Comments Add Comment

अछाम र बझाङमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल


६ असार, अछाम । सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रबीच ७ नम्बर प्रदेशका अछाम र बाजुरामा चुनावी तालमेलको सहमति भएको छ । दार्चुलामा भने तालमेलको प्रयास असफल भएको छ ।

माओवादीसँग तालमेल गर्न खोजेको भन्दै कांग्रेस नेता दिलेन्द्र बडुमाथि कार्यकर्ताले हातपातको प्रयास भएको छ । कैलालीमा पनि तालमेल गर्ने केन्द्रीय निर्णयलाई स्थानीय कार्यकर्ताले खारेज गरेका छन् ।

अछामको सदरमुकाम मंगलसेन नगरपालिकामा कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर लिएर तालमेल गरेका छन् । मेयरमा कांग्रेसका चन्द्रप्रसाद ढुंगाना र उपमेयरमा माओवादीका रोहिना भण्डारी उम्मेदवार छन् ।

मंगलसेन नगरपालिकामा एमाले एक्लै प्रतिस्पर्धा गर्दैछ । मंगलसेनमा एमालेका मेयर उम्मेदवार पदमवहादुर बोहोरा छन् भने उपमेयरमा सरिता उपाध्याय उम्मेदवार बनेकी छन् ।

जिल्लाको बान्नीगढी गाउँपालिकामा पनि कांग्रेस र माओवादीबीच तालमेल भएको छ । अध्यक्षमा कांग्रेसका राजेन्द्र खड्का र उपाध्यक्षमा माओवादीका लोकेन्द्र साउद उम्मेदवार बनेका छन् ।

मल्लेख गाउँपालिकामा भने माओवादीका लोकवहादुर बोहोरा र उपाध्यक्षमा कांग्रेसका धनवहादुर बोहोरा उम्मेदवार बनेर तालमेल भएको छ । जिल्लाको विनायक नगरपालिकामा कांग्रेसका पूराना नेता सुरेन्द्र विष्ट मेयरमा बागी उम्मेदवार बनेका छन् ।
साँफेबगर नगरपालिकामा पनि कांग्रेस नेता तथा किसान संघका जिल्ला अध्यक्ष ललितवहादुर कुँवर बागी उम्मेदवार बनेका छन् ।

बझाङमा पनि सत्तारुढ कांग्रेस र माओवादीबीच तालमेल भएको छ । केदारस्यू गाउँपालिकामा कांग्रेसले अध्यक्ष र माओवादीले उपाध्यक्ष लिएर तालमेल गरेका छन् । सूर्मा गाउँपालिकामा पनि कांग्रेसले अध्यक्ष र माओवादीले उपाध्यक्ष लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment