
News Summary
Generated by OK AI. Editorially reviewed.- जेन-जी आन्दोलनपछि बनेको सरकारले २३ भदौको राज्यआतंक र २४ भदौको विध्वंसका दोषी पत्ता लगाई कारबाही गर्नुपर्ने दायित्व लिएको छ।
- गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी समूहको दबावमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका थिए।
- प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले पक्राउ गर्दा सुरक्षा चुनौती बढ्ने भन्दै राजीनामा दिन तयार भएको चेतावनी दिएपछि बालुवाटारमा चार सुरक्षा निकायका प्रमुखसहित बैठक बसेको थियो।
२२ असोज, काठमाडौं । जेन-जी आन्दोलनपछि बनेको सरकारसँग एकातिर २३ भदौको राज्यआतंकका दोषी पत्ता लगाई कारबाही गर्नैपर्ने दायित्व छ, अर्कातिर भोलिपल्ट २४ भदौको विध्वंसका मतियार पत्ता लगाई कारबाही गर्नुपर्ने छ ।
यसका लागि गौरीबहादुर कार्की नेतृत्वमा जाँचबुझ आयोगसमेत गठन भइसकेको छ । आयोगलाई भयरहित, अनि निष्पक्ष भएर काम गर्ने म्यान्डेट दिँदै सरकारले आफ्नो ध्यान फागुनको चुनावतर्फ लगाइरहेको थियो । दिनहुँ निर्वाचन आयोग लगायत अंगसँग प्रधानमन्त्री सुशीला कार्की संवादमा छिन् ।
यसैबीच जेनजीहरूको एक समूहले २३ भदौको प्रदर्शनमा दमन गर्न निर्देशन दिएको आरोप लागेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई शीघ्र पक्राउ गर्न दबाव बढाउन थाल्यो ।
जेनजी समूहको दबावका कारण सरकारले ओली र लेखक समात्ने तयारी थालेपछि सोमबार रातिको अवस्था जटिल बन्यो ।
यो तनाव सुरु भएको थियो सिंहदरबारस्थित गृहमन्त्रालयबाट, जसको बैठान प्रधानमन्त्री निवास बालुवाटारमा राति २ बजेपछि मात्रै हुन सक्यो ।
प्रधानमन्त्रीको बुझाई, गृहमन्त्रीको दबाव, अनि सम्भावित सुरक्षा चुनौती आकलन गर्ने सुरक्षा प्रमुखहरूको प्रयास– यो दोहोरो तानातान बढ्दैजाँदा यस्तो दृश्यसमेत देख्नुपर्यो कि प्रहरी प्रमुखले राजीनामा दिएर बाटो खुल्ला गरिदिनेसम्मको चेतावनी दिए ।
यस तानातानको सुरुवात भएको थियो, एउटा चिठीबाट ।
गृहमन्त्रालयले गत सोमबार साँझ लेखेको चिठी प्रहरी हेडक्वाटर पुगेको थियो, जहाँ ओली र लेखकलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धानको दायरामा ल्याउनुपर्ने व्यहोरा उल्लेख थियो ।
उक्त पत्र पढेसँगै प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ झस्किए । उनी झस्किनु स्वाभाविक नै थियो, किनभने यो यस्तो चिठी थियो, जसभित्र राजनीतिक पक्षमात्रै निहित थिए, किन्तु सुरक्षा चुनौतीको पाटो पनि थियो ।
तीन वर्षअघि चुनावबाट चुनिएका जनप्रतिनिधिले बनाएको सरकारको बिदाई एकातिर थियो, अर्कातिर ताजा आन्दोलनको बलमा आएको नागरिक सरकार । नेपालीको ठूलो चाड दशैंका बीचसमेत राजधानीको सडक अझै चलायमान थियो ।
झस्किएका आइजीपी खापुङले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी)हरूलाई हेडक्वाटर नक्साल बोलाए । पत्रअनुसार कारबाही गर्दा अवस्था जटिल बन्ने भन्दै यसबारे गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गर्ने निर्णय भयो ।
त्यसपछि एआईजीहरूलाई साथमा लिएर आईजीपी खापुङ साढे सात बजेतिर सिंहदरबारस्थित गृहमन्त्रालय पुगे । सुरक्षा स्रोतका अनुसार गृहमन्त्रीलाई भेट्न गएका बेला जेन-जीको एउटा समूह मन्त्रालयकै थियो ।
‘हामी जाँदा जेन-जी समूह मन्त्रालयमै थियो । हामी छलफलमा बस्यौं । उनीहरू मन्त्रालय बाहिर गए’ छलफलमा सहभागी एक सुरक्षा अधिकारीले अनलाइनखबरसँग भने ।
मन्त्रालयमा गृहमन्त्री अर्याल, गृहसचिव रामेश्वर दंगालसँग आईजीपी खापुङ र एआईजीपीहरूले छलफल गरे ।
जेन-जी आन्दोलनको घटना छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग बनेर काम सुरु भएको अवस्थामा अहिल्यै पक्राउ गर्दा यसले दिन अवस्था भड्किन सक्नेबारे प्रहरीले गृहमन्त्री अर्यालसामू ब्रिफिङ गराएका थिए ।
खासमा अर्याल पनि सुरुमा यस्तै मत राख्थे, तर जेनजीको एक समूहले बढाउँदै लगेको दबाव खेप्न सकेनन् । उनले आयोगले समेत फौजदारी घटनाको अनुसन्धान र कारबाही गर्न प्रतिवेदन कुर्न नपर्ने बताउँदै एक्सन लिन भनेको स्रोत बताउँछ ।
खापुङले २४ भदौको विध्वंसका क्रममा प्रहरीका कतिपय हतियार लुटिएको, बर्दीमै प्रदर्शनकारीहरूघुम्न थालेको भन्दै यो विषयसमेत संवेदनशील रहेको बताए । उनले सुरक्षा अवस्था सामान्य बनाउनका लागि यी दुवै दिनका वितण्डाकारीलाई कारबाहीको दायरामा ल्याउन अघि सर्नुपर्नेमा मन्त्रीलाई आग्रह गरे ।
आफूले पाएको समग्र सूचना, अनि सुरक्षा संवेदनशीलताबारे गृहमन्त्रीलाई अवगत गराइरहेका खापुङको सुनुवाइ गृहमन्त्रीबाट नभएको बैठक स्रोतले भन्यो ।
गृहमन्त्रीले मलाई प्रदर्शनकारी पक्षबाट दबाव छ भन्दै सोही राति समात्न एकोहोरो निर्देशन दिइराखेपछि आइजीपी खापुङ जंगिए ।
प्रहरी प्रमुखकै कुरालाई समर्थन दिँदै एआईजीहरू पनि सुरक्षा अवस्था विश्लेषण नगरी यस्तो कदम चाल्दा अर्को दुर्घटना हुनसक्ने भन्दै गृहमन्त्री र सचिवलाई सचेत गराउन लागे ।
यतिबेलासम्म गृहमन्त्रालयमा प्रहरी र गृहसचिव, गृहमन्त्री बाहेक अरु सुरक्षा निकायको प्रतिनिधित्व थिएन ।
तर प्रहरी नेतृत्व र एआईजीहरूले भने भोलि यसैगरी जाहेरी आउने र आयोगले काम सुरु गरिरहकै बेला प्रहरीले पक्राउ गर्दा जाने सन्देश र परिणामबारे ख्याल गर्न गृहमन्त्रीलाई सुझाएका थिए ।
माहोल मिल्नुको साटो प्रहरी र गृहमन्त्रीबीचको संवाद नै तनावउन्मुख भयो । अहिलेकै अवस्थामा पक्राउ परेर कारबाही गर्नुपर्ने भए राजीनामा दिन तयार भएको आईजीपी खापुङले बताएको स्रोत बताउँछ ।
‘आईजीपीले राजीनामा नै बाटो खाली गरिदिनेसम्मको चेतावनी दिनुभयो । त्यसपछि गृहमा संवाद टुंगियो’ स्रोतले अनलाइनखबरसँग भन्यो ।
यता आईजीपी खापुङ निकट स्रोतले भने छलफलमा कुनै तनाव नभएको र सौहादपूर्ण वातावरणमा समसामयिक विषयमा कुराकानी भएको दाबी गरेको छ ।
‘अहिलेको समसामयिक अवस्थामा र सुरक्षा चुनौतीबारे छलफल भएको हो’ खापुङ निकट स्रोतले भन्यो ।
गृहमा तनावपछि १० बजे बालुवाटार
साँझ साढे ७ बजेदेखि राति १० बजेसम्म गृहमन्त्रालयमा छलफल निष्कर्ष उन्मुख हुनुको साटो प्रहरी अधिकारी र गृहमन्त्रीबीच कुराकानीमै मतभेद भएपछि राति १० बजे बालुवाटारमा बैठक डाकियो ।
जहाँ चार वटै सुरक्षा निकायका प्रमुखहरू (प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङ, सशस्त्र आईजीपी राजु अर्याल, गुप्तचर प्रमुख टेकेन्द्र कार्की) नै बालुवाटार पुगेका थिए ।
गृहमा प्रहरी र गृहमन्त्रीबीच भएको छलफल बालुवाटार पुगेपछि सबै सुरक्षा निकायका प्रमुख, गृहमन्त्री, प्रधानमन्त्रीसम्म पुगेको थियो ।
जहाँ आईजीपी खापुङले गृहकै कुरा दोहार्याएका थिए । ओली, लेखकलाई पक्राउ गर्दा वा नगर्दा हुने सुरक्षा चुनौतीको विश्लेषण बालुवाटार बैठकमा भयो ।
‘एकातिर जेन-जीले जसरी पनि पक्राउ गर्नुपर्ने दबाव दिने, अर्कोतिर पक्राउ गर्दा र नगर्दा के सुरक्षा खतरा आउँछ भन्ने विश्लेषण भयो’ एक सुरक्षा प्रमुखले भने ।
अहिले ओली, लेखकविरुद्ध आएको जाहेरी भोलि यसैगरी अर्को कोही व्यक्तिविरुद्ध आयो भने के गर्ने भन्ने विषयमा बालुवाटारमा छलफल भयो ।
‘प्रधानमन्त्रीको पदमा यतिबेला पूर्वप्रधानन्यायाधीश हुनुहुन्छ, गृहमन्त्री पनि वरिष्ठ अधिवक्ता भइसकेको व्यक्ति हुनुहुन्छ । अहिलेकै अवस्थामा अरेस्ट गर्दा आउनसक्ने कानुनी प्रक्रियाबारे पनि हामी भन्दा जानकार हुनुहुन्छ’ सुरक्षा निकायको तर्फबाट ब्रिफिङ भयो ।
जेन-जीका सबै मागहरू सम्बोधन गर्न सम्भव छन् त भन्ने विषयमा पनि चर्चा भएको छलफलमा सहभागी एक सदस्य बताउँछन् ।
आईजीपी खापुङले बालुवाटारमा भनेको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, ‘ कहिले अख्तियार प्रमुखको राजीनामा माग्ने, प्रधानन्यायाधीशको माग्नेले भोलि अरू कसैको माग्ला, कुनै सुरक्षाकर्मीलाई मुद्दा चलाउनु भन्ला, के यसैगरी चल्ने हो त देश ?’
खापुङले बालेन साह र सुदन गुरुङलाई समेत पक्राउ गरी अनुसन्धान गर्नुपर्ने मागसमेत उठेको प्रसंगतर्फ संकेत गरेका थिए, तर उनले तिनीहरूको नाम लिएनन् ।
चार वटै सुरक्षा निकाय प्रमुखले तत्कालै पक्राउ गर्न उचित नहुने सुझाएपछि कारबाही प्रक्रिया अघि बढेन । बालुवाटारमा ४ घण्टा चलेको छलफल बिहान २ बजे सकिएको थियो । कुनै ठोस निर्णय नभए पनि त्यतिबेला तत्कालको संकट टरेको सुरक्षा निकायको बुझाइ छ ।
सोमबारको एउटा चुनौती टरे पनि अझै ठूलो सुरक्षा चुनौती रहेको एक सुरक्षा प्रमुख बताउँछन् । ‘तत्कालका लागि सोमबारको सुरक्षा चुनौती टर्यो । तर अझै ठूला सुरक्षा चुनौतीहरू देखिएका छन् । भावि सुरक्षा चुनौतीबारे पनि बालुवाटारमा छलफल भयो’ एक सुरक्षा प्रमुख अनलाइनखबरसँग भने ।
दलहरूले चुनावमा भाग लिने/नलिने यकिन समेत भइनसकेको अवस्था, छठपछि हुनसक्ने आन्दोलन, आयोगको प्रतिवेदनपछिको कारबाही प्रक्रियालगायतबारे समेत छलफल भएको थियो ।
आयोगपछि कारबाही भनेका गृहमन्त्री अहिल्यै पक्राउ गर्न हतारिए ?
गृहमन्त्री अर्याल जेन-जी प्रदर्शनमा भएको दमनमाथि उच्च स्तरीय जाँचबुझ आयोगले कारबाही सिफारिस गरेपछिमात्रै कारबाहीको प्रक्रिया अघि बढाउने तयारीमा थिए ।
आयोग नै गठन भएर काम सुरु भएको अवस्थामा अहिल्यै केही गरिहाल्ने अवस्थामा उनी थिएनन् । तर जेन-जी अगुवा सुदन गुरुङसहितको समूहले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई तत्कालै पक्राउ गरेर कारबाही गर्नुपर्ने दबाव बढाउन थालेका थिए ।
यसबारे उनीहरूले गृहमन्त्रीलाई भेटेर पटक–पटक दबाव पनि दिएका थिए । जेन–जी जगमा बनेको सरकारका गृहमन्त्री अर्याल त्यसपछि ओली र लेखकलाई पक्राउ गर्न सहमत भएका थिए ।
‘सुरुमा आयोगको छानबिनपछि मात्रै कारबाही अघि बढाउने तयारी थियो । तर एकाएक सोमबार जसरी पनि पक्राउ गर्नुपर्ने निर्देशन आयो’ सुरक्षा सम्बद्ध स्रोतले भन्यो, ‘जेन–जीको दबावपछि गृहमन्त्रीले स्ट्याण्ड लिन नसक्नु भएजस्तो लाग्यो ।’
अर्कोतर्फ त्यसैदिन दिउँसो आयोगले फौजदारी कसुरमा संलग्नलाई अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने बताएको थियो ।
आयोगले फौजदारी कसुरमा संलग्नलाई कारबाही गर्न प्रतिवेदन कुर्न नपर्ने बताएपछि सोमबार दिउँसो नै सुदन गुरुङ ओली र लेखकविरुद्ध जाहेरी लिएर जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पुगेका थिए ।
प्रहरीले उक्त जाहेरी लिए पनि दर्ता गरेको थिएन । यसअघि उनैले सामाजिक सञ्जाल फेसबुकमा अरेस्ट केपी ओली, रमेश लेखक, अरेस्ट मर्डरर्स ह्यासट्याग चलाएका थिए ।
आयोगले प्रतिवेदन कुर्नु नपर्ने बताउनु, सामाजिक सञ्जालमा अरेस्ट ट्रेण्ड चलाउनु, प्रहरीमा जाहेरी पर्नु दिउँसोसम्मका घटनाक्रम थिए ।
‘डु अर डाई फर द नेशन’ भनेर उक्त ट्रेण्ड चलाएका गुरुङले प्रहरीले जाहेरी समेत नलिएपछि गृहमन्त्रालय पुगेर गृहमन्त्री अर्याललाई जसरी पनि ओली र लेखकलाई पक्राउ गर्न दबाव दिएका थिए ।
त्यसपछि गृहमन्त्री अर्यालले प्रहरी नेतृत्वलाई ओली र लेखकलाई पक्राउ गर्न दबाव दिएको स्रोतले बताएको छ ।
यसअघि ९ असोजमा अनुसन्धान गर्ने निकायले अनुसन्धान गरिरहेको र के-के गर्नुपर्ने हो उनीहरूले गर्ने बताएका गृहमन्त्री अर्यालले सोमबार भने जसरी पनि पक्राउ गर्नुपर्ने दबाव दिएका थिए ।
प्रतिक्रिया 4