबाट मेयरका लागि एकराज उप्रेती चुनावी मैदानमा छन् भने एमालेबाट राजेन्द्र पोखरेल, राप्रपाबाट केदार गिरी र स्वतन्त्रबाट भीमप्रसाद अधिकारी लड्दैछन् । अहिलेसम्म माओवादी केन्द्रले उम्मेदवारी घोषणा गरेको छैन ।

उप्रेती कांग्रेसभित्रका सन्तुलित तथा माथिल्लो तहमा लबिङ गर्न सक्ने नेताका रुपमा चिनिन्छन् । एमालेका पोखरेल ०४९ सालदेखि ०५४ सालसम्मका तत्कालीन सुरुङ्गा गाविसका निर्वाचित उपाध्यक्ष हुन् ।

राप्रपाका गिरी कनकाई र जामुनखाडी सामुदायिक वन उपभोक्ता संस्थाका संस्थापक अध्यक्ष एवं कनकाई बहुमुखी क्याम्पसका संस्थापक सदस्य हुन् । उनी राप्रपाका जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधि पनि हुन् ।

स्वतन्त्रबाट मेयर पदमा उठेका अधिकारी ०४९ र ०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनबाट अध्यक्षमा विजयी भएका चर्चित व्यक्ति हुन् । उनी नेकपा एमाले परित्याग गरी स्वतन्त्र बसेका छन् र अहिले मेयरमा उठ्दैछन् ।

कनकाई नगरपालिकाको मतदाता संख्या २५ हजार ७ सय २२ हो । यहाँ ३१ वटा मतदान केन्द्र छन् ।

के हुन् कनकाईका समस्या ?

ब्राह्मण, पहाडे तथा क्षेत्री समुदायको बाहुल्य रहेको कनकाई नगरपालिका झापाको विकाशोन्मुख नगर हो । पछिल्लो समय यो क्षेत्रले तीब्र रुपमा विकासको गति पछ्याइरहेको छ । उद्यपि, पर्याप्त भने छैन ।

सुकुम्बासी समस्यादेखि लिएर गुणस्तरीय प्राविधिक शिक्षालयको अभाव कनकाईको समुचित विकासका लागि टड्कारो समस्याका रुपमा खडा छ ।

यहाँ शुद्ध खानेपानी, विद्युत्, सिचाइँ, स्वास्थ्यलगायतका समस्या पनि छन् । स्तरीय स्वास्थ्य संस्था छैन ।

कनकाई र बिरिङ नदीको बीचमा रहेको यो नगरमा नदी नियन्त्रण राजनीतिक दलका ‘रेडिमेड’ एजेण्डा जस्तै हुन् । प्रायः छुट्टदैनन् । फोहोर व्यवस्थापन र ढल निकास पनि यहाँको प्रमुख समस्याको रुपमा रहेको छ । यस्ता समस्याहरुको कुरा गर्दा चाङै लाग्छन् । त्यसैले अब निर्वाचित हुने भावी मेयरको कार्यकाल चुनौतिपूर्ण हुने निश्चित छ ।

केही साझा एजेण्डाहरु

कनकाई नगरमा मेयर बन्ने दौडमा रहेका उम्मेदवारहरुका केही एजेण्डा समान भेटिए ।

सुकुम्बासी समस्या समाधानदेखि लिएर प्राविधिक शिक्षालयको स्थापना, सुविधासम्पन्न अस्पताल, हाई भोल्टेजसहितको बिजुली, स्वच्छ खानेपानी लगायतका मुद्दामा सबै उम्मेदवारको समान धारणा पाइयो ।

कनकाई र बिरिङ नदी नियन्त्रणको विषयमा पनि उनीहरु एक मत देखिए । सबैले नदी नियन्त्रणलाई प्राथमिकतामा राखेका छन् । सडक सञ्जाल विस्तार र फराकिला बाटाहरुलाई कालोपत्रे गर्ने विषयमा पनि उनीहरुको धारणा समान छ ।

सामाजिक सुरक्षा भत्ता घरमै पुर्‍याउने व्यवस्था मिलाइने पनि उनीहरुको दाबी छ । कनकाई नगरका विभिन्न क्षेत्रलाई समेट्दै रिङरोड बनाउने कुरा पनि कसैले छुटाएनन् ।

साझा एजेण्डाका अतिरिक्त मेयरका उम्मेदवारहरुले केही व्यक्तिगत एजेण्डा पनि अघि सारेका छन्ः

अधिकारीको योजनाः मद्यपान नियन्त्रणदेखि स्पिच कर्नरसम्म

स्वतन्त्रबाट मेयर पदका उम्मेदवार बनेका पूर्वगाविस अध्यक्ष भीमप्रसाद अधिकारीले प्रशासन, कर र खर्च प्रणालीमा पारदर्शिता आफ्नो प्रमुख एजेण्डा भएको सुनाए ।

स्थानीय तहलाई पारदर्शी बनाउन ‘चेक एण्ड ब्यालेन्स’ गर्ने संयन्त्रको निर्माण गर्ने उनले बताए ।

‘व्यवस्थित बस पार्कको निर्माण र मद्यपानको नियन्त्रण पनि मेरो कार्य योजनाभित्र पर्छ’, उनले भने, ‘विद्यालय स्तरमै मन्टेश्वरी शिक्षा र कला संगीत पारखीहरुका लागि पनि विशेष योजना छ ।’ नगरमा ठूलो समूहलाई भेला गराएर वृहत कार्यक्रम गर्नुपर्‍यो भने उपयुक्त ठाउँ नभएको भन्दै ‘स्पीच कर्नर’ बनाउने योजना रहेको उनको भनाइ थियो ।

सर्वसाधारण र सहकारीको साझेदारीमा उद्योगहरु स्थापना गर्दै रोजगारी सिर्जना गर्ने उनले बताए । साथै, सम्पूर्ण भौतिक संरचना अपाङ्गमैत्री बनाउने र सञ्चारगृहलाई पनि व्यवस्थित गर्ने लक्ष्य रहेको उनले जनाए ।

उप्रेतीको योजनाः एक घर, एक रोजगार !

कांग्रेसका उम्मेदवार एकराज उप्रेतीले नगर क्षेत्रमा बनाइने रिङ रोडमा नगर बस चलाउने अवधारण सुनाए । प्रत्येक वडामा कृषि उपज केन्द्र स्थापनादेखि लिएर जनस्वास्थ्य कार्यालयसम्म बनाउने कांग्रेसको योजना छ ।

‘नगरलाई बालमैत्री बनाउन पनि मेरो विशेष पहलकदमी हुनेछ’, उनले भने, ‘युवालाई फोकस गरेर एक घर एक रोजगारको नीति ल्याउनेछु ।’
त्यसैगरी गर्भवती महिलाको निःशुल्क उपचार र प्रत्येक वडामा ज्येष्ठ नागरिक चौतारी बनाउने आफ्नो योजना रहेको उनले सुनाए ।
भेदभावरहित नगर बनाउने पनि उनले घोषणा गरे । नगरमा पुस्तकालय बनाउने योजना पनि उनले अघि सारे । आफूले विभिन्न देशको भ्रमण गरेको भन्दै उनले विदेशी शैलीमा गाउँको विकास गर्ने योजना रहेको सुनाए ।

साथै, कनकाई नगरलाई प्रदेश नं. १ कै उत्कृष्ट नगरका रुपमा विकास गर्दै लगिने बताए । उनले कार्यकालभरि नेपाल सरकारको कुनै तलब तथा भत्ता समेत नलिने घोषणा गरे ।

पोखरेलको योजनाः चुस्त प्रशासनदेखि उज्यालो नगरीसम्म

एमालेबाट उम्मेदवार बनेका राजेन्द्रकुमार पोखरेलले चुस्त प्रशासन बनाउनेदेखि लिएर उज्यालो नगरी बनाउनेसम्मका योजना सुनाए । नगरको हरेक क्षेत्रमा सोलार बत्ती जडान गरेर विद्युत् भार बहनलाई कम गर्ने योजना रहेको उनले बताए ।

‘प्रजापति सामुदायिक वनदेखि लिएर गैंडे खाडी हुँदै रमिते डाँडाबाट धनुकोटी धामसम्म पुग्ने ट्रयाक र सुकेडाँगीमा होमस्टे बनाउने लक्ष्य छ’, उनले भने, ‘घैलाडुब्बामा रहेको कोच संस्कृतिको विशेष क्षेत्रलाई प्रवर्द्धन गर्न पनि विशेष योजना छ ।’

नगर क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयलाई प्रोत्साहन गर्न आर्थिक सहयोग गर्ने समेत उनले बताए । कनकाई नगरमा रङ्गशाला निर्माण गरेर नगरलाई खेलकुदको हब बनाउने उनले बताए । बन्द निषेधित क्षेत्रको रुपमा रहेको कनकाईमा उद्योग र कलकारखाना स्थापनका लागि पनि उचित वातावरण मिलाइने उनको भनाइ थियो ।

गिरीको योजनाः बेरोजगारी समस्या समाधानदेखि छात्रवृत्तिसम्म

राप्रपाबाट मेयर पदका लागि प्रतिस्पर्धामा होमिएका केदार गिरीले हिजो सरकारमा रहनेहरुले अझै पनि एउटै एजेण्डा लिइरहेको भन्दै जनतालाई उनीहरुले गरेका कामको बारेमा मुल्याङ्कन गरेर मात्र भोट हाल्न सुझाव दिए । पृष्ठभूमि हरेर मात्र भोट हाल्न उनको अनुरोध छ ।
आफू मेयरमा निर्वाचित भए बेरोजगारी समस्या समाधानदेखि लिएर कृषकलाई लक्षित गरेर स्थानीय स्तरमै सस्तो बजार स्थापना गर्ने लक्ष्य रहेको उनले सुनाए । गरीब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरेर प्रत्येक वर्ष ५ जनालाई छात्रवृत्तिको व्यवस्था पनि गरिने उनले बताए ।

उम्मेदवारका ६ बुँदे प्रतिवद्धता

कनकाई नगरका सबै उम्मेदवारले निर्वाचनलाई द्वन्द्वरहित बनाउनेसहित अन्य ६ बुँदे साझा प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

अघिल्लो साता सम्वाद समूह झापाले आयोजना गरेको छलफल कार्यक्रममा उनीहरुले निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने, कुनै पनि चुनावी एवम् राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने लगायतका प्रतिवद्धता जनाएका हुन् ।

आˆना गतिविधिलाई शान्तिपूर्ण, मर्यादित बनाउँदै निर्वाचनलाई द्वन्द्वरहित बनाउने, निर्वाचन प्रचार-प्रसारलाई तडक-भडकरहित कम खर्चिलो र मितव्ययी बनाउने, मतदाता शिक्षालाई प्रभावकारी बनाउन सहयोगी भूमिका निर्वाह गर्ने पनि उनीहरुको प्रतिबद्धता छ ।

त्यस्तै, सबै राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारहरुले एकअर्काको सह-अस्तित्व स्वीकारी आदर सम्मानपूर्वक व्यवहार गर्दै असल राजनीतिक संस्कारको विकास गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

छलफलको सहजीकरण सम्वाद समूहका सचिवालय सदस्य अधिवक्ता दीपेन्द्र भट्टराई, खगेन्द्र खरेल र पत्रकार एकराज गिरीले गरेका थिए ।
तस्बिर सौजन्यः विनोद पाण्डे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment