Comments Add Comment

जिल्ला समन्वय समितिको प्रमुख बन्न नेताहरुको दौडधूप

३१ जेठ, सिन्धुपाल्चोक । स्थानीय तह निर्वाचन सकिएको एक महिना भएको छ । अब जिल्ला समन्वय समितिको निर्वाचनको लागि निर्वाचन कार्यालयले प्रक्रिया अघि बढाउँदै गर्दा जिल्ला समन्वय समितिको प्रमुख को होला सबैको ध्यान त्यसैतर्फ केन्दि्रत भएको छ ।

१२ स्थानीय तह मध्ये सात तहमा चुनाव जितेर नेकपा एमाले पहिलो पार्टी बनेकाले समन्वय समिति एमाले एक्लै सहभागी हुने निश्चित प्रायः छ ।

एमालेको बहुमत भएपनि समितिको प्रमुख कसलाई बनाउने भन्ने विषयमा एमालेले ठोस निर्णय गर्न सकेको छैन । यद्यपि यो पटक जिल्ला समन्वय समितिको प्रमुखमा महिला नै हुने करिब-करिब निश्चित भएको एमालेसम्बद्ध उच्च स्रोतले जानकारी दिएको छ ।

समन्वय समितिको प्रमुखका लागि एमालेका केही नेताहरुले दौड तीव्र बनाइरहेका छन् । प्रमुखको दौडमा यतिबेला एमाले जिल्ला कमिटी सदस्य बालकुमारी सापकोटा, रविन्द्र शर्मा र पूर्वजिल्ला कमिटी सदस्य कृष्ण चौलागाई प्रमुख आकांक्षी हुन् ।

एमाले सांसद शेरबहादुर तामाङका निजी सचिव कृष्णगोपाल तामाङ पनि प्रमुखमा दाबेदारी गरिरहेका छन् । तामाङलाई जिल्ला समन्वय समितिको प्रमुख बनाउने आश्वासनका साथ सदस्य बनाइएको स्रोतको दाबी छ ।

नेताहरुले दौडधुप तीव्र बनाएपनि एमालेले भने राजनीतिक ‘हाइट’ बढी भएकालाई ल्याउने तयारी गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार मेलम्ची नगरपालिकाका उपमेयर भगवती नेपाललाई जिल्ला समन्वय समितिको प्रमुख बनाउन नेताहरुले छलफल गरेका छन् ।

मेलम्ची नगरपालिकामा एमालेको बहुमत भएको र नेपाल आउँदा पनि काम गर्नका लागि खासै समस्या नहुने भएकाले उनलाई ल्याउने तयारी गरिएको हो । नेपालको नाममा एमाले जिल्लाका सबै नेताहरु सकारात्मक भएपनि एमाले केन्द्रीय सदस्य शेरबहादुर तामाङको भने सहमति नदेखिएको स्रोतको दाबी छ ।

जिल्ला समन्वय समितिको प्रमुखको दौडमा रहेकी एमाले जिल्ला कमिटी सदस्य बालकुमारी सापकोटा पनि नेतृत्व आफूले पाउनु पर्ने बताउँछिन् ।

एमालेका केही नेताहरु भने संसदीय निर्वाचनमा पनि क्षेत्र नम्बर २ मा पराजित भएको र चौतारा साँगाचोकगढी नगरपालिकामा नेतृत्व स्थापित गर्न नसकिएकाले २ नम्बर क्षेत्रबाटै प्रमुखको उम्मेदवार बनाउनु पर्ने पक्षमा देखिएका छन् ।

समन्वय समिति एकलौटी बनाउन माग

जिल्ला समन्वय समितिमा एमालेको प्रष्ट बहुमत भएपछि निर्वाचित जनप्रतिनिधिहरुले एकल रुपमा समन्वय समिति बनाउनु पर्ने माग गरेका छन् ।

अरु दललाई पनि समेट्ने चर्चा चलेपछि उनीहरुले भागबण्डा अस्वीकार गरेका हुन् । ‘समन्वय समिति भएकाले अरु राजनीतिक दलहरुलाई पनि समेटेर समन्वय समिति गठन गर्ने चर्चा छ, त्यसो गर्न हुँदैन,’ एमाले जिल्ल्ाा सचिव एवं लिसंखुपाखार गाउँपालिकाका अध्यक्ष कमल नेपालले भने ।

बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले पनि पार्टीको प्रष्ट बहुमत भएको अवस्थामा भागबण्डा गर्नु जरुरी नरहेको बताए । समन्वय समितिमा अरु राजनीतिक दलहरुलाई पनि समेट्न एमाले नेताहरु सकारत्मक देखिएपनि गाउँपालिका र नगरपालिकामा एमाले विरोधी मोर्चाबन्दी भएपछि एमाले नेताहरु सबैलाई समेट्ने योजना अब पछि हटेको स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment