Comments Add Comment

केपी ओलीको गृहनगरमा २० वर्ष पहिलेकै उम्मेदवार !

दमक नगरपालिकामा साझा पार्टी र विवेकशील पनि झुल्किए

२२ जेठ, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर भएकाले दमक नगरपालिकाको चुनावलाई विशेष महत्वका साथ हेरिएको छ । यहाँको चुनावमा मुख्य राजनीतिक दलहरुदेखि विवेकशील नेपालीसम्म ७ पक्षीय प्रतिस्पर्धा हुँदैछ ।

दमकमा कांग्रेस र एमालेले मात्रै होइन, माओवादी र राप्रपाले पनि मेयरमा आफ्नो जित निकाल्ने दाबी गर्दै आएका छन्, जसले गर्दा यो नगरपालिकाको चुनावमा चौपक्षीय प्रतिस्पर्धा निकै तीब्र हुने अनुमान गरिएको छ ।

झापाको एक प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको दमक नगरपालिका ७ हजार ५ सय १३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यहाँको मतदाता संख्या ४६ हजार ५ सय २३ छ ।

इलाम र मोरङको सीमास्थलमा रहेको दमक नगरपालिकाको उत्तरमा इलामको चुलाचुली गाउँपालिका, दक्षिणमा झापाको गौरादह नगरपालिका, पश्चिमतिर मोरङको मधुमल्ला गाउँपालिका र उर्लाबारी नगरपालिका पर्छ । पूर्वतिर चुलाचुली र कमल गाउँपालिका पर्छ ।

दमक नगरपालिकामा ब्राह्मण, क्षेत्री, धिमाल, लिम्बु, राई, मगर, सतार, राजवंशी, थारु, मुस्लिम, सुनुवार, माझी लगायतका समुदायको उल्लेख्य बसोवास छ ।

पूर्वराजपरिवारको लगानी रहेको हिमालय चिया स्टेट पनि यही नगरपालिकाभित्र पर्छ ।

२० वर्षपछि पनि एउटै अनुहार

पूर्वप्रधानमन्त्री समेत रहेका केपी ओलीको गृह नगर भएकाले आसन्न स्थानीय निर्वाचनमा एमालेलाई यहाँ जित्नै पर्ने दबाव छ । विगतको स्थानीय निर्वाचनको नतिजालाई हेर्ने हो भने ०५४ सालमा एमाले उम्मेदवार रोमनाथ ओलीलाई राप्रपाका राम थापाले टक्कर दिएका थिए ।

रोमनाथ ओली

रोचक के छ भने २० पछिको चुनावमा पनि उनै रोमनाथ र रामवीच प्रतिस्पर्धा हुँदैछ । झण्डै २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनको मेयरमा फेरि एउटै अनुहार दोहोरिएको छ । एमाले र राप्रपाले तिनै रोमनाथ र रामलाई उम्मेदवार बनाएका छन् । दुवै पूर्वमेयर समेत हुन् ।

अझै पनि दमकमा राप्रपाको ‘राम्रै’ उपस्थिति मानिएकाले यहाँ राप्रपा पनि बलियो रुपमा आउने बताइन्छ । थापालाई राप्रपाले दोस्रो संविधानसभाको निर्वाचनमा क्षेत्र नं. ७ बाट उम्मेदवार बनाएको थियो । जहाँ केपी ओलीसँगको प्रतिस्पर्धामा राप्रपा तेस्रो स्थानमा आएको थियो ।

केपी ओलीले १९ हजार २ सय ८७ मत ल्याउँदा कांग्रेसले ११ हजार ४१ मत पाएको थियो भने अहिले मेयरमा उठेका राप्रपाका राम थापाले ९ हजार ३ सय ३५ मत पाएका थिए । चौथो स्थानमा रहेका माओवादी केन्द्रका गोपाल किरातीले यो क्षेत्रमा ८ हजार ८ सय २ मत ल्याएका थिए ।

केपी ओलीले पार्टीको मात्रै नभएर व्यक्तिगत मतसमेत पाएका कारण अरुको भन्दा बढी देखिए पनि यसपालिको चुनावमा दमकमा एमाले, कांग्रेस, राप्रपा र माओवादीभित्र समानान्तर प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

सात उम्मेदवार, चौपक्षीय प्रतिस्पर्धा

हालसम्मको अवस्था हेर्दा दमकको मेयरमा ७ पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसबाट ढुण्डीराज भण्डारी, एमालेबाट रोमनाथ ओली, माओवादी केन्द्रबाट गगन पुरी, राप्रपाबाट राम थापा चुनावी मैदानमा छन् ।

ढुण्डीराज भण्डारी

त्यसैगरी विवेकशील नेपलाीबाट सवास सुवेदी, साझा पार्टीबाट अर्जुन बुढाथोकी र संघीय समाजवादीबाट सतिस साहसमेत दमकको मेयरका लागि चुनावी मैदानमा उत्रिएका छन् ।

यहाँ मुख्य प्रतिस्पर्धा भने कांग्रेस, एमाले, माओवादी र राप्रपाबीच नै हुने स्थानीयको विश्लेषण छ ।

कांग्रेसबाट उम्मेदवार बनेका भण्डारी ०४६ सालमा नेविसंघबाट विद्यार्थी राजनीति प्रारम्भ गर्दै विभिन्न तहमा जिम्मेवारी बहन गर्दै कांग्रेसको मूलधारको राजनीतिमा आएका हुन् । हाल उनी कांग्रेसका क्षेत्रीय सभापति छन् ।

चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा छाडेर ०६२ सालदेखि माओवादी केन्द्रमा आवद्ध भएका मेयरका दाबेदार रेवतराज पुरी ‘गगन’ हाल माओवादीका पार्टीका केन्द्रीय सदस्य छन् ।

 

रेवतराज पुरी ‘गगन’

दमकका समस्या के हुन् ?

दमकको प्रमुख समस्या भनेको अव्यवस्थित सहर नै हो । रतुवा र मावा खोलाको बीचमा रहेको दमकमा नदी नियन्त्रण सदाबहार राजनीतिक दलको एजेण्डा बन्ने गरेको छ । स्वयम् केपी ओलीले पनि रतुवा नदीको तटबन्धन गर्न ‘रतुवा खोलालाई पाता कस्ने’ भन्दै ०७० सालको चुनावमा भोट मागेका थिए ।

पर्यटन र उद्योग धन्दालाई व्यवस्थित गर्न नसक्नु दमकको अर्को मुख्य चुनौति हो । झापाको दमकबाट पाँचथरको रवि हुँदै उत्तरी इलामको राँके जोड्ने फाल्गुनन्द मार्ग पनि यहाँको विकासका ढोका हो । अव्यस्थित बाटो दमकको विकासका लागि टड्कारो समस्या बनेको छ ।

यहाँ खानेपानीको समस्या पनि उस्तै छ । नगरका हरेक वडाका नागरिकले स्वच्छ खानेपानी पाएका छैनन् । ढल निकासीको समस्या छ । बजार अव्यवस्थित छ ।

औद्योगिक नगर बनाउन भर्खरै मात्र पहलकदमी भएको छ । समग्रमा नगर भए पनि दमक अहिल्यै गाउँको परिवेशबाट मुक्त नभएको स्थानीय राजनीतिज्ञ नै बताउँछन् ।

उम्मेदवारका केही साझा एजेण्डा

दमक नगरमा मेयर बन्ने होडमा रहेका सबै उम्मेदवारहरुको केही एजेण्डामा समान धारणा भेटिए । नगर क्षेत्रमा व्याप्त बेरोजगारी समस्यालाई उद्योग तथा कलकारखाना स्थापना गरी कम गर्ने उनीहरुको योजना थियो ।

सुकुम्बासीको समस्या समाधान गर्न उनीहरु अग्रसर देखिए । विद्युत्, अव्यवस्थित सहर, ढल निकास, खानेपानी लगायतका विषयमा उनीहरुको एजेण्डा एकै प्रकृतिका भेटिए ।

दमकमा विश्वकै अग्लो बुद्धको मुर्ति र मोफसलमै पहिलो आकाशे पुल लगायतका योजनाहरु भएकाले पर्यटकीय र औद्योगिक नगरका रुपमा विकास गर्न गर्न सकिने उनीहरुको धारणा छ । त्यसैगरी वैज्ञानिक शिक्षा प्रणाली भित्र्याउने, स्थानीय प्रशासनमा सुशासन कायम गर्ने, भ्रष्टाचार निर्मुल गर्ने, बृद्ध भत्ता घर-घरमा पुर्‍याउने लगायतका कुरा उम्मेदवारहरुका साझा एजेण्डा थिए ।

नदी नियन्त्रणको विषयमा सबै उम्मदेवारहरु एकमत देखिएका छन् ।

कांग्रेसको योजनाः स्मार्ट सिटीदेखि जर्मनी रुखसम्म !

कांग्रेसबाट उम्मेदवार बनेका ढुण्डीराज भण्डारीले ‘एक घर एक रोजगार’ को अवधारणदेखि लिएर नगरलाई स्मार्ट सिटी बनाउनेसम्मको योजना सुनाए ।

‘म मेयरमा निर्वाचित भए भने नगरभर वाइफाई जोन राख्छु,’ उनले भने, ‘चोकचोकमा इन्टरनेट राखेर स्मार्ट सिटी बनाउँछु ।’

नगरवासीको प्रतिव्यक्ति आयको सर्वेक्षण गर्दै त्यसको प्रोफायल बनाएर त्यसलाई दोब्बर बनाउने भण्डारीले घोषणा गरे । त्यसका लागि आफूसँग विशेष योजना रहेको उनको भनाइ थियो । दमक नगरमा रिङ रोडको अवधारणा ल्याई नगर बस सञ्चालन गर्ने योजना रहेको समेत उनले सुनाए ।

साथै, उनले नगर क्षेत्रमा रहेका दुई नदीलाई नियन्त्रण गर्न रिङ रोडको वरिपरि जर्मनी रुख रोपिने बताए । ‘जर्मनमा १५ फिटमुनिसम्म जरा पुग्ने रुख रोपेको देखेको छु,’ उनले भने, ‘खोलाको तिरैतिरबाट सुरु भएको रिङरोडभरि रुख रोपेर नदी नियन्त्रण गरिनेछ ।’

उनले नगरप्रमुख बनेपछि कुनै तलब भत्ता नलिने घोषणासमेत गरे ।

एमालेको योजनाः नलेज बैंकदेखि भ्यू टावरसम्म !

एमालेबाट उम्मेदवार बनेका रोमनाथ ओली पार्टी अध्यक्ष केपी ओलीले दमकका लागि अघि सारेका सबै योजनालाई निरन्तरता दिने बताउँछन् । भौतिक पूर्वाधार विकासमा रिङ रोडको अवधारणादेखि लिएर मासु परीक्षण गर्ने व्यवस्था मिलाउनेसम्मको योजना रहेको उनले सुनाए ।

मानव संशाधन विकासका लागि महिला सशक्तीकरण, खेलकुद, मनोरञ्जन, बाल सशक्तीकरण, बालविकास लगायतको कुरा आफूहरुले उठाएको उनले बताए । ज्येष्ठ नागरिक चौतारीदेखि लिएर पिछडिएका समुदायका लागि समेत आफूले महत्वपूर्ण काम गर्ने योजना रहेको उनले बताए ।

बौद्धिक वर्गका लागि ‘नलेज बैंक’को स्थापना गर्ने योजना रहेको उनले बताए । यसरी यहाँ रहेका सबै बौद्धिक वर्गलाई दमकको हितमा प्रयोग गर्ने योजना रहेको उनले बताए । मानव स्वास्थ्य र रक्षाका लागि प्लाष्टिकजन्य पदार्थको नियन्त्रण -झोलादेखि चिया खाने कपसम्म) गर्ने योजना रहेको उनले सुनाए ।

साथै, मानव स्वास्थ्य सचेतना कार्यक्रमदेखि लिएर सिमसार र वातावरण संरक्षणको कुरा आफूहरुले उठाएको उनले बताए । दमकको विकास लागि विश्वको अग्लो बुद्धको मूर्ति, दमक भ्यू टावर, औद्योगिक पार्क, फाल्गुनन्द सभाहल जस्ता विषयलाई अघि सारिने उनले बताए ।

माओवादीको योजनाः त्रिदेशीय सडकदेखि अन्तर्राष्ट्रिय प्रविधिसम्म

माओवादी केन्द्रबाट मेयरमा उम्मेदवार बनेका रेवतराज पुरी ‘गगन’ले आफूलाई जनताले विश्वास गरे दमकलाई देशकै सम्वद्ध सहर बनाउने दाबी गरे ।

दमकदेखि रवि सडकलाई दुई वर्षभित्रमा पूरै कालोपत्रे गरेर भारत र चीनसँग जोड्ने गरी त्रिदेशीय सडकको रुपमा विस्तार गर्ने योजना रहेको उनले बताए । दमकलाई भारत, चीन, पहाड र मधेसबीच व्यापारको ट्रान्जिट पोइन्ट बनाएर विकास निर्माणका कामलाई अघि बढाइने उनले बताए ।

दमकलाई बन्दमुक्त बनाउन पनि आफूले भूमिका खेल्ने उनले बताए । उत्पीडित आदिवासी, जनजाति, महिला, मुस्लिम र गरीब वर्गलाई सक्षम बनाउन आर्थिक प्याकेज ल्याइने उनको भनाइ थियो ।

दमक विकास मञ्च गठन गरी चीनको बेइजिङ, जापानको टोकियो, अमेरिकाको वासिङटन, भारतको नयाँ दिल्ली लगायतका अन्तर्राष्ट्रिय शक्तिशाली सहरहरुसँग भगिनी सम्बन्धको विस्तार गरी यहाँ अन्तर्राष्ट्रिय स्तरको प्रविधि भित्र्याउने योजना रहेको उनले सुनाए । दमकलाई अन्तर्राष्ट्रिय स्तरको सहर बनाउने योजना रहेको पुरीले सुनाए ।

साथै, दमकलाई उपमहानगर बनाउन विशेष पहल गर्ने योजना रहेको उनले बताए । उनले अर्को पटक प्रमुखमा नउठ्ने प्रतिवद्धतासमेत व्यक्त गरे । साथै मेयर बनेपछि तलब भत्ता पनि नलिने उनले घोषणा गरेका छन् ।

राप्रपाको योजनाः चन्दा आतंक अन्त्यदेखि घर-घरमा वृद्धभत्ता

राप्रपाबाट मेयरका लागि उम्मेदवार बनेका राम थापाले नमुना नगर बनाउन विशेष कदम चालिने बताए । विजुली, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा विशेष योजना ल्याई सर्वसाधारणको जीवन स्तर उकास्ने योजना रहेको उनले सुनाए ।

बेरोजगारी समस्या समाधानका लागि पनि उद्योगधन्दाको स्थापना गर्ने लक्ष्य रहेको उनले बताए । व्यवस्थित सहर बनाउनेदेखि लिएर वृद्धभत्ता घरमै पुर्‍याउनेसम्मको योजना उनले सुनाए ।

साथै, बजारमा व्याप्त चन्दा आतंक अन्त्यदेखि अनावश्यक करको झञ्झटबाट मुक्ति दिलाउने थापाले बताए । पार्टीभन्दा माथि उठेर निष्पक्ष रुपमा काम गर्ने उनले बताए । नगरलाई शासन गर्ने थलो नभई सेवा गर्ने थलोको रुपमा विकसित गरिने थापाको भनाइ छ ।

अन्य दलका यस्ता छन् योजना

काठमाण्डौंमा रञ्जु दर्शना र किशोर थापाले ल्याएको मतबाट हौसिएका विवेकशील नेपाली र साझा पार्टीले यहाँ पनि उम्मेदवार उठाएका छन् । विवेकशीलबाट सुवास सुवेदी र साझा पार्टीबाट अर्जुन बुढाथोकी छन् ।

सुवेदीले आफूले जनताको माझबाट सपना संकलन गरी त्यसलाई कार्ययोजना बनाउने उनले बताए । साथै, स्थानीय प्रशासनलाई चुस्त दुरुस्त एवम् पारदर्शी बनाउने आफ्नो पहिलो कदम हुने उनले बताए । उनले दमकलाई बन्दमुक्त बनाएरै छाड्ने प्रणसमेत गरे ।

साझा पार्टीका उम्मेद्वार अर्जुन बुढाथोकीले औषधि पसलभन्दा सूर्ति पसल बढी भएको भन्दै त्यसको नियन्त्रणमा गरिने बताए । साथै, दमकमा एकीकृत नमूना बस्ती बनाउने एजेण्डासमेत उनले अघि सारे ।

संघीय समाजवादी फोरमका उम्मेद्वार सतिस साहले सुशासन, एकता, विकास र निस्पक्षताका लागि आˆनो उम्मेद्वारी रहेको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment