Comments Add Comment

सोमलालको राजीनामापछि को बन्दैछन् नयाँ मुख्यसचिव ?

धनबहादुर तामाङदेखि लोकदर्शन रेग्मीसम्मको दाबी

२६ असार, काठमाडौं । सेवाअवधि बाँकी छँदै मुख्यसचिव पद त्यागेर डा. सोमलाल सुवेदी एशियाली विकास बैंक (एडीबी) मा जाने भएपछि निजामती सेवाको सर्वोच्च पदमा को आसीन होला भन्ने चासो व्याप्त छ ।

र, यो कौतुहलको अन्त्य सम्भवतः अबको २४ घण्टाभित्रै हुनेछ ।

गत ०७२ साल साउन २० गते मुख्यसचिव भएका सुवेदीको कार्यकाल ०७५ सालसम्म छ । तर, उनी त्यसलाई त्यागेर आउँदो साउन १ देखि फिलिपिन्सको मनिलास्थित एडीबी केन्द्रीय कार्यालयमा हाजिर हुनेछन् । त्यसैको पूर्वतयारीका लागि उनले भोलिसम्म राजीनामा दिने मनस्थिति बनाएका छन् ।

सुवेदीले पद त्याग गर्न लागेसँगै मुख्य सचिवका दाबेदारहरुले शक्तिकेन्द्रमा दौडधूप थालेका छन् ।

को-को छन् मुख्यसचिवका दाबेदार ?

मुख्यसचिवमा मुख्य गरी पाँच जना दाबेदार छन् । धनबहादुर तामाङ, शान्तराज सुवेदी, शान्तबहादुर श्रेष्ठ, राजेन्द्रकिशोर क्षेत्री र नारायणगोपाल मलेगो मुख्य सचिवका दाबेदार हुन् । यीभन्दा जुनियर नै भए पनि लोकदर्शन रेग्मीलाई समेत मुख्यसचिवको प्रवल दाबेदारका रुपमा हेरिएको छ ।

यद्यपि बरिष्ठताको हिसाबले तामाङ पहिलो नम्बरमा पर्छन् । त्यसपछि मात्रै सुवेदी र श्रेष्ठको नम्बर आउँछ । तामाङ ०६९ साल असार २८ गते सचिवमा बढुवा भएका हुन् । सुवेदी र श्रेष्ठ दुबैजना तामाङभन्दा चार महिनापछि सचिव बनेका हुन् ।

तामाङको सम्भावना कति ?

तामाङ मुख्यसचिव बन्ने कि नबन्ने भन्ने कुरा सोमलाल सुवेदीको राजीनामामा भर पर्छ । तामाङले पाँच वर्षे कार्यकालका कारण यही असार २८ गते अवकाश पाउँदैछन् । त्यसैले तामाङ मुख्यसचिव बन्नका लागि सुवेदीले २८ असारअघि नै राजीनामा दिनुपर्छ र सरकारले पनि २८ असारअघि नै तामाङलाई सचिवमा नियुक्त गर्नुपर्ने हुन्छ । त्यसभन्दा ढिलो भए तामाङ मुख्य सचिव बन्ने अवसरबाट बञ्चित हुनेछन् ।

तामाङ मुख्यसचिव भइहाले पनि ५८ वर्षे उमेर हदका कारण आगामी मंसिरमै अवकाश पाउनेछन् ।

यस्तो छ सुवेदी र श्रेष्ठको अवस्था

वरिष्ठताको क्रमलाई हेर्ने हो भने तामाङपछि अर्थसचिव शान्तराज सुवेदी र शिक्षासचिव शान्त बहादुर श्रेष्ठ मुख्य सचिवका दाबेदार हुन् । तर, उनीहरु मुख्यसचिव बन्नका लागि हालका मुख्यसचिव सोमलाल सुवेदीले २८ असार पछिमात्रै राजीनामा दिनुपर्ने हुन्छ । त्यो अवस्थामा सुवेदी र श्रेष्ठमध्ये एकजना निजामती सेवाको सर्वोच्च पदमा आसीन हुनेछन् ।

एकैदिन सचिवमा बढुवा भएका सुवेदी र श्रेष्ठ दुबैकोे पाँच वर्षे कार्यकालका कारण कात्तिक पहिलो साता अवकाश पाउनेछन् । यदि तामाङ मुख्यसचिव भइहालेमा सुवेदी र श्रेष्ठसँगै गरिबी निवारण मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्री र उपराष्ट्रपतिका कार्यालयका सचिव नारायणगोपाल मलेगोसमेत मुख्यसचिव नबनी घर फर्किनेछन् । किनकी मुख्यसचिवका रुपमा तामाङको कार्यकाल मंसिरसम्म जान्छ । क्षेत्री साउन २ गते र मलेगो भदौ १ गते सचिवबाट सेवा निवृत्त हुँदैछन् ।

अर्का प्रवल दाबेदार लोकदर्शन

तामाङ मुख्यसचिव भएमा गृहसचिव लोकदर्शन रेग्मीको भाग्य चम्किने छ । किनकि रेग्मी भन्दा वरिष्ठ सचिवहरुले तामाङको कार्यकाल सकिँदासम्म सेवाबाट अवकाश पाइसक्छन् । त्यसपछि रेग्मी एकमात्र दाबेदारका रुपमा रहनेछन् ।

त्यसैले धनबहादुर तामाङलाई मुख्यसचिव बनाइदिएर आगामी मुख्य सचिवमा आफ्नो बाटो खुला गर्ने दाउमा रेग्मी छन् । त्यसैले चार महिनाकै लागि भए पनि तामाङलाई मुख्यसचिव बनाउनुपर्ने पक्षमा रेग्मी पक्षधर लबिङमा रहेको स्रोत बताउँछ ।

सचिवका रूपमा रेग्मीको पाँच वर्षे कार्यकाल ०७५ साल साउन ६ गते सकिन्छ । यो अवस्थामा सुवेदी र श्रेष्ठमध्ये कुनै एकजना मुख्यसचिव भएमा उनीहरु ०७७ सालसम्म पदमा रहने हुँदा रेग्मीको मुख्य सचिव बन्ने बाटो बन्द हुनेछ ।

स्याङ्जा घर भएका रेग्मी नेपाली कांग्रेसका विश्वासपात्र मानिन्छन् । उनका बुबा लक्ष्मीकान्त रेग्मी कांग्रेस महासमिति सदस्यसमेत हुन् ।

रेग्मीका पिता लक्ष्मीकान्तले गणतन्त्र दिवसका अवसरमा सुप्रवल जनसेवाश्री पदक सरकारबाट पाएका छन् । पदक सिफारिस समितिको सदस्यसमेत रहेका गृहसचिव रेग्मीले आफ्ना बुवालाई पदक दिलाएको भन्दै आलोचना समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment