Comments Add Comment

मधेसी मतदाता भन्छन् : हामी मत हाल्न आतुर छौं

१ असार, नेपालगन्ज । यही असार १४ मा हुने दोस्रो चरणको निर्वाचनमा बाँकेका मधेसी मुस्लिम बाहुल्यता गाउँपालिकाका अधिकांश मतदाता मतदानमा सहभागी हुँने बताएका छन् । उनीहरु आफ्नो गाउँ र ठाउँको बिकासको लागि निर्वाचनमा भाग लिने बताउँछन् ।

बाँके जानकी गाउँपालिका-५ साविक बेलहरी गाविस गुरुवागाउँका २७ वर्षीय मनमोहन बर्मा पहिलो पटक स्थानीय तहको चुनावमा मत हाल्दै छन् । गाँउमा दिनहुँ जसो मत माग्ने र चुनावमा भाग नलिने भनी आन्दोलन गर्नेहरुसंग भेट हुने गरेको प्रसंग सुनाउदै भने-‘ भोट हाल्ने र बहिस्कार गर्ने दुबैसंग भेट हुने गरेको छ सबैको आ-आफ्नै अडान छ । उनीहरु जनताले के चाहेका छन् भनेर बुझ्न त परै जाओस आफ्नै कुरा एकोहोरो सुनाएर जान्छन् ।’

उनले आफ्नो गाउँको विकास र निर्माणको लागि लामो समयपछि हुँन लागेको स्थानीय तह निर्वाचनमा आफू रोजेको नेता तथा उम्मेदवारलाई मत हाल्न जाने बताए । ‘अधिकार र पहिचानको आन्दोलनका लागि चुनाव बहिस्कार गर्दा स्थानीय समस्याको रुपमा रहेका विकास, बाटोघाटो र विजुलीबत्तीको समस्या समाधान कसले गर्ने सबै ठाँउबाट पछि परिने खतरा भएकोले निर्धक्क मतदान गर्न जान्छु ।’ सदरमुकाम नेपालगन्जसंगै जोडिएको गाउँ भएपनि माध्यामिक तहसम्मको विद्यालयसम्म गाउँमा छैन ।

झण्डै २२ वर्ष अघि गाडेको पोलमा विजुली र सरर मोटर चल्ने बाटोको पर्खाइमा रहेका बाँकेको कर्णाली उपनामले परिचित बघौडाका मतदाताले आफूहरु मतदान गर्नको लागि आतुर रहेको बताएका छन् ।

बाँके नरैनापुर-६ का १०५ वर्षीय रामलाल यादवले २०५२ सालमा तत्कालिन बाँके क्षेत्र नं.१ बाट चुनावमा सांसद तथा राप्रपा नेता प्रेमबहादुर भण्डारीले बघौडा क्षेत्रमा विद्युत पुर्‍याउनको लागि गाडिएका विद्युतका पोलमा तारसहितको विद्युत र सरर मोटर चल्ने बाटो देख्ने आफ्नो जीवनको धोको रहेको बताए ।

उनले भने-‘ विद्युत आउँछ भन्दै कुर्दा कुर्दै जीवनका धेरै बसन्त सकियो पोलमात्रै गाडेको पनि आज २२ वर्ष भयो जीवनमा धेरै चुनाव भोगे तर, यो पटकको चुनावमा पनि विद्युत ल्याउने र बाटो बनाउनेलाई भोट हाल्न मन छ ।’

उनले दिनहुँ जसो घरमा मत माग्न आउनेहरुको ताँती नै लाग्ने गरेको बताए । उनले यो पटकको चुनावमा मतपत्र पनि धेरै ठूलो भएको र ७-७ वटा छाप लगाउनु पर्ने भन्दै भोट माग्नेहरुले नै सिकाउने गरेको बताए ।

बाँके खजुरा गाउँपालिका-८ चमकदारपुरका ३८ वर्षीय हनिफ साई २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा आफू मत खसाल्न जाने बताए । उनले भने-‘हामी जिल्लाका अन्य ठाँउको तुलनामा विकासमा पछि परेका छौ अव पनि स्थानीय तह निर्वाचनमा मत हाल्न गएनौ भने हाम्रो गाउँ र ठाँउको विकास हुन सक्तैन ।’

उनले गाउँमा प्रचारको लागि एमाले, काँग्रेस, माओवादी केन्द्र, राप्रपा, फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरमका प्रस्तावित उम्मेदवार, नेता तथा कार्यकर्ता दिनहुँ मत माग्न घरदैलो र उस्तै परे खेत मै पुगेर मत माग्ने गरेको बताए ।

रनियापुरका ५५ वर्षीय एैनुल हक खाँ, साविक सोनपुर गाविसका ४२ वर्षीय दुर्गाप्रसाद पाण्डे र जानकी गाउँपालिका साईगाउँका २४ वर्षीय रमेश काँदु, जानकी कै ईन्द्रपुरका ३७ वर्षीय राजितराम पाठक आफूहरु मत हाल्न उत्सुक रहेको बताए । उनीहरु भन्छन्-‘हामीहरु मतदान गर्ने दिन पर्खेर बसेका छौ । कसैले हाम्रो अधिकार कुण्ठित गर्न खोज्छ भने त्यो जनताबाटै लखेटिन्छ ।’

बाँके नरैनापुरका मस्तान खाँ आफ्नो क्षेत्रको विकासको लागि पनि आफू मत हालन जाने बताए । उनले भने-‘हामी राप्तीपारीका मेधेशी मुस्लिम बाहुल्यता भएका साविकको ६ गाविस हालको नरैनापुर गाउपालिका झण्डै राज्य बिहिन अवस्थामा रहेका छौ । विकासमा पनि पछि परेका छौ । कहिलेसम्म हामीले दुख कस्ट झेल्नु पर्ने ।’

उनले फत्तेपुरदेखि सुईया बघौडासम्म २०५२ सालमा विद्युतिकरणको लागि विजुलीको पोल गाडेको प्रसंग कोट्टयाउदै भने-‘पोल गाडियो त्यसमा तार तानेर विजुली बाल्न २२ बर्ष बित्दा पनि सुरसार नभएकोले पनि यस ठाँउको विकासको लागि जसरी पनि मतदानमा भाग लिने छु ।’ नरैनापुर कै निजामुदिन खाँले चुनावको विरोधमा आफुहरु नभएको बरु चाँडा मत हालेर चाँडो विकास होस भनेर पर्खेर बसेको अवस्था रहेको स्पष्ट पारे ।

बाँकेको जानकी गाउँपालिकाको १ नं. वडा बाहेक अन्य वडाहरु मधेशी मुस्लिम बाहुल्यता वडा हुन । त्यसैगरी खजुरा गाउँपालिकका उढरापुर, सोनपुर, रनियापुर पनि मधेशी र मुस्लिम बर्चश्व रहेका वडाहरु हुन । नरैनापुर र डुडुवा गाउँपालिका पनि मधेशी मुस्लिम बाहुल्यता गाउँपालिका हुन । मधेशी मुस्लिम बाहुल्यता क्षेत्रमा नै मधेशवादी पार्टीहरु चुनावमा भाग लिने र नलिने दुई समूहमा बाँडिएपछि बाँकेमा आन्दोलनमा यसको प्रभाव परेको देखिएको छ ।

निर्वाचन बहिस्कार गर्दै आन्दोलनमा जानेकोपछि आफूहरु नलग्ने स्पष्ट पार्दै स्थानीय तहको चुनावमा आफ्नो ठाँउको विकास गर्ने र दीर्घकालिन सोच भन्दा पनि बाटो, विद्युत, सिँचाई, विद्यालय निर्माण जस्ता योजना र समाधानका कुरा मात्रै उम्मेदवारहरु लिएर घरदैलोमा पुग्ने गरेको उनीहरुको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment