Comments Add Comment

दोस्रो चुनावका ११ पहेलीः बहिस्कारवादीको पत्तासाफ, बम र चामलको ‘व्यापार’

कसैको निधन, कसैको 'डेलीभरी', भरतपुर काण्डको चुनौती यथावत

१४ असार, काठमाडौं । दोस्रो चरणको स्थानीय चुनावको मतदान सम्पन्न भइसक्दा पहिलो चरणको चुनावमा भन्दा केही फरक विशेषताहरु देखिए । असारे झरी, बाढी, पहिरो र अनेक प्रतिकूलता झैल्दै ७० प्रतिशतभन्दा बढी मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

पहिलो चरण र दोस्रो चरणको चुनावमा के भिन्नता देखियो ? वा समानताहरु के-के भए ? यसबारे विश्लेषण गर्दा पहिलो र दोस्रो चुनावमा केही विल्कुलै भिन्न लक्षणहरु देखापरेको महसुस गर्न सकिन्छ ।

झरी र वर्षायामको वास्ता नगरी उत्साहजनक रुपमा सम्पन्न भएको दोस्रो चरणको मतदान पश्चात हामीले यसका केही विशेषता केलाउने जमर्को गरेका छौंः

१. मतदानस्थलमै कसैको मृत्यु, कसैको जन्म !

हिंसाको कुरा गर्दा पहिलो चरणमा मतदानका दिन भएको झडपमा दोलखा र कालीकोटमा दुई जनाको ज्यान गएको थियो । तर, यसपटक सुदूरपश्चिमका पहाडी जिल्लामा झडप भए पनि ज्यान जाने घटना नहुनु सुखद पक्ष हो ।
तर, यसपटक चुनावमा मतदान गरे लगत्तै तीनजनाको मृत्युको समाचारले राष्ट्रिय चर्चा पायो । तथापि उनीहरुको मृत्यु झडपमा नभएर भवितव्यबाट भयो ।

दमक नगरपालिका १४ का ८१ वर्षीय नरेन्द्र भण्डारीको लाइनमै बसेका बेला मृत्यु भयो । इलामको रोङ गाउँपालिकाको मार्से मतदान केन्द्रमा ४५ वर्षीय चेतनाथ आचार्यको पनि मतदान गरेलगत्तै मृत्यु भयो । त्यस्तै पाल्पाको बगनासकालीमा पनि यम्घाका ८० वर्षीय पूर्णचन्द्र भट्टराईको मतदानस्थलमै मृत्यु भयो । विगतमा यस्ता घटना विरलै हुन्थे ।

यो चुनावमा मतदान स्थलमा मृत्युमात्रै भएन जन्म पनि भयो । अछाममा दुई महिलाले मतदानको लाइनमै बच्चा जन्माएर मतदान गरेका छन् । अछामको रामारोशन गाउँपालिका-४ को बाटुलासैनस्थित नन्दकाली आधारभुत विद्यालयको ‘क’ मतदान केन्द्रमा भोट हाल्न लाइनमा लागेका दुई महिलाले बच्चा जनाएका हुन् । रामारोशनकी २५ वर्षकी मीना बोहरा र शुभा दासले बच्चा जन्माएका हुन् । दुबैले छोरा जन्माएका छन् । उनीहरुलाई व्यथा लागेपछि स्कुलकै छेउमा सुत्केरी गराएर एक घण्टापछि मतदान गरेर घर फर्किएका थिए ।

२. सय वर्ष नाघेकाहरुमा मतदान मोह

यसपटकको मतदान यस अर्थमा पनि ऐतिहासिक भयो कि एक सय वर्ष नाघेका जेष्ठ नागरिकमात्रै ९ जनाले मतदान गरे । निर्वाचन आयोगले दिएको जानकारीअनुसार सबैभन्दा जेष्ठ ११३ वषर्ीय पशुपति साउदले बैतडीको सूर्नया गाँउपालिकास्थित भूमिराज निमावि केन्द्रबाट मतदान गरे ।

त्यस्तै १११ वर्षीय नन्दन ठेकरले दार्चुलाको नौगाड गाउँपालिका १ बाट मतदान गरे । त्यस्तै १०५ वषर्ीया कलशी भट्टले दार्चुलाको शैल्यशिखर नगरपालिकाबाट मतदान गरिन् । १ सय वर्षमाथिका ९ जना जेष्ठ नागरिकले देशका बिभिन्न केन्द्रबाट मतदान गरेका छन् ।

३. कोही स्टेचरमा, कोही कोराबाटै मतदान केन्द्रमा

दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदानका लागि पाल्पा रैनादेबी छहरा गाउँपालिका–५ मुझुङका ७२ वर्षीय तेजबहादुर छहरीलाई स्ट्रेचरमा बोकेर मतदान केन्द्रसम्म लैजाँदै । तस्वीरः सुशील दर्नाल

मतदाताको उत्साह यतिसम्म देखियो कि कोही स्ट्रेचरमा र अरुको पिठ्युँमा बोकिएर मतदान केन्द्रमा पुगे भने किरियापुत्री समेत मतदान नगरी रहन सकेनन् । इटहरीमा किरियापुत्रीले समेत मतदानमा सहभागिता जनाएका छन् ।

इटहरीजस्तै बाजुरा, दाङ, प्युठान लगायतका जिल्लामा पनि किरियापुत्रीहरुले मतदान केन्द्रमा पुगेर मत हालेका दृश्यले चुनावप्रति जनताको चासो झल्कियो ।

दृष्टिविहीनदेखि अपांगता भएकाहरुले पनि आफ्नो गाउँ ठाउँको विकास गर्ने प्रतिनिधि चुन्ने अवसर गुमाउन चाहेनन् । मधेसका केही ठाउँमा राजपाको धम्की र अवरोधका बीच मधेसी जनताले मतदान गरेर चुनावप्रतिको चाहना प्रकट गरे ।

४. बहिस्कारवादीको पत्तासाफ

दोस्रो चरणको चुनावमा उल्लेखनीय विशेषताः अर्को के पनि हो भने यसपटक राष्ट्रिय जनता पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चुनाव बहिस्कार र बिथोल्ने कार्यक्रम घोषणा गरेका थिए । उनीहरुले बन्द हड्तालका कार्यक्रम पनि आह्वान गरेका थिए ।

राजपाको घोषणालाई रुपन्देही, कपिलवस्तु लगायत उसको प्रभाव क्षेत्रमा आफ्नै कार्यकर्ताले खारेज गरिदिए । सर्वेन्द्रनाथ शुक्ल, बृजेशकुमार गुप्ता जस्ता जननिर्वाचित राजपा नेताहरुले कार्यकर्तालाई स्वतन्त्ररुपमा उम्मेदवार उठाएर आफ्नो प्रभाव क्षेत्रमा अरुलाई जित्न नदिने रणनीति बनाए ।

मधेस आन्दोलनको त्रासका कराण चुनाव हुँदैन कि भन्न भ्रम दोस्रो चरणको निर्वाचनमा पूर्णरुपमा खारेज भयो ।

लिम्बुवानमा पनि चुनाव बहिस्कारको धम्की थियो । सिके राउतबाट पनि डर थियो । तर, सबै बहिस्कारवादीहरु यसपटक लगभग पत्तासाफ भए ।

जहाँ राजपाको प्रभाव थियो, त्यही ठाउँमा सबैभन्दा धेरै मतदान भएकाले पनि राजपाको बहिस्कार मधेशी जनताबाट खारेज भएको पुष्टि हुन्छ । राजपाका नेताद्धय शुक्ल र गुप्ताले अनलाइनखबरसँगै पार्टीको अपिल जनताले खारेज गरेको बताइसकेका छन् ।

चुनाव हुने जिल्लामा राजपाको बन्द हड्तालेको कुनै प्रभाव भएन । तर चुनावै नभएको २ नम्बर प्रदेशमा बन्द गराएर राजपाले टाउको दुःखेको दबाइ नाइटोमा लगाएको चर्चा पनि चल्यो । यो चुनावमा बहिस्कार रणनीतिको असफलताले राजपालाई रक्षात्मक बनाइदियो ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीको चुनाव बहिस्कार रणनीति पनि उसकै कार्यकर्ताबाट खारेज भयो ।

रोल्पाको थवाङमा विप्लबका कार्यकर्ताले मतदानमा भाग लिएर उनको आह्वान खारेजमात्र गरेका छैनन्, यसपटक देशमा चुनावबाट कोही बाहिर नरहेको प्रमाणित गरिदिए ।

५. बम भेटिनु सामान्यजस्तै !

पहिलो चरणमा भन्दा दोस्रो चरणको चुनावमा बम राख्ने र विष्फोट गराउने घटना भने धेरै भए । उम्मेदवारका घरमा राखिएका बम कुनै क्षति नभई बिष्फोट वा डिस्पोज भए । बरु बम बोक्दा बोक्दै विप्लवकै एक कार्यकर्ताको मृत्यु भयो धनगढीमा ।

विप्लवको बम आतंक आखिर उनकै लागि आत्मघाती सावित भयो । उनको यो आतंकबाट उनकै एक कार्यकर्ताको जीवन क्षतिबाहेक उनले निशाना बनाएकाहरु कसैलाई केही भएन ।
यो चुनावले राजपाको जस्तै विप्लबको राजनीतिक लाइन पनि पराजित भएको छ ।

६. केही फरक परिदृश्यः पैसा र चामलको चलखेल

पहिलो चरणमा भन्दा झडप कम भए पनि यसपटक पैसा, मदिरा र जिन्सीको चलखेल निकै भयो । पैसावाल उम्मेवार उठाउन दलहरुले कुनै कन्जुस्याई गरेनन् । एक अर्काले पैसा बाँडेको र मतदाता प्रभावित पारेको आरोप लाउनेमा कांग्रेस एमालेबीच प्रतिस्पर्धा चल्यो ।

जोगी देख्दा भैंसी डराउने, भैंसी देख्दा जोगी डराउने उखान यसपटक दलहरुले ठाउँ ठाउँमा पुष्टि गरे । यसका लागि ओखलढुंगाको एउटै उदाहरण पर्याप्त हुन सक्छ । मोलुङ गाउँपालिका र सिद्धिचरण नगरपालिकाका केही वडामा कांग्रेसले पैसा बाँड्न लागेको थाहा पाएपछि एमाले कार्यकर्ताले निगरानी थाले । यो सूचना पाएपछि प्रहरीले एमालेलाई निगरानी गर्‍यो ।

अन्ततः न पैसा बाँडियो न त झडप नै भयो । तर, एकले अर्कोलाई निगरानी गर्नेमा देशैभर भने कसैले कसैलाई बाँकी राखेनन् । आफ्नो पार्टीका पक्षमा माहौल बनाउन गाउँ पसेका नेता, सांसद र अगुवाहरुलाई पैसा बाँड्न पसेको भन्दै दुव्र्यवहार गर्ने क्रम यो चरणमा झनै बढी नै देखियो ।

कांग्रेस, एमाले लगायतका सबै दलले अर्कामाथि पैसा बाँडेको आरोप लगाउने क्रम अलि बढी नै देखियो योपटक ।

७. गाउँ-गाउँमा ठूला नेता

पहिलो चरणको चुनावमा भन्दा दोस्रो चरणमा प्रायः सबै राजनीतिक दलका केन्द्रीय नेताहरु गाउँ पसे । प्रधानमन्त्री शेरबहादुर देउवा एक सातासम्म आफ्नो गृहक्षेत्रमा बस्नुले पनि यो चरणको चुनाव राजनीतिक दलका नेताका लागि प्रतिष्ठाको विषय बनेको पुष्टि हुन्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्लामा ४ दिन खटेर वडा र टोलसम्म भोट माग्न पुगे भने उनले देशका अधिकांश मुख्य शहरमा पुगेर मत मागे । पहिलो चरणमा भरतपुर महानगरपालिकामा छोरीलाई भोट माग्न बाहेक कतै नहिँडेका माओवादी अध्यक्ष प्रचण्ड पनि यसपटक बिराटनगरदेखि धनगढीसम्मका चुनावी अभियानमा सहभागी भए ।

माओवादी नेता वर्षमान पुन रोल्पामा लगभग ढुक्कै खटिए । गहृमन्त्री पनि मैदानमै ओर्लिए ।

उपेन्द्र यादव, विजय गच्छदार, बाबुराम भट्टराई, कमल थापा जस्ता सबै नेताहरु चुनावमा गाउँमै केन्दि्रत भए । ठूला र प्रभावशाली नेताहरु गाउँ गाउँमा पुगेर चुनावी अभियान चलाएकाले पनि यसपटकको चुनावी परिणाम रोचक प्रतिक्षाको विषय बनेको छ । पहिलो चरणमा ठूला नेताहरु यतिसाह्रो गाउँ पसेका थिएनन् ।

८. तालमेलमा कांग्रेस र माओवादी कडा, एमाले एक्लो

दोस्रो चरणको चुनावको अर्को विशेषता भनेको यसपटक तालमेल पनि किसिम किसिमका देखिए । पहिलो चरणमा राप्रपासँग तालमेल गरेको एमालेले दोस्रो चरणमा राप्रपासँग अघोषित सम्बन्ध विच्छेद नै गर्‍यो ।

एमालेले पहिलो चरणको तुलनामा दोस्रो चरणमा धेरै कम ठाउँमा मात्रै तालमेल गर्‍यो । एमालेले नचाहेर हो वा एमालेसँग अरुले तालमेल गर्न नचाहेर हो, यसपटक विराटनगर महानगरपालिका बाहेक एमालेले उल्लेख्य रुपमा कतै तालमेल गरेन ।

रोल्पाको माडी र रुकुमको सिस्नेमा एमालेले कांग्रेससँग तालमेल गर्‍यो भने पाँचथरको तुम्वेवा गाउँपालिकामा माओवादीसँग तालमेल गर्‍यो । दोस्रो चरणमा सबैभन्दा धेरै ठाउँमा कांग्रेस माओवादीको तालमेल देखियो । बुटवल उपमहानगरपालिका सहित रुपन्देहीका ३ नगरपालिकामा तालमेल रहृयो । त्यस्तै ताप्लेजुङ, भोजपुर, तेह्रथुम, अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलवस्तु, अछाम, बझाङ लगायतका जिल्लामा पनि धेरै ठाउँमा कांग्रेस-माओवादी तालमेल भयो ।

कांग्रेसले यसपटक राप्रपा, संघीय समाजवादी फोरम, लिम्बुवान, खम्बुवान र नयाँ शक्तिसँग पनि ठाउँ ठाउँमा तालमेल गरेर चुनाव जसरी पनि जित्ने र एमालेलाई रोक्ने रणनीति बनाएको देखियो । भोजपुरको हतुवागढी, टेम्के मैयुम गाउँपालिकामा जिल्लामा दर्ता भएका सबै दल एकातिर भएर एमालेविरुद्ध चुनाव लडेको समाचारले निकै चर्चा पायो ।

९. एमालेविरुद्ध माओवादी आक्रामक

पहिलो चरणको चुनावमा एमाले जति आक्रामक प्रचारमा थियो र सत्तापक्ष रक्षात्मक थियो, दोस्रो चरणमा केही फरक देखियो । पहिलो चरणमा प्रधानन्यायाधीशमाथिको महाअभियोग, आइजीपी काण्ड लगायतका घटनाले सत्तापक्ष, त्यसमा पनि कांग्रेसलाई निकै रक्षात्मक बनाएको थियो ।

दोस्रो चरणमा कांग्रेस र माओवादीले एमालेमाथि आक्रामक प्रहार गर्न खोजे । यो चरणमा कांग्रेस र एमालेको जुन प्रकारको तिक्ततापूर्ण सम्बन्ध रहृयो, माओवादी पनि यसमा तटस्थ रहन चाहेन । माओवादीले एमालेविरुद्ध सबै प्रकारका प्रहार गर्न कुनै कसर बाँकी राखेन ।

कांग्रेस र एमालेबीचको प्रतिस्पर्धाबाट फाइदा लिनेतिर भन्दा पनि एमालेमाथि प्रहार गर्ने रणनीतिमा माओवादी केन्दि्रत देखियो । कैलालीका केही चुनावी सभामा देउवा र प्रचण्डले पालैपालो मन्च सेयर गरेर एमालेलाई गाली गर्नुले पनि यो कुराको पुष्टि गर्छ ।

जबकि कैलालीमा माओवादीले अधिकांश ठाउँमा एमाले भन्दा पनि कांग्रेससँगै प्रतिस्पर्धा गर्नुपरेको छ ।

१०. तिङ्ला र सरवालको मौन विद्रोह

दोस्रो चरणको चुनावको अर्को उल्लेख्य पक्ष चाहिँ के हो भने, सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका ६, तिङ्लाका बासिन्दाको मौन विद्रोह सफल भयो । २५८६ मतदाता रहेको वडाबाट एक भोट पनि खसेन । उनीहरुले स्थानीय तह पुनसंरचनामा आफूहरुमाथि भएको अन्यायको बदला नो भोटबाट लिए ।

नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६, जनता मावि मुजहवा केन्द्रमा पनि झण्डै झण्डै नो भोटकै अवस्था देखियो । त्यहाँ पनि वडा बिभाजनमा चित्त नबुझाएका जनताले अघोषित नो भोट गरे । तर, तिङ्लाको जस्तो सून्य मत भने हुन सकेन ।

दोस्रो चरणमा बरु रोल्पाको थवाङ चुनावमा आयो, तर अरु जिल्लामा ‘थवाङ’ जन्मिए ।

११. बदनाम भरतपुर प्रकरण बिर्सिदेऊ

समग्रमा दोस्रो चरणको स्थानीय चुनाव पहिलो चरणको भन्दा पनि उत्साहपूृर्वक र धेरै जनताको सहभागितामा सम्पन्न भएको छ । मध्य असारमा भएको चुनाव आफैंमा प्रतिकूलताबीच थियो । तर जनताको भेललाई प्रकृतिको भेलले रोक्न सकेन ।

जनताले यस्ता प्रतिकुलताबीच दिएको मत जोगाउने जिम्मा अब निर्वाचन आयोग र राजनीतिक दलको हातमा छ । भरतपुर प्रकरणले गर्दा निर्वाचन आयोगमाथि चुनौति थपिदिएको छ यसपटक ।

निर्वाचन आयोगको पुनःमतदानको निर्णयविरुद्ध अदालतमा विचाराधीन मुद्दाको किनारा नलाग्दै दोस्रो चरणको मतगणना शुरु भइरहेको छ ।

भरतपुर प्रकरणबाट चोट व्यहोरेको एमाले र भरतपुर प्रकरणमा मुछिएका कांग्रेस माओवादी दुवै पक्षबाट दोस्रो चरणको मतगणना पूर्ण सुरक्षित नहुन सक्छ । जसरी भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएर पहिलो चरणको चुनाव बदनाम भएको छ, आशा गरौं दोस्रो चरणले त्यो बदनामीलाई बिर्सिदेओस् । र, त्यस्ता घटना यो चरणमा नदोहोरिउन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
मात्रिका पाैडेल

समसामयिक राजनीतिक बिषयमा कलम चलाउने पाैडेल झन्डै दुर्इ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी अनलाइनखबर डटकमका डेपुटी एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment