Comments Add Comment

खानेपानी मन्त्रीबाट विदाई हुँदै शाहीले भने- मन्त्रालयको नाम फेरौं

'कर्मचारीमात्रै होइन मन्त्री सरुवाको परम्परा बसाएँ'

२३ जेठ, काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले मन्त्रालयको नाम फेर्न धारणा राखेका छन् । पानी मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिने भएकाले ‘स्वास्थ्य, खानेपानी तथा सरसफाई मन्त्रालय’ नाम राख्नुपर्ने धारणा शाहीको छ ।

मंगलबार मन्त्रालयबाट विदाई हुँदै गर्दा मन्त्री शाहीले मन्त्रालय पुनर्संरचना गर्दा खानेपानी मन्त्रालयको अस्तित्व मेटाइएको भन्दै कार्यदललाई स्वास्थ्य, खानेपानी तथा सरसफाई मन्त्रालय बनाउन सुझाव दिएको बताए ।

मंगलबार मन्त्रालयबाट विदाइ हुँदा आफूलाई कुनै दुःख नलागेको मन्त्री शाहीले बताए । उनले भने, ‘लोकतान्त्रिक प्रक्रियामा सरकार गठन हुने र भंग हुने क्रम भइहन्छ । आफू मन्त्री बन्दा पनि यति समयका लागि भएको हो भन्ने थाहा थियो । त्यसैले यसलाई नियमित प्रक्रियाको रुपमा लिएको छु ।’

हुम्ला जस्तो गाडी पनि नपुगेको दुर्गम जिल्लाबाट मन्त्री हुन पाउनु आफ्नो क्षेत्रका लागि सबैभन्दा ठूलो कुरा भएको भन्दै उनले भने, ‘मन्त्रालय आमाको दाइजो र बाबुको अंश होइन । मन्त्री आउने-जाने क्रम नियमित हो ।’

आफूले मन्त्री सरुवाको रेकर्ड पनि राखेको उनले बताए । पर्यटन मन्त्रालयबाट खानेपानी मन्त्रालयको जिम्मेवारी दिएर पठाइएका शाहीले भने, ‘कर्मचारीमात्र हैन मन्त्री पनि सरुवा गर्ने परम्परा बसाएँ ।’

मन्त्री शाहीले भ्रष्टाचार सुधार गर्ने हो भने राजनीतिक नेतृत्वबाट सुरुवात गर्नुपर्ने बताए । उनले भने, ‘मुहान सफा भए खोला पानी हुन्छ ।’

खानेपानी मन्त्रालायबाट आफू विदा भए पनि नियमित कामकाजलाई जारी राख्न उनले कर्मचारीहरुलाई आग्रह गरे । विशेष गरी मेलम्चीको पानी समयमै ल्याउन काममा गति दिन सुझाव दिएका थिए । लगातार प्रयास गर्दा मेलम्चीको मुहानको हेडवर्क्स एक वर्षमा पनि बन्दैन भन्नेलाई डेढ महिनामै काम सम्पन्न गरेर आफूले जवाफ दिएको भन्दै उनले दुई वर्षभित्र प्रत्येक नागरिकलाई आधारभूत खानेपानीको अधिकार हुने मौलिक हकको व्यवस्था पनि गरेको बताए । २२ अर्बले यो लक्ष्य पूरा गर्न नसकिने स्पष्ट पार्दै उनले त्यसका लागि एक खर्ब बजेट आवश्यक पर्ने बताए ।

शाहीले हरेक स्थानीय तहमा १ करोड बजेट सिधै पठाइएकाले यसले स्थानीय खानेपानी समस्या सम्बोधन गर्ने बताए ।

एक घर एक धारा र एक घर एक चर्पी कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाइएको भन्दै उनले यसले खानेपानी र सरसफाइको क्षेत्रमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।

शाहीले मुलुकको आर्थिक विकास र समृद्धिका लागि हाइड्रोपावर र टुरिजम क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा राज्यमन्त्री दीपक खड्काले मन्त्रालयमा बसेर अनुभव बटुल्ने मौका पाएको बताए ।

मन्त्रालयका सचिव भीम उपाध्यायले मन्त्रीको पहलमा ३ अर्ब बजेट थपिएको, मन्त्रालयमा नीतिगत र व्यवहारिक सुधार भएको भन्दै मन्त्री शाहीको प्रशंशा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment