२४ असार, कपिलवस्तु । कपिलवस्तुको बहादुरगंजस्थित शुद्ध प्लस गुटखा उद्योगमा प्रशासनले छापा हानेर सिल गरेको छ । कृष्णनगर नगरपालिका ८ स्थित हाडिर्जाड फेग्नेन्स इन्डस्टि्रजमा उत्पादन गरिने शुद्धप्लस गुटखाले मापदण्ड पुरा नगरेको, उत्पादन गुणस्तरहीन भएको र राजस्व छली गरेको आशंकामा सिलबन्दी गरेको हो ।
निमित्त प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालयको नेतृत्वमा गएको बजार अनुगमनको टोलीले उद्योगबाट उत्पादित सुर्तीजन्य पर्दाथमा मापदण्ड नपाएपछि उद्योगमै छापा हानेको थियो ।
उद्योगमा खानतलासी गर्ने क्रममा २ किसिमका गुट्खा उत्पादन गरेको पाइएको छ । निमित्त प्रजिअ अर्यालले सुर्तिजन्य पर्दाथ निवारण ऐन २०७१ अनुसार सुर्तिजन्य पर्दाथमा चेतनामूलक शन्देश ९० प्रतिशत राख्नुपर्नेमा नराखेको, गुणस्तरहीन वस्तु प्रयोग गरिएको पाइएको बताए ।
उद्योगले स्वघोषित कर तिर्ने भएकाले कर छलीका विषयमा पनि छानबिन गरिने उनले जानकारी दिए ।
‘हामीले स्वास्थ्यकर्मी, खाद्य अधिकृत सहितको टोलीले अनुगमन गर्दा निकै कमजोरी देखियो, यसबारे हामीले अनुसन्धान गर्छौ, करछलीको विषयमा राजस्वलाई अनुन्धान गर्न निर्देशन दिइएको छ’ उनलेे भने ।
नेपालभरि नै राम्रो विक्री रहेको शुद्ध प्लस गुटखा उद्योगले पटक-पटक नियम उलङ्घन गरेको कारण छापा हानेको खाद्य अधिकृत आनन्द डंगोलले जानकारी दिए ।
“उद्योगीलाई स्पष्ट जवाफ सहित भोलि प्रशासन कार्यालय बोलाईएको छ, थप अनुसन्धान हुन्छ” उनले भने ।
कांग्रेस नेता विरेन्द्र कनौडियाका भाई महेन्द्रकुमार कनौडियाको नाममा रहेको उक्त उद्योगले मासिक २ करोड रुपैयाँ स्वघोषित कर बुझाउने गरेको छ ।
मासिक १५ करोड रुपैयाँ बढिको गुटखा विक्री गर्ने उक्त उद्योगले गुणस्तरहीन वस्तु प्रयोग गरी गुटखा बनाउने गरेको अनुगमनकर्ताहरुले जनाएका छन् । गुटखामा कडापन ल्याउन र रातोपना बढाउन आन्द्रालाई असर गर्ने खतरनाक केमिकल प्रयोग गर्ने गरिएको छ ।
प्रतिक्रिया 4