Comments Add Comment

गृहमन्त्रीको चेतावनीः सोर्सफोर्स लगाउनेलाई कारबाही गर्छु

'गृहप्रशासनमा हस्तक्षेप होइन, राजनीतिक नेतृत्व गर्छु'

३१ जेठ, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले गृहप्रशासनमा राजनीतिक हस्तक्षेप नगर्ने बरु राजनीतिक नेतृत्व गर्ने बताएका छन् । सबै सुरक्षा संगठनलाई अनुशासित बनाउने र सिपाहीको मनोबल उकास्ने गरी काम गर्ने पनि उनले बताएका छन् ।

गृहमन्त्रालयमा बुधबार पत्रकारसँग कुरा गर्दै मन्त्री शर्माले देशको आवश्यकता अनुसार आफूले गाइडलाइन मात्रै दिने बताए ।

‘म राजनीतिक नेतृत्व गर्नेछु, हस्तक्षेप गर्ने छैन । राजनीतिक नेतृत्व र हस्तक्षेप फरक कुरा हुन्,’ मन्त्री शर्माले भने, ‘काम यही फोर्सले गर्ने हो । अहिलेको देशको आवश्यकता अनुसार कसरी अगाडि बढ्ने भनेर गाइड लाइन गर्ने काम मात्रै मेरो भएको हुनाले मैले राष्ट्रकै पक्षमा देशकै पक्षमा गाइड लाइन गर्नेछु ।’

कुनै स्वार्थ छैन

आफ्नो स्वार्थपूर्तिका लागि गृहमन्त्रीको जिम्मेवारीमा आफू नआएको भन्दै उनले सही नियतले काम गर्ने बताए । उनले भने, ‘मूल्यांकन गर्नेहरुको आँखा तलमाथि पर्ला, त्यो अर्कै कुरा हो त्यो मेरो जिम्मामा छैन तर मैले सही नियतले नै गर्नेछु । यहाँ मेरो छुट्टै उद्देश्य पूर्ति गर्न यहाँ आएको होइन । देशले, जनताले माग गरेको कुरालाई मैले पनि योगदान गर्नेछु ।’

सोर्सफोर्स लगाउन खोज्नेलाई कारबाही

नेताहरुको चाकडी गर्ने र सोर्सफोर्स लगाउनेहरुलाई कारबाही पनि गर्ने उनले चेतावनी दिए । उनले एकजना सुरक्षा अधिकारी आफूकहाँ सोर्स लगाउन आएको र आफूले त्यसलाई इन्कार गरिदिएको प्रसंग पनि सुनाए ।

‘एक-दुई दिन मैले टेस्ट गरें, कहीँ पनि नदौडिनुस् है भनेको दौडिँदै म कहाँ दौडिँदै आउनुभयो । मैले जवाफ दिएको छु । सोर्स नलगाइकन, फोर्स नलगाइकिन तपाईंको सही मूल्यांकन हुनेछ भन्दाभन्दै सोर्स लगाइन्छ भने मैले काम गर्दैन भनिदिएको छु,’ मन्त्री शर्माले भने, ‘त्यो चेतावनीको रुपमा भन्नुपर्ने आवश्यकता भयो ।’

कार्ययोजना बनाएर अघि बढ्ने

मन्त्री शर्माले संरचनागत पुनर्संरचना गर्नका लागि कार्ययोजना बनाएर अघि बढ्ने बताए । सशस्त्र र नेपाल प्रहरीको कार्यक्षेत्रमा कहीँ कतै अस्पष्ट भए त्यसलाई स्पष्ट पनि पार्ने उनले बताए ।

प्रहरी संगठनमा बर्षौंदेखि रोकिएको बढुवा लगायतका कुरालाई पनि सिस्टममा लैजाने मन्त्री शर्माले बताए । ‘विधिसम्मत ढंगले हुने कुरालाई कहाँ सुधार गर्नुपर्ने हो म त्यसलाई सुधार्न प्रयत्न गर्नेछु,’ उनले भने ।

प्राथमिकतामा निर्वाचन

अहिले आफूले निर्वाचनलाई मुख्य प्राथमिकता दिएको र त्यसलाई सम्पन्न गरिसकेपछि संगठनात्मक सुधार, पुनर्संरचना लगायतका काम गर्ने मन्त्री शर्माले बताए ।

आन्दोलनरत पक्षलाई पनि निर्वाचनमा सहभागी गराउने सरकारको प्राथमिकता रहेको र गृहप्रशासन पनि सोही हिसाबले तयारीमा लागेको उनले बताए ।

मन्त्री शर्माले निर्वाचनसँग जोडिएर आएका समस्यालाई समाधान गर्दै शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गर्ने कार्यभार पूरा गर्ने उनले बताए ।

आन्दोलनरत राजपातर्फ संकेत गर्दै उनले वार्ता र सम्वादमा आउन आग्रह गरे । उनले आन्दोलनरत पक्ष पनि निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे ।

‘वार्ता र सम्वादको अर्को विधि छैन । यो कुरामा सरकार स्पष्ट रहेको छ,’ मन्त्री शर्माले भने, ‘उपेन्द्र यादव जी निर्वाचनमा सहभागी भइराख्नु भएको छ । गच्छदार जी निर्वाचनमा सहभागी हुनुभएको छ । अन्य नेताहरु, अहिले कसैको नाम नलिउँ, उहाँहरु पनि निर्वाचनमा सहभागी हुने उद्देश्यमै हुनुहुन्छ ।’

सुरक्षा रणनीति के ?

संसदमा रहेको र सरकार निर्माणमा पनि सहभागी भएकाले राजपा पनि चुनावमा सहभागी हुनु देश र जनताको हितमा हुने मन्त्री शर्माले बताए । ‘निर्वाचनमा उहाँहरुलाई ल्याउनका लागि प्रयत्न भइरहेको छ । हामीले प्राथमिकता वार्ता र सम्वादलाई नै दिन्छौं । तोकिएको निर्वाचन सम्पन्न गर्ने सरकारको दायित्व पनि छ,’ मन्त्री शर्माले भने ।

हरेक निर्वाचनमा चुनौति हुने भन्दै उनले अहिलेको निर्वाचनका चुनौति पनि सामना गर्ने बताए । त्यसका लागि गृहमन्त्रालयले आवश्यक तयारी पनि गरेको उनले जानकारी दिए । शान्ति पूर्णरुपमा, भयरहित ढंगले जनताले स्वतन्त्ररुपमा आफ्नो मताधिकार प्रयोग गर्न सकुन् भन्ने उद्देश्सहित सुरक्षा योजना बनेको र सोही योजना अनुसार निर्वाचन सम्पन्न गर्ने मन्त्री शर्माले बताए ।

सुरक्षा रणनीतिबारे सोधिएको प्रश्नमा मन्त्री शर्माले कुटनीतिक पाराले जवाफ दिँदै भने, ‘वार्ता सम्वाद गरेर सबैलाई सामेल गराउन प्रयत्न गर्ने र तोकिएको दिनमा निर्वाचन सम्पन्न गर्ने यही त सुरक्षा रणनीति हो । योभन्दा छुट्टै सुरक्षा रणनीति भन्ने अरु केहि पनि हुँदैन । यही भित्रै सबै कुरा पर्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment