Comments Add Comment

पश्चिम सेती आयोजनाको सव-स्टेशनका लागि जग्गा अधिग्रहण थालियो


२ असार, डोटी । बहुचर्चित पश्चिम सेती जलविद्युत आयोजनाको सव-स्टेशनका लागि जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले पश्चिम सेती परियोजनाको पावर हाउस बन्ने ठाउँ शिखर नगरपालिका-६ को तल्कोटमा जग्गा अधिग्रहणका लागि पहल सुरु गरेको हो ।

जिल्ला मालपोत कार्यालय डोटीको मुज्ञा शाखाका नासु सिद्धराज श्रेष्ठले दिएको जानकारीअनुसार स्थानीयवासीहरुको नाममा रहेको एक सय ६० रोपनी जग्गा अधिग्रहणका लागि प्रक्रिया अगाडि बढेको छ ।

‘आयोजना कार्यालयले जग्गाको रेकर्ड माग गरेर जेठ १९ गते हामीलाई पत्राचार गरेको थियो’ श्रेष्ठले अनलाइनखबरसँग भने ‘हामीले एक सय ९७ कित्ताको करिब एक सय ६० रोपनी जग्गाको विवरण जेठ २३ गते नै पठाइसकेका थियौं ।’ एक सय ८१ पुरै कित्ता र १६ कित्ताबाट केही जग्गा लिनु पर्ने देखिएको श्रेष्ठले बताए ।

प्राधिकरण अन्तरगतको रुपालगड पश्चिम सेती पहलमानपुर ४ सय केभी प्रसारणलाइन आयोजना कार्यालय काठमाडौंले यो प्रक्रिया अघि बढाएको हो । आयोजना कार्यालयले जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाइसकेको आयोजना कार्यालयका प्रमुख नवराज ओझा बताउँछन् ।

‘पश्चिम सेती परियोजना निर्माण गर्ने चिनियाँ कम्पनी थ्री गर्जेजले नेपाल सरकारलाई विद्युत् प्रसारणलाइनका लागि आधार नबनेकाले विद्युत् बिक्री गर्न गारो हुने भनेको रहेछ’ ओझाले भने ‘त्यसैले यसै आर्थिक वर्षभित्र जग्गा अधिग्रहण गर्ने गरि सरकारले बजेटको व्यवस्था गरेको छ ।’

अधिग्रहण हुने जग्गाका जग्गाधनीहरुलाई आफ्नो प्रमाणसहित दावी गर्न आउनका लागि जेठ २८ गते सूचना प्रकाशन गरिसकिएको ओझाले बताए ।

उनले भने ‘१५ दिने सार्वजनिक सूचना जारी भईसकेको छ, जग्गा प्राप्ती ऐन अनुसार प्रक्रिया अगाडि बढेको छ ।’

जग्गाको नापजाँच गर्दा करिब एक सय ५० रोपनीले पुग्ने तर सडकबाटै स्टेशनसम्मका लागि बाटो पनि खरिद गर्नु पर्ने भएका कारण करिब एक सय ६० रोपनी जग्गा अधिग्रहण गर्नु पर्ने ओझाको भनाइ छ ।

सन १९८१ देखि चर्चामा रहेको पश्चिम सेती जलविद्युत परियोजना निर्माणका लागि पछिल्लो चरणमा चिनियाँ कम्पनी ‘थि्र-गर्जेज’ सँग सरकारले २०६८ सालमा प्रारम्भिक सम्झौता गरेको थियो ।

परियोजना निर्माणका लागि विद्युत् प्राधिकरण र निर्माता कम्पनीबीच गत वर्ष संयुक्त उपक्रम सम्झौता समेत भइसकेको छ । विद्युत् प्रसारणलाइनको सव स्टेशनका लागि जग्गा अधिकग्रहणको प्रक्रिया अगाडि बढेपछि स्थानीयबासीहरुले परियोजना निर्माण हुने आशा गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment