२९ जेठ, काठमाडौ । कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले आयोजना गरेको एकदिने राष्ट्रिय अनुसन्धान भेला आइतबार सम्पन्न भएको छ ।
‘आयुर्वेद, परम्परागत चिकित्सा, औषधिमा प्रयोग हुने जडिबुटी तथा अन्य स्रोतहरुको बारेमा नेटवर्किङ तथा सहकार्य’ विषयक भेलामा विभिन्न संस्थाहरुका प्राध्यापक, विज्ञ लगायत सरकारी निकायका ५० जना वैज्ञानिक तथा अनुसन्धानकर्ताको सहभागिता रहेको थियो ।
भेला उद्घाटन गर्दै स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. किरण रेग्मीले नेपालमा रहेका अनुसन्धानरत संघसंस्था तथा केन्द्रहरुले आफ्नो क्षेत्रबाट विभिन्न अनुसन्धान गर्दै आएपनि आगामी दिनमा समन्वयात्मक रुपमा कार्ययोजना अगाडि बढाउन सुझाव दिएकी थिइन् ।
त्यसैगरी भेलालाई सम्बोधन गर्दै आयोजक केन्द्रका कार्यकारी निर्देशक डा. सिद्धार्थ कुमार ठाकुरले केन्द्रको अनुसन्धानका लागि विभिन्न योजना एवं तयारी कार्ययोजना प्रस्तुत गरेका थिए ।
कार्यक्रमका संयोजक तथा केन्द्रका अध्यक्ष डा. ऋषि कोइरालाले यो कार्यक्रम एक प्रारम्भिक अभियान मात्र भएकाले विभिन्न चरणवद्ध अन्तरक्रिया गोष्ठी केन्द्रले गर्दै लैजाने बताए ।
कार्यक्रममा संघसंस्थाका सहभागीहरुले देशलाई योगदान दिने खालको अनुसन्धान गतिविधि गरिनु पर्ने, त्यस कार्यका लागि एउटै छाता संस्था बनाई कार्ययोजना अनुसार अघि बढ्न जरुरी रहेको धारणा राखे ।
कार्यक्रममा अनुसन्धान सत्रको अध्यक्षता गर्दै काठमाडौं विश्वविद्यालयका प्रा. डा. सुुवोध शर्माले वौद्धिक सम्पदा अधिकार विषयमा काठमाडौं विश्वविद्यालयमा जुनको १७ देखि २० सम्म कार्यक्रम हुन गइरहेको जानकारी दिँदै अनुसन्धानका क्षेत्रमा अझै विस्तृत छलफल र अन्तक्रिया गर्दै जाने बताए ।
भेलामा नेपाल अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. अञ्जनी कुमार झा, तथा औषधि व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा नारायण श्रेष्ठ लगायतको समेत सहभागिता रहेको थियो ।
भेलामा विभिन्न संस्थाहरुले आफ्ना अनुसन्धान उद्देश्य, गतिविधि तथा समन्वयात्मक सुझावहरु सम्बन्धी प्रस्तुती राखेका थिए । प्रस्तुतीको आधारमा सम्पूर्ण सहभागीहरुले ‘हामीले के गर्यौं, अबको बाटो के’ भन्ने विषयमा आफ्ना भनाई तथा प्रश्नहरु राख्दै अनुसन्धान समन्वयनलाई उत्कर्षमा पुर्याउनुपर्नेमा जोड दिएका थिए ।
आयुर्वेद, परम्परागत शीप, जडीबुटी तथा बायोटेक्नोलोजी विषयमा राष्ट्रियस्तरमा पहिलोचोटि प्रयास यस केन्द्रबाट गरिएको हो ।
प्रतिक्रिया 4