Comments Add Comment

सरकारले चाहे गोलाबारुदका बीच पनि चुनाव हुनसक्छः उपेन्द्र यादव


३० जेठ, विराटनगर । सरकारले चाहेमा गोलाबारुद्धका विचमा पनि चुनाव गराउन सक्ने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । चुनाव वाहिस्कार भन्दै केही कार्यकर्ता उतार्दैमा चुनाव नरोकिने उनको टिप्पणी छ ।

मंगलबार विराटनगरस्थित आफ्नै निवासमा अनलाइनखबरसँग कुराकानी गर्दै फोरम अध्यक्ष यादवले जनता चुनावको पक्षमा रहेको बताए । साथै जनताको मताधिकार प्रयोग गर्ने अधिकारलाई रोक्ने समर्थ्य राजपाको आमहड्तालमा नरहेको बताए ।

राजपाको नाम नलिई उनले प्रश्न गरे, ‘मधेसका नेता भन्नेहरुले प्रधानमन्त्रीको चुनावमा भोट हाल्ने अनि जनताले मताधिकार प्रयोग गर्न पाउने अधिकारलाई चाहीँ भोट नहाल भनेर दोधारे चरित्र देखाउन मिल्छ ?

विप्लव माओवादीले पहिलो चरणको चुनाव रोक्न खोजेको स्मरण गराउँदै यादवले भने, ‘पश्चिम पहाडमा विप्लवले रोकेकै हुन् । बम पनि हानेकै हुन् । तर पनि ७४ प्रतिशत मतदान भयो । जनता मतदान चाहन्छ, निर्वाचित संस्था चाहन्छ ।’

आन्दोलनका कारण एकाध ठाउँमा चुनाव प्रभावित भएपनि पूर्ण रुपमा नरोकिने उनले बताए ।

यादवले भने, ‘केही पार्टीका केही कार्यकर्ताले रोक्दैमा जनता रोकिएला त ? रोकेपनि कुनै कुनै ठाउँमा रोकिएला । एक नम्बरमा त कुनै हावा पनि चलेको छैन उहाँहरुको ।’

जनताले निर्वाचित प्रतिनिधि आउन् र विकास होस् भन्ने चाहेको भन्दै फोरम अध्यक्ष यादवले आन्दोलन छाडेर चुनावमा आउन राजपालाई आग्रह गरे ।

उनले निर्वाचनसँगै सरकारले पनि संविधान संशोधनलाई पनि अघि बढाउनु पर्नेमा जोड दिए । ‘सकिन्छ भने चुनाव अगावै, नभए चुनावपछि संविधान संशोधन गर्न सरकार तयार हुनुपर्छ,’ फोरम नेपालका अध्यक्ष यादवले भनेका छन् ।

संघीयता र गणतन्त्रमाथि चौतर्फीरुपमा राजनीतिक प्रहार हुन थालेको भन्दै फोरम अध्यक्ष यादवले तोकिएकै समयमा तीन चरणको चुनाव गर्न नसकिए आन्दोलनवाट प्राप्त अधिकार गुम्ने खतरा बढ्ने औंल्याए । जनयुद्ध र जनआन्दोलनपछि शक्ति र सामर्थ्य गुमाएकाहरुले फेरि शक्ति आर्जन गर्न खोजेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment