२१ जेठ, बुटवल । माओवादी केन्द्रले रुपन्देहीका १६ स्थानीय तहमध्ये १२ वटामा उम्मेदवार टुंगो लगाएको छ । बुटवल उपमहानगरपालिकासहित मायादेवी, कोठही र मर्चवारी गाउँपालिकामा उम्मेदवार टुंगो लाग्न बाँकी छ । समरी गाउँपालिकामा अध्यक्षको उम्मेदवार चयन गरिए पनि उपाध्यक्षको टुंगो लागेको छैन ।
माओवादी रुपन्देही जिल्ला इञ्चार्ज हकिकुल्लाह खाँले आगामी २४ गतेभित्र बाँकी स्थानीय तहमा पनि उम्मेदवार टुंगो लगाइने बताए ।
बुटवलमा तीनजना प्रस्ताव
माओवादीले बुटवल उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा ३-३ जनाको नाम सिफारिस गरेको छ । प्रमुखमा दयाराम न्यौपाने ‘एमएस’, रामप्रसाद बञ्जाडे ‘टंकमणी’ र जगत पोखरेल तथा उपप्रमुखमा कृष्ण पोखरेल, मञ्जु भुसाल र टीका वलीको नाम सिफारिस गरिएको छ ।
देवदह नगरपालिकाको प्रमुखमा नवराज पुरी र उपप्रमुखमा टीका गौतमलाई माओवादीले उम्मेदवार बनाएको छ ।
सिद्धार्थनगर नगरपालिका भैरहवामा फैज अहमद खाँ प्रमुख र कमला थापा उपप्रमुखको उम्मेदवार बनेका छन् ।
तिलोत्तमा नगरपालिकामा लक्ष्मण खनाल प्रमुख र राधिका पौडेल उपप्रमुखको उम्मेदवार बनेका छन् ।
सैनामैनामा चेतनारायण न्यौपाने र दिपिका शर्मा तथा लुम्बिनी साँस्कृतिक नगरपालिकामा हरिबहादुर यादव र कल्पना हरिजनलाई क्रमशः प्रमुख र उपप्रमुखको रुपमा माओवादीले अघि सारेको छ ।
माओवादीले जिल्लाका १० गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार पनि टुंगो लगाएको छ ।
गैंडहवा गाउँपालिकामा पुष्परतन पाण्डे र सरस्वती थारु, कञ्चनमा बिनोद कुमार पु्न र कुमारी घर्तीमगर, सियारीमा गोपाल पोखरेल र धनकुमार थारु, ओमसतियामा हिराबहादुर केवट र सुन्दरमति कुमारी हरिजन अध्यक्ष तथा उपाध्यक्षको उम्मेदवार बनेका छन् ।
यसैगरी शुद्धोधनमा गोबिन्द चौधरी र बिष्णु कार्की तथा रोहिणीमा प्रदीपकुमार पाण्डे र सरस्वती गुप्ता उम्मेदवार बनेका छन् ।
समरीमा शाहबुद्धिन देवान अध्यक्षको उम्मेदवार बने पनि उपाध्यक्षको नाम भने टुंगो नलागेको जिल्ला इञ्चार्ज खाँले जानकारी दिए ।
माओवादीले मायादेवी, कोठही, मर्चवारी गाउँपालिकामा भने उम्मेदवारको टुंगो २४ गतेभित्र लाग्ने जनाएको छ ।
एमाले ध्वंसात्मक प्रतिपक्षीः डिलाराम
उम्मेदवार घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य डिलाराम आचार्यले एमालेले सडकमा तमासा देखाएको आरोप लगाएका छन् ।
प्रधानमन्त्री चुनाव र निर्बाचन आयोगबिरुद्ध एमालेले गरेको बिरोध आपत्तीजनक भएको उनले टिप्पणी गरे । उनले भने, ‘एमाले जिम्मेवार प्रतिपक्षी बन्न सकेन । उसले ध्वंसात्मक प्रतिपक्षीको भूमिका देखायो । यो सरासर गलत हो ।’
कार्यक्रममा नेताहरु दयाराम न्यौपाने, रामप्रसाद बञ्जाडे लगायतले बोल्दै रुपन्देहीमा कुन पार्टीलाई जिताउने भन्ने चाबी माओवादी केन्द्रसँग मात्र रहेको बताएका थिए । माओवादी नेताहरुले चुनावी तालमेलबारे बिभिन्न दलहरुसँग छलफल भइरहे पनि निर्णय नभइसकेको बताए ।
प्रतिक्रिया 4