Comments Add Comment

विप्लवलाई चुनाव बिथोल्न नैतिकताले दिँदैनः गृहमन्त्री शर्मा

‘राजपाको स्वतन्त्र उम्मेदवारी पूर्वसहमति अनुसार’

१२ असार, दाङ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विप्लव नेतृत्वको नेकपालाई चुनाव बिथोल्न नैतिकताले नदिने बताएका छन् । रोल्पामा चुनाव लडेको नेकपालाई अन्य जिल्लाको चुनाव बिथोल्न नैतिकताले नदिने मन्त्री शर्माको भनाइ छ ।

दाङको तुलसीपुरमा सोमबार बिहान आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री शर्माले भने, ‘अब विप्लवले निर्वाचन बिथोल्न नैतिकरुपमा मिल्दैन । किनभने थवाङमा उहाँ चुनावी मैदानमा हुनुहुन्छ । कतै उम्मेदवारी दिने कतै बिथोल्ने ? यो हुन सक्दैन ।’

रोल्पाको थवाङमा विप्लव समूह पनि चुनावमा सहभागी हुनुलाई उनले सकारात्मक भने । अहिले केही छिटपुट घटना भए पनि निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, भयरहित र धाँधलीरहितरुपमा सम्पन्न हुने मन्त्री शर्माको भनाइ छ ।

मन्त्री शर्माले सरकारसँग सहमति भएरै राजपाले दोस्रो चरणको चुनावमा स्वतन्त्र उम्मेदवारी दिएको भन्दै राजपाको सहभागिताले तेस्रो चरण निर्वाचन झन् सहज र उत्साहपूर्ण हुने बताए ।

पहिलो चरणमा बहिस्कार गरेको राजपाले दोस्रो चरणको चुनावमा रुपन्देही, कपिलवस्तुलगायतका जिल्लामा स्वतन्त्र उम्मेदवारी दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र राजपा नेता महन्थ ठाकुरको सहभागितामा बसेको बैठकमा निर्वाचनको मिति सार्ने र राजपाले स्वतन्त्र उम्मेदवारी दिने सहमति भएको मन्त्री शर्माले जानकारी दिए । संविधान संशोधनमा सरकार लचक भएरै चुनाव सारिएको भन्दै मन्त्री शर्माले भने, ‘राजपाको सहभागिताले निर्वाचन झन् उत्साहपूर्ण र सहज हुन्छ ।’

असन्तुष्ट सबै राजनीतिक दलहरुलाई सहमतिमा ल्याउन र चुनावमा सहभागी गराउन सरकार क्रियाशील रहेको उनले जानकारी दिए । मतदाताहरु निर्वाचनमार्फत् आफ्ना जनप्रतिनिधि छान्न आतुर भएको भन्दै उनले चुनावमा सबै पार्टीहरुबीच स्वस्थ प्रतिस्पर्धा हुने विश्वास व्यक्त गरे ।

माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री शर्माले भने, ‘सरकारले निर्वाचनका लागि सबै सुरक्षा प्रवन्ध मिलाइसकेको छ । पार्टीहरुबीच पनि स्वस्थ प्रतिस्पर्धा हुन्छ ।’

व्यापारी अपहरणकारी छिट्टै पक्राउ पर्छन्

तुलसीपुरका कपडा व्यापारी राजकुमार श्रेष्ठ र अर्का व्यक्ति रणबहादुर घर्तीलाई अपहरण गर्नेहरु छिट्टै पक्राउ पर्ने पनि मन्त्री शर्माले बताए । दाङ जिल्लासहित देशभरको सुरक्षा सुदृढ बनाइएको उनको भनाइ छ ।

व्यापारी अपहरणको घटनाबाट सरकार गम्भीर भएको भन्दै उनले भने, ‘घटनाको कारण छ र अनुसन्धान जारी छ । पछि सबै स्पष्ट हुन्छ । यहाँको सुरक्षा सुदृढ गर्न सरकार दृढ छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment