Comments Add Comment

तीजको गीतमा व्यस्त पशुपतिदेखि कोमल वली

हरेक बर्ष तीजको अवसरमा ३ करोड भन्दा बढी गीतमा लगानी हुन्छ । तर, तीजको लगानी बालुवामा पानी जस्तै भएको छ । बजारमा आउने सय बढी गीतमा एकाध गीत मात्र हिट हुन्छन् । पहिले पहिलेका गीतमा नेपाली समाजका दुख र पीर समावेश हुन्थ्य । तर, अहिले तीजको गीतमा उच्छृङ्खलता भित्रिएको छ ।

तर, पनि तीजको गीत बजारमा निकाल्न भने तछाड मछाड गर्छन् गायक-गायिका । यतीमात्र होइन, तीजको गीत निकालेर भिडियो पनि बनाउनै पर्‍यो । एउटै गीतमा १ लाख भन्दा बढी खर्च गरेर धेरै त डुबेका छन् । केहीको व्यस्तता भने बढेको छ ।

यसपटकको तीजमा थोरै गीत गाउने योजनामा थिए गायक पशुपति शर्मा । आफ्नै शब्द, स्वर र संगीतमा मात्रै गाउने पशुपति नचाहँदा नचाहँदै पनि १८ गीत गाउन वाध्य भए । ‘घटाऔं भनेको यसपाली त झन बढ्यो । १८ गीत गाउनुपर्ने भयो ।’ अनलाइनखबरसँग कुरा गर्दै पशुपतिले भने ।

१८ मध्ये उनले ७ वटा गीत रेकर्ड गरिसकेका छन् । असारको पहिलो हप्तासम्म सबै गीत गाईसक्ने लक्ष्य उनको छ । ‘दिनमा एउटाको दरले गाउँदा पनि असारको पहिलो हप्तासम्ममा भ्याउँछु ।’ पशुपतिले भने । तीज गीतकै लागि भनेर उनले अहिले स्टेज कार्यक्रम समेत रद्द गरेका छन् ।

साउन लागेपछि तीजसँगै सम्बन्धित कार्यक्रमका लागि विदेश जानु पर्ने भएकाले असारभरि अन्य काम समेत गर्नुपर्ने उनको भनाई छ । पोहोरको तुलनामा यसपाली धेरै गीत गाउनुपरेको धारणा राख्ने पशुपति आफ्नो गीतले दर्शकलाई मनोरञ्जन दिनेमा आशावादी छन् ।

कोमलले बहिनीसँग गाइन्

राजनितीमा सक्रिय हुने उद्देश्यले रेडियो नेपालको जागीरबाट राजिनामा दिएकी कोमल ओलीले बहिनी प्रज्ञा शरदसँग गाएकी छिन् । उनकी बहिनी प्रज्ञा पुरानी गायिका भए पनि पछिल्लो समय गायनमा सक्रिय छैनन् ।

पुराना गायक पाण्डब सुनुवार, बमबहादुर कार्की, राम थापा लगायतसँग गाएकी प्राज्ञ आगामी दिनमा अन्य गीत पनि गाउने योजनामा छिन् ।
गायिका मञ्जु पौडेल पनि तीन गीत गाइसकिन् । दुइवटा आफ्नै र अर्को सन्तु थापाको गीत गाएकी मञ्जु अझै केही गीत गाउने योजनामा छिन् ।

हरेक वर्ष तीजमा विदेशमा रहने गरकी मञ्जु यसपाली नेपालमै बस्ने योजनामा छिन् । ‘हरेक वर्ष तीजमा विदेश जाँदा जाँदा नेपाली दर्शक रिसाउँलान् कि भन्ने चिन्ता छ । यसपाली तीज कार्यक्रम नेपालमै मनाउने योजनामा छु ।’ मञ्जुले भनिन् ।

शोभाले आफ्नो गाइन्, अरुको बाँकी
शोभा त्रिपाठीले आफ्नो गीतको रेकर्ड सकिन् । आफ्नो गीतको भिडियोमा पनि उनी आफैं मोडलिङ गर्दैछिन् । आफ्नो बाहेक अरुका गीत गाउने योजनामा छिन् । ‘अन्य गीतवाट पनि अफर आएको छ ।’ शोभाले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment