३ असार, झापा । झापाको बाहुनडाँगी-४, खड्काटोलकी ६१ वर्षाीया टीकामाया तामाङले घाँस काट्न हिँडेका श्रीमान् कहिल्यै नफर्किने बाटोमा जालान् भनेर सोचेकी पनि थिइनन् ।
बिहान ८ बजे बगानतिर गएका श्रीमान मनोहरि फर्किएलान् र सँगै खाना खाउँला भनेर उनी घरमै कुरेर बसेकी थिइन् । तर, उनी फर्किएन् ।
‘उहाँलाई कुरेर बसेकी थिएँ’, उनले सुनाइन्, ‘एकैछिनमा हात्तीले सशस्त्र प्रहरीलाई मार्यो भनेको सुनेँ ।’
त्यसपछि गाउँले बगानतर्फ दौडिए । उनी पनि हेर्नलाई त्यहाँ पुगिन् । त्यहाँ पुग्दा पो उनले थाहा पाइन्, हात्तीले सशस्त्रलाई होइन, आफ्नै श्रीमन्लाई मारेको रहेछ ।
विहीबार अनलाइनखबरकर्मीसँग त्यस दिनको सम्झना गर्दा उनी भक्कानिइन् ।
‘हात्तीबाट छुटकारा दिलाउनेलाई भोट’
गाउँमा स्थानीय निर्वाचनको माहोल तातिरहेका बेला टीकामायामा कुनै उत्साह देखिँदैनथ्यो । केहीबेरपछि सम्हालिँदै अब निर्वाचित हुने जनप्रतिनिधिले हात्तीको समस्याबाट छुटकारा दिलाउन् भन्ने आफ्नो माग रहेको उनले बताइन् ।
आफ्नो जस्तै नियति अरुले भोग्नु नपरोस् भन्ने उनको इच्छा थियो । ‘हामीले हात्तीबाट धेरै पीडा भोग्नुपर्यो । अब अरु कसैले पनि दुःख भोग्नु नपरोस्’, उनले भनिन्, ‘हात्तीको समस्याबाट छुटकारा दिलाउनेलाई जिताउनुपर्छ अब हामीले ।’
ज्यादै न्यून राहत
टीकामायाको जस्तै भनाइ छ, ५० वर्षाीय हरिप्रसाद घिमिरेको पनि ।
खेतबाट फर्किदै गर्दा ०६८ सालमा अपरान्ह ४ बजे हरिप्रसाद र हात्तीको जम्काभेट भयो । हात्तीले उनलाई सुँडले ठेल्यो । र, लात्तीले पनि हान्यो ।
यो घटनाबाट उनको मेरुदण्ड चर्कियो, जसका कारण अहिलेसम्म उनको मेरुदण्डमा स्टील प्रयोग गर्नुपरिरहेको छ ।
त्यो घटनापछि हरिप्रसादले ५० हजार रुपैयाँ राहत पाए । जिल्ला वन कार्यालयबाट ४० हजार रुपैयाँ उनले पाए भने डब्लूडब्लूएफले १० हजार रुपैयाँ दियो ।
त्यो रकमले उपचारमा केही सहयोग भए पनि पर्याप्त भएन । उपचारका क्रममा २ लाख ७० हजार रुपैयाँ खर्च भयो ।
‘हात्तीको आक्रमणबाट घाइते हुँदा आर्थिक अभाव भएको मान्छे त बाँच्नै नसक्ने रहेछन्’, उनले सुनाए, ‘त्यसैले अब जुन उम्मेदवारले हात्ती पीडितलाई सहयोग रकममा वृद्धि गराइदिनु हुन्छ, उनैलाई भोट हालेर जिताउँछौं ।’
‘यसपटक व्यक्ति हेरेर भोट हालिन्छ’
अघिल्लो निर्वाचनमा पनि नेताहरुबाट धेरै आश्वासन पाएका यहाँका वासिन्दा यसपटक चाहिँ पक्कै काम हुने बताउँछन् । उनीहरु भन्छन्, ‘यसपटक उम्मेदवारको प्रतिवद्धता र घोषणा पत्र हेरेर मात्रै भोट हालिन्छ ।’
मकैं र धान थन्काउने सिजनमा यहाँका बासिन्दालाई हात्तीले दुःख दिने गरेको छ । पछिल्लो एक वर्षमा मात्रै जंगली हात्तीको आक्रमणबाट यहाँ ३ जनाको ज्यान गएको छ ।

मानव-हात्ती द्वन्द्व व्यवस्थापन समितिका सदस्य रमेशकुमार दाहाल भन्छन्, ‘यहाँका गाउँवासीको माग भनेको हात्तीबाट जीवनरक्षा गरिदिनुपर्यो भन्ने छ ।’
उनका अनुसार मेचिनगरको वडा नं. १, २, ८ र ९ हात्ती प्रभावित क्षेत्र हो । त्यसमध्ये पनि वडा नं. २ मा हात्तीले धेरै दुःख दिने गरेको छ । भारतीय सीमानामा रहेको यो गाउँमा बढीजसो भारतीय हात्तीले दुःख दिने गरेका छन् ।
विद्युतीय तारबारका यस्ता छन् चुनौति
हात्तीबाट हुने क्षतिबाट बच्नका लागि केही नगरिएको पनि होइन । विद्युतीय तारबार लगाइएको छ । तर, यसका पनि थुप्रै चुनौतिहरु छन् ।
करेन्ट लागेपछि हात्तीले झन बिच्किएर विध्वंश मच्चाएको घटना पनि स्थानीयले सुनाए ।
‘विद्युतीय तारबारको सुरक्षामा खटिएका हेरालुलाई पारिश्रमिक पनि ज्यादै न्यून दिइएको छ’, दाहाल भन्छन्, ‘दिगो आर्थिक स्रोत छैन । त्यसैले स्रोत व्यवस्थापन प्रमुख चुनौति बनेको छ ।’
बिग्रिएका विद्युतीय तारबारको मर्मत सम्भारका लागि पनि दरियो आर्थिक स्रोत नभएको दाहाल बताउँछन् । अब निर्वाचित हुने जनप्रतिनिधिले यी सबै समस्याको हल गरिदिन्छन् भन्नेमा आशावादी छन्, यहाँका हात्ती पीडित घरपरिवार ।
सडकले सास्ती
बाहुनडाँगीको अर्को समस्या भनेको सडकको हो । सडकको सुविधा राम्रो नहुँदा हात्ती धपाउन जान पनि समस्या छ ।
‘सडक राम्रो भएको भए हात्ती खेद्न जान सजिलो हुन्थ्यो’, दाहालले भने, ‘ट्याक्टर, बाइक लान सकिन्थ्यो । अहिले सवारी साधन लान सक्ने अवस्था छैन ।’
मानव जीवनको सुरक्षाका निम्ति हरेक व्यक्तिलाई टर्च लाइट, ज्याकेट, रेनकोट र हात्तीबाट बच्ने उपायका बारेमा निरन्तर तालिम दिए हात्ती समस्याबाट केही हदसम्म भए पनि छुटकरा पाउन सकिने स्थानीय बताउँछन् ।
कृषकलाई समस्या
यहाँका किसानले हात्तीकै कारण अस्थायी वाली लगाउन पनि सकेका छैनन् । विकल्पका रुपमा उनीहरु चियापत्ती, तेजपत्ता, टिक, सुपारी लगायतका खेती गर्छन् ।
राम्रो सिँचाई सुविधा भए यो ठाउँमा धान, मकै र तोरी खेतीको दरिलो सम्भावना छ । अहिले उत्पादन भएको सामग्रीलाई बजार लान पनि समस्या छ । भारतीय बजारसँग प्रतिस्पर्धा गर्नु पर्दा यहाँका उत्पादनले उचित मूल्य पाउँदैनन् ।
पहिले अलग्गै गाविस रहेको र हाल मेचीनगर नगरपालिका अन्तरगत पर्ने बाहुनडाँगीलाई सरकारले नै हात्ती पीडित क्षेत्र घोषणा गरेर हात्ती समस्या नियन्त्रणका लागि विशेष योजना ल्याओस् भन्ने यहाँका मतदाताको चाहना छ ।
प्रतिक्रिया 4