Comments Add Comment

एमालेको ‘अवरोध’ले रोकियो नागार्जुन नगरपालिकाको बजेट

मेयर बस्नेत भन्छन्- जनप्रतिनिधिले बजेट रोक्नु दुःखद

२६ असार,  काठमाडौं  । स्थानीय जनप्रतिनिधिको विवादका कारण नागार्जुन नगरपालिकाका बजेट नै रोकिएको छ ।

आइतबार नै नगरसभामा बजेट पेश गर्ने तयारी थियो । तर, एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध गरेपछि साउन २ लाई सरेको छ ।

नागार्जुन नगरपालिकामा कांग्रेसले मेयर जितेको छ भने उपमेयर एमालेबाट निर्वाचित छिन् । फरक राजनीतिक दलबाट आएका जनप्रतिनिधिबीच स्थानीयको क्षेत्रमा बजेट नै नपारिएको भन्दै विवाद सुरु भएको थियो ।

अब नयाँ सिलिङ तोक्ने कि सामान्य संशोधन गरेर जाने भन्ने विषयमा बहस सुरु भएको छ । सोमबार पनि सहमतिको प्रयास जारी राखिएको छ ।

यसरी सुरु भयो विवाद

नगरपालिकाले सिलिङ तोकेअनुसार वडा नम्बर ३ ले डेढ करोडको बजेट पास गरेर पठाएको थियो । वडाअध्यक्ष प्रेमलाल श्रेष्ठ एमालेबाट विजयी भएका हुन् । तर, फरक राजनीतिक बिचार (कांग्रेस-माओवादी) भएका स्थानीय नेताहरुको घर वरपर बजेट नै नपारेर विभेद गरिएको गुनासो आयो ।

त्यसपछि मेयर मोहनबहादुर बस्नेतले गुनासो सम्बोधन गर्ने भन्दै बजेटको व्यवस्था गरिदिए । ‘वडा भेलाबाट डेढ करोडको सिलिङ पास गरेर ल्याउनुभयो । तर अरु साथीहरुको ठाउँमा उहाँहरुले रकम पार्नुभएन । त्यसपछि हामीले नगरपालिकाबाट हाल्दियौं,’ मेयर बस्नेतले भने, ‘हामीले भनेर पो हाल्नुपर्छ, सल्लाह नगरी किन बजेट हाल्नुभयो ? त्यो काट्नुस् भन्नुभयो ।’

जनप्रतिनिधिहरुले कसैलाई पनि भेदभाव गर्न नहुने भन्दै उनले कतै बजेट दिने, कतै नदिने गर्न खोज्नु दुःखद भएको बताए । ‘चुनावमा जुन-जुन पार्टीबाट लडे पनि अहिले सबैको प्रतिनिधि भएकाले स्वार्थमा लाग्नु हुँदैन,’ उनले भने, ‘जनप्रतिनिधिले भेदभावपूर्ण व्यवहार गर्नु भएन नि ।’

नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत र उपमेयर सुशिला अधिकारी । बस्नेत कांग्रेसबाट र अधिकारी एमालेबाट विजयी भएका हुन् ।

के भन्छ असन्तुष्ट पक्ष ?

प्रत्येक वडालाई नगर कार्यपालिकाले एक करोड ५० लाख बराबरको बजेट सिलिङ तोकेको थियो ।

आइतबार त्यसअनुसारका नीति तथा कार्यक्रम पास गरिसकेपछि १९ करोड ३५ लाख बराबरको नगरस्तरीय योजना तथा कार्यक्रम प्रस्तुत गरियो । तर, त्यसमा समेटिएका बिभिन्न कार्यक्रमहरु एमालेबाट निर्वाचित प्रतिनिधिहरुले स्वीकार नगरेपछि छलफल नै हुन सकेको थिएन ।

खासगरी स्वास्थ्य पूर्वाधार कार्यक्रम अन्तर्गतको ३७ लाख ५० हजार रुपैयाँ, वडा नम्बर ७ को नारायण प्रतिष्ठानलाई छुट्याइएको २५ लाख र नगरस्तरीय कार्यक्रम शीर्षकमा विनियोजित ३ लाख ७५ हजारमा एमालेको असहमति छ ।

यो शिर्षक अन्तर्गत के-के काम हुने भनेर बिस्तृतमा उल्लेख नगरिएकाले आफूहरुले विरोध गरेको स्थानीय एमाले नेता कृष्णहरी खत्रीले बताए । ‘रकम छुट्याइयो तर, के-के काममा खर्च गर्ने भनेर खुलाइएकै छैन,’ मेयर पदमा एमालेबाट उम्मेदवार समेत बनेका खत्रीले अनलाइनखबरसँग भने, ‘नगरस्तरीय कार्यक्रममा व्यक्तिको घरदेखि राजकुलोसम्म ढलान गर्ने भनेर लेखिएको छ । नगरस्तरीय कार्यक्रममा यस्ता सानातिना कार्यक्रम राखिनु भएन भन्ने हाम्रो धारणा हो ।’

सहमतिको प्रयास जारी

विवादका कारण बजेट रोकिएपनि सहमतिको प्रयास जारी राखिएको छ । असन्तुष्ट पक्षले एक करोड थपेर बजेटको नयाँ सिलिङ तोक्नुपर्ने, बजेट संशोधन गर्नुपर्ने माग राखेको छ । साथै तल्लो तहबाट जे-जे सिफारिस आउँछ त्यसलाई पास गर्नुपर्ने माग राखिएको छ ।

मेयर बस्नेतले भने विधि र प्रक्रिया पुर्‍याएर संशोधनको प्रस्ताव ल्याउन चुनौती दिएका छन् । मेयर बस्नेतले भने, ‘विधि र विधानबाट ल्याउनुस् भनेको उहाँहरुले ल्याउन सक्नुभएन । अहिले कम्प्रमाइज गरेर जाने सहमति भएको छ ।’

तर के-के विषयमा कम्प्रमाइज भयो भन्ने विषयमा मेयर बस्नेत खुल्न चाहेनन् ।

यो पनि पढ्नुहोस् 

नागार्जुन नगरपालिकाको बजेट: हरेक वडाका पाँच जनालाई सहुलियत ऋण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment