Comments Add Comment

थवाङमा चुनावी उत्साह, विप्लव समूह पनि चुनाव लड्ने तयारीमा !

सात सालपछि पहिलोपटक थवाङ पस्यो कांग्रेस

रोल्पाको ऐतिहासिक थवाङ गाउँ । तस्वीर: कुलदिप न्यौपाने ।

२३ जेठ, काठमाडौं । दोस्रो संविधानसभा निर्वाचनमा एउटा पनि मत नखसेको रोल्पाको थवाङमा अहिले चुनावी उत्साह छ । चुनाव बहिष्कारको नीति अवलम्बन गर्दै आएका थवाङ्गी जनता गाउँमै आएको सिंहदरवारको अधिकार भरपुर उपयोग गर्ने मानसिकतामा छन् ।

पहिलो चरणको चुनाव बहिस्कार गरेको विप्लव नेतृत्वको नेकपासमेत थवाङमा यसपटक चुनाव लड्ने दबावमा छ । नेकपाले निर्वाचन आयोगमा दल दर्ता गराएको छैन । त्यसैले नेकपा स्वतन्त्ररूपमा चुनाव लड्ने विश्वास अन्य दलहरूले गरेका छन्।

तर थवाङका विप्लव समूहका नेता हितप्रसाद रोकाले भने त्यसलार्इ इन्कार गरे । उनले अनलाइनखबरसँग भने, ‘स्थानीय चुनाव संसदीय चुनाव जस्तो होइन । यो त गाउँ कसरी बनाउने भनेर प्रत्यक्षरुपमा जनतासँग सरोकार राख्ने भएकाले बहिस्कार नगरिदिए हुन्थ्यो भन्ने चाहाना त यहाँका जनताको छ तर अहिलेसम्म चुनाव लड्ने तयारी हाम्रो छैन ।’

आफूहरु केन्द्रीय निर्देशनको पर्खाइमा रहेको उनले बताए । ‘पार्टीले बहिस्कार गर भन्यो भने बहिस्कार गर्ने हो । अहिलेसम्मको नीति बहिस्कार गर्ने भन्ने नै छ । हामी निर्देशनको पर्खाइमा छौं,’ रोकाले भने ।

पहिलोपटक थवाङ पस्यो कांग्रेस

रोल्पाको थवाङ गाउँपालिकामा मिरुल, उवा र थवाङ गाविस समेटिएका छन् । गाउँपालिकाको केन्द्र थवाङ नै तोकिएको छ । मिरुल र उवामा अरु पार्टीको उपस्थिति भए पनि थवाङमा माओवादीको पकड छ । थवाङ माओवादीको आधार क्षेत्र हो । पछिल्लो पटक विप्लव नेतृत्वको नेकपाको प्रभाव बलियो छ ।

थवाङ गाउँ कम्युनिष्टको गढ मानिन्छ ।

थवाङमा कांग्रेस, एमाले, माओवादी, जनमोर्चा र राप्रपा राष्ट्रवादी छन् । थवाङमा कांग्रेसले बमबहादुर रोकालाई अध्यक्ष र श्रीकुमारी रोकालाई उपाध्यक्ष तथा एमालेले हितबहादुर रोकालाई अध्यक्ष र धनकुमारी बुढामगरलाई उपाध्यक्ष पदको उम्मेदवार बनाएका छन् ।

यसैगरी माओवादी केन्द्रले उवाका बीरबहादुर घर्तीमगर ‘वियोग’लाई थवाङ गाउँपालिकाको अध्यक्ष र रामकिरणी रोकामगरलाई उपाध्यक्षको उम्मेदवार चयन गरेको छ ।

जनमोर्चाको तर्फबाट रेजमान बुढा र मनकुमारी घर्तीमगरको चर्चा छ ।

रोल्पाको थवाङ माओवादीको आधार क्षेत्र हो । माओवादी बाहेक मोहनविक्रम सिंह नेतृत्वको जनमोर्चाको पकड कांग्रेस-एमालेभन्दा तुलनात्मक रुपमा राम्रो मानिन्छ ।

स्थानीय चुनावलाई लक्षित गरी कांग्रेस ००७ सालपछि पहिलो पटक थवाङ पसेको छ । एमालेले संगठन निर्माण लगायतका गतिविधि जारी राखेको छ ।

कांग्रेस रोल्पाका सभापति एवम् सांसद अमरसिंह पुनले अनलाइनखबरसँग भने, ‘थवाङ अब पहिलेको जस्तो छैन । जनताको अधिकारसँग प्रत्यक्ष जोडिएकाले स्थानीय चुनावलाई भरपूर उपयोग गर्ने पक्षमा देखिएका छन् ।’

थवाङमा कांग्रेसको संगठन नभए पनि नयाँ नेतृत्व चयन गर्न आफूले समन्वयकारी भूमिका खेलिरहेको उनले बताए । ‘सात सालदेखि नै हाम्रो उपस्थिति थवाङमा थिएन । सबै मिलेर चुनाव सफल पारौं भनेर हामी पहिलोपटक थवाङ पसेका छौं,’ पुनले भने, ‘बिचार जहाँ भए पनि म आफै थवाङको नेतृत्व चुन्न समन्वयकारी भूमिका खेलिरहेको छु ।’

कम्युनिष्टको गढ मानिने थवाङका बासिन्दाले पहिलो चरणको चुनाव अघि कांग्रेसका स्थानीय नेता कमल रोकालाई फूलमालाले स्वागत गरेका थिए । थवाङ्गी जनताको आग्रहअनुसार नै आफू थवाङ पुगेको बताउने रोकाले अहिले सबै राजनीतिक दलका जनता स्थानीय चुनावलाई सफल पार्ने अभियानमा लागेको बताए ।

एमाले थवाङका नेता हितबहादुर रोकाले पनि स्थानीय चुनावलाई सफल पार्न आफूहरु उत्साहपूर्वक लागेको बताए । रोकाले भने, ‘यो अपूर्व अवसर सदुपयोग गर्न हामी आतुर छौं । निष्पक्ष भयरहित चुनावबाट थवाङको बिकास गर्ने सही नेतृत्व चुनिनुपर्छ भन्ने चाहान्छौं ।’

रोल्पा सुलिचौरका हितबहादुर रोका पार्टी निर्माण गर्नकै लागि थवाङमा घरजम गरेर बसेको बताउँछन् । उनकै पहलमा एमाले रोल्पाले सांसद गोकुल घर्तीको सहभागितामा केहि महिना पहिले कार्यकर्ता प्रशिणक्ष कार्यक्रमसमेत गरेको छ । थवाङमा एमालेले कमिटी गठन गरेको करिब एक वर्ष जति भएको छ ।

थवाङको चुनाव इतिहास

राजनीतिक आस्था जसको जता भएपनि थवाङ्गी जनता विशेष राजनीतिक परिस्थितिमा एकताबद्ध भएको इतिहास छ ।

२०१५ सालको चुनावको सबै भोट खगुलाल गुरुङको पक्षमा खसेको थियो । त्यतिबेला रोल्पाको भूगोल प्युठान जिल्लामा थियो । २०२६ सालमा प्युठान र रोल्पा अलग-अलग जिल्ला भएपछि खगुलाल प्युठानमा बस्दै आएका छन् ।

२०३६ सालमा सतप्रतिशत मत बहुदललाई खसालेका थवाङ्गी जनताले २०३८ सालमा भने रित्तो मतपेटिका फिर्ता गरिदिएका थिए ।

२०४८ सालको आम निर्वाचनमा तत्कालीन जनमोर्चाका नेता कृष्णबहादुर महरालाई थवाङ्गी जनताले जिताए । माओवादीको बैधानिक मोर्चा थियो जनमोर्चा ।

२०५१ मा ४ मत मात्र खसेको थवाङमा २०५४ सालमा चुनाव नै हुन नसकेपछि सदरमुकाम लिवाङबाटै अध्यक्ष र उपाध्यक्ष विजयी घोषणा गरिएको थियो ।

२०५६ को निर्वाचनमा थवाङबाट २ मतमात्र खस्यो । त्यो मत हेलिकप्टरबाट चुनाव गराउन पुगेका कर्मचारीहरुको थियो । मतपेटिका रित्तो नफर्काउने भन्दै कर्मचारीहरुले भोट हालेर फर्किएका थिए ।

२०६४ सालमा भएको पहिलो संविधानसभा चुनावमा सबै मत माओवादी अध्यक्ष प्रचण्डलाई दिएका थिए थवाङबासीले । शान्ति प्रक्रियालगत्तै भएको पहिलो संविधानसभा चुनावमा प्रचण्ड रोल्पा र काठमाडौंबाट विजयी भएका थिए । प्रचण्डले रोल्पा छाडेर काठमाडौं रोजेपछि भएको उपनिर्वाचनमा माओवादीका सन्तोष बुढामगर विजयी भए । बुढामगर हाल विप्लव समूहमा छन् ।

२०७० सालको दोस्रो संविधानसभा चुनाव भने थवाङबासीले बहिस्कार गरे । माओवादी बिभाजनपछि निराश बनेका उनीहरुले एक मत पनि नखसालेर नेतृत्वप्रति आक्रोश पोखे ।

हरेक राजनीतिक परिवर्तनलाई नजिकबाट नियाल्दै आएका थवाङ्गी जनता यसपटक भने चुनावलाई उपयोग गर्ने मनस्थितिमा छन् ।

थवाङ गाउँपालिकाका माओवादी नेता ऋषि केशव बुढा भन्छन्, ‘यसपटक थवाङ्गी जनता चुनाव बहिस्कारको पक्षमा छैनन् । आम जनतालाई रोक्ने सम्भावना पनि मैले देखेको छैन ।’

विप्लव समूहका थवाङका नेता हितप्रसाद रोकाले चुनाव बहिस्कार गर्ने कि नगर्ने भनेर छलफल र अन्तर्क्रिया भइरहेको बताए । उनले भने, ‘केही पर्सेन्ट जनताले बहिस्कार गर्नु हुँदैन, बहिस्कार गरेपछि सेवा सुविधाबाट झन् बन्चित भइन्छ भनेका छन् । हामी गाउँको नेता छान्ने चुनाव बहिस्कार गर्ने कि नगर्ने भनेर छलफल र अन्तर्क्रिया गरिरहेका छौं । अहिलेसम्म चुनाव लड्ने मनस्थिति हाम्रो छैन । ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment