Comments Add Comment

एक नम्बर प्रदेशको राजधानी धनकुटामा हुनुपर्छः मेयर तामाङ

एकै पार्टीका चार थरी लाइन : धरान, धनकुटा, इटहरी र बिराटनगर

२३ असार, धनकुटा । स्थानीय तहको चुनाव सकिएलगत्तै अब सरकारले सात वटै प्रदेशमा प्रदेश प्रमुखहरु तोक्ने बेला हुन लागेको छ । संविधानतः प्रदेश सभाको चुनाव गर्नुपूर्व नै प्रदेश प्रमुखहरु तोक्नुपर्ने हुन्छ ।

सरकारले प्रदेश प्रमुख तोक्ने समय नजिकिँदै जाँदा कुन प्रदेशको राजधानी कहाँ बनाउने भन्ने विषय बहसमा तानिन थालेको छ ।

यसैक्रममा प्रदेश नम्बर १ को राजधानी कहाँ बनाउँदा उपयुक्त होला भनेर हामीले धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङलाई सोध्यौं । जवाफमा उनले भने- ‘अब म धनकुटालाई प्रदेश नम्बर १ को राजधानी बनाउनका लागि पहल गर्छु ।’

‘तर, प्रदेशको राजधानी बनाउन धनकुटा पायक पर्ने ठाउँ हो र ?’ हामीले नवनिर्वाचित मेयरलाई प्रश्न गर्‍यौं- ‘धनकुटालाई नै प्रदेशको राजधानी बनाउनुपर्ने आधारचाहिँ के हो ?’

नेकपा एमालेका युवा नेतासमेत रहेका मेयर तामाङले भने- ‘धनकुटा पहिलेको क्षेत्रीय सदरमुकाम हो, यहाँ प्रदेशको राजधानीका लागि भौतिक पूर्वाधार पनि छ, त्यसैले प्रदेशको राजधानी यहीँ हुनुपर्छ ।’

इटहरीका मेयर भन्छन्- राजधानी इटहरीमै हुनुपर्छ

धनकुटाका मेयरले प्रदेशको राजधानी धनकुटालाई बनाउनुपर्ने बताए पनि इटहरीका नवनिर्वाचित मेयर द्वारिकलाल चौधरीले चाँहि १ नम्बर प्रदेशको राजधानी इटहरीलाई बनाउन आफूले पहल गर्ने बताएका छन् । (चौधरीको भनाइ यहाँ पढ्नुहोस्)

इटहरीका मेयर चौधरी र धनकुटाका मेयर तामाङ दुबैजना नेकपा एमालेबाटै निर्वाचित मेयर हुन् । तर, प्रदेशको राजधानी कहाँ बनाउने भन्नेबारे एउटै पार्टीका यी दुई जनप्रतिनिधिवीच कुरा बाझिएको छ ।

त्यसो त धरानमा एमालेबाट मेयरका उम्मदेवार बनेका तारा सुब्बाले पनि धरानलाई प्रदेशको राजधानी बनाउने भन्दै भोट मागेका छन् । सुब्बा अहिलेसम्मको मतगणनामा सबैभन्दा अग्रस्थानमा छन् । धरानका बासिन्दाको माग पनि प्रदेशको राजधानी धरानलाई बनाइनुपर्छ भन्ने छ ।

एमालेको आधिकारिक लाइनः बिराटनगर

धनकुटा र इटहरीका जनप्रतिनिधिले आ-आफ्नो ठाउँमा प्रदेशको राजधानी बनाउन माग गरे पनि नेकपा एमालेले आधिकारिकरुमा प्रदेश नम्बर १ को राजधानी बिराटनगरलाई बनाउनुपर्ने बताउँदै आएको छ ।

स्थानीय चुनावमा भोट माग्ने क्रममा बिराटनगरका एमाले नेताहरुले प्रदेशको राजधानी बिराटनगरलाई बनाउनुपर्ने बताएका थिए ।

प्रदेशको राजधानी बिराटनगरलाई बनाउने बारे एमालेभित्र कुनै द्विविधा र विवाद नरहेको सो पार्टीका नेताहरुले बताउँदै आएका छन् ।

माओवादी र कांग्रेसको पनि उस्तै हाल

एक नम्बर प्रदेशको राजधानी कहाँ बनाउने भन्ने विषयमा एमालेमा जस्तै माओवादी र कांग्रेसमा पनि अन्तरविरोध देखिएको छ ।

धरानमा माओवादीका उम्मेदवारले भोट माग्दा ब्यानरमै ‘प्रदेशको राजधानी धरानलाई बनाऔं’ भनेर लेखेका थिए ।

उता बिराटनगरमा भो माओवादी पार्टीका नेताहरुले प्रदेशको राजधानी बिराटनगरलाई बनाउने भन्दै भोट मागेका थिए ।

त्यसैगरी इटहरीका माओवादी उम्मेदवारले इटहरीलाई प्रदेशको राजधानी बनाउने भन्दै भोट मागेका थिए ।

उता नेपाली कांग्रेसका नेताहरुले खुलेर केही नभने पनि कांग्रेसका अधिकांश नेताहरु बिराटनगरका बासिन्दा भएकाले उनीहरु प्रदेशको राजधानी बिराटनगर नै हुनेमा ढुक्क छन् ।

तर, इटहरी, धरान र धनकुटाका कांग्रेस नेताहरु भने आ-आफ्नै शहरमा प्रदेशको राजधानी हुनुपर्ने बताइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment