Comments Add Comment

कमल थापाका दुई हातः एउटा झापा, अर्को बाँकेको साथ

सांसदत्रय पाण्डे, बोहोरा र थापा असफल


२० असार, काठमाडौं । पहिलो चरणमा धादिङको रुवीभ्याली गाउँपालिका मात्र जितेर निराशाजनक परिणाम हात पारेको राप्रपाले दोस्रो चरणमा झापाका दुई गाउँपालिका र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका समेत जितेको छ । र, यो जितमा कमल थापाका दुई हस्ती धवलसमशेर राणा र राजेन्द्र लिङदेनको भूमिका छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदमा राप्रपाका महामन्त्री धवलसमशेर राणा लोकप्रिय मतका साथ विजयी बनेका छन् । उता केपी ओलीको गृहजिल्ला झापामा पनि राप्रपामा महामन्त्री राजेन्द्र लिङदेनले दुईवटा गाउँपालिका प्रमुखमा आफ्नो पार्टीलाई जीत दिलाएका छन् ।

राप्रपाका दुबै महामन्त्री आ–आफ्नो जिल्लामा लोकप्रिय नेता मानिन्छन् । झापाका राजेन्द्र लिङदेन पूर्वविजिस सभापतिसमेत भइसकेका नेता हुन् ।

राप्रपा महामन्त्री लिङदेनले सुरुदेखि नै झापामा राप्रपालाई एमाले कांग्रेसको हाराहारी शक्तिका रुपमा उठाउने प्रयास गर्दै आएका छन् । यसपटक दुई गाउँपालिका राप्रपाले जितेको छ भने दमक र बिर्तामोड नगरपालिकामा पनि उसले सम्मानजनक मत ल्याइरहेको छ ।

अब झापा जिल्लाको सबै मत परिणाम आइसकेपछि राप्रपा र नेपाली कांग्रेसमध्ये कुन दल जिल्लाको दोस्रो शक्ति बन्ला भन्ने जिज्ञासा धेरैमा उत्पन्न भएको छ । झापामा राप्रैपाले आफूलाई माओवादीभन्दा प्रभावकारी देखाएको छ ।

नेपालगञ्जको मेयरमा लोकप्रिय मतका साथ जित हात पार्ने धवलसमशेर राणा पूर्व एमाले नेता हुन् । उनी एमालेबाट नेपालगञ्जकै पूर्वमेयर समेत हुन् । संसदीय चुनावमा पनि उनले त्यसमा प्रभावकारी मत पाउँदै आएका थिए ।एमालेले राणालाई आफूसँग राख्न नसक्दा उनी अहिले राप्रपाबाट मेयर बन्न पुगेका छन् ।

राप्रपाका ठूला नेताहरु असफल

राणा र लिङदेनबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीका अरु ठुल्ठुला हस्तीहरुले आफ्नो गृहजिल्लामा एउटा पनि स्थानीय तह जित्न सकेनन् । बुद्धिमान तामाङले भने आफ्नो गृहजिल्ला धादिङको एउटा गाउँपालिकामा पार्टीलाई जित दिलाएर पहिलो चरणमा राप्रपालाई नील हुनबाट जोगाए ।

राप्रपा नेता विक्रम पाण्डे चितवनका सांसद हुन् । तर, उनले स्थानीय चुनावमा आफ्नो गृहजिल्लाबाट एउटा स्थान पनि जित दिलाउन सकेनन् । माडीजस्तो ठाउँमा माओवादीले जित्यो ।

राप्रपाका अर्का नेता दीपक बोहोराको राजनीतिक जीवनमा पनि यसपालि झड्का लागेको छ । रुपन्देहीका प्रत्यक्ष निर्वाचित सांसद रहेका बोहोराले भैरहवा लगायतका आफ्नो चुनाव क्षेत्रका स्थानीय तहमा अहिलेसम्म एउटा स्थानीय तहमा पनि पार्टीलाई जित दिलाउन सकेनन् ।

त्यसैगरी राप्रपाका अर्का महामन्त्री सुनिलबहादुर थापाले पनि धनकुटाबाट पार्टीलाई एक सीटसम्म पनि हात लगाउन सकेनन् । उनी पनि धनकुटामा राप्रपाका प्रत्यक्ष निर्वाचित सांसद हुन् । धनकुटाका ७ वटा स्थानीय तहमध्ये राप्रपाले एउटामा पनि जित निकाल्न सकेन ।

पशुपति समशेर राणाले सिन्धुपाल्चोक र लोकेन्द्रबहादुर चन्दले बैतडीमा स्थानीय तहको एउटा सीटमा पनि जित निकाल्न सकेनन् ।

अरु नेताको मात्रै के कुरा, स्वयं राप्रपा अध्यक्ष कमल थापाले समेत आफ्नो गृहजिल्ला मकवानपुरमा एउटै स्थानीय तह जितेर देखाउन सकेनन् ।

राप्रपामा नेताहरुको अभाव छैन । पूर्वप्रधानमन्त्रीदेखि पटक–पटक मन्त्री बनेका हस्तीहरु राप्रपामा छन् । तर, उनीहरु फिल्डमा गएर जनतासँग काम गर्दैनन् । जसले जनतासँग गएर काम गरे, उनीहरुले पार्टीलाई जित दिलाए ।

हुन त राप्रपा महामन्त्री सुनीलबहादुर थापा चुनावका बेला धनकुटाका गाउँगाउँमा खटिएका थिए, तर उनले सफलता हात पार्न सकेनन् ।

यो पनि पढ्नुस् 
नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाको जित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment