Comments Add Comment

सावधान !  तपाईको बच्चा किन एक्लिदैछ ?


‘सानो परिवार, सुखी परिवार’, ‘दुई सन्तान, ईश्वरको बरदान’

सन्तानोत्पादनलाई निरुत्साहित वा नियन्त्रणका लागि यसरी नै प्रेरित गरिन्थ्यो, नेपाली समाजमा । यसैको प्रभावमा ‘जति थोरै सन्तान, उत्तिनै राम्रो’ भन्ने धारणा विकास हुँदै गयोे । पछिल्लो समय दुई सन्तान छाडेर, एकल सन्तानमा केन्दि्रत भए दम्पती । अहिले धेरै दम्पतीसँग एउटा छोरा वा एउटी छोरी मात्र छ ।

यसको सकारात्मक पक्ष छ, साथसाथै नकारात्मक पनि ।

आफ्ना सन्तानलाई परिवार, समाजमा घुलमिल गराउन असक्षम छन्, अभिभावकहरु । यही कारण बच्चाहरु सामाजिक जीवनबाट बिमुख हुँदै गएका छन् ।

न भाई, न दिदी

अहिलेका धेरै बच्चाहरु एक्ला छन् । उनीहरुसँग खेल्ने भाई छैनन् । उनीहरुलाई माया गरेर खेलाउने दिदी पनि छैनन् । न दिदी, न दाजु, न बहिनी, न भाई । नितान्त एक्लो छन्, धेरै बच्चा ।

अर्कोतिर बुवाआमा कामकाजी छन्, जसलाई बच्चासँग खेल्ने फुर्सद छैन । त्यही कारण बच्चाले मोवाइल, ट्याब्लेट, ल्यापटपलाई आफ्नो साथी बनाउनु परेको छ । यसरी थाहै नपाई उनीहरु पारिवारिक जीवनबाट पनि एक्लिदै गएका छन् । र, भर्चुअल संसारमै रमाउन अभ्यस्त हुँदैछन् ।

खुम्चिदै छ बच्चाको संसार

बच्चाहरुका लागि अहिले कृतिम खेलौना छ, कृतिम खेलमैदान छ । यस्तो खेल खेल्नका लागि उनीहरुसँग नियन्त्रित समय छ । स्वच्छन्द रुपमा उनीहरु प्राकृतिक ढंगले खेल्न पाएका छैनन् ।

बिहान उठ्नसाथ विद्यालयको तयारी, दिनभर कक्षाकोठा, साँझ घर फर्केपछि होमवर्क । उनीहरुलाई आफ्नो लागि समय नै छैन । यससँगै समाजमा घुलमिल हुने, सामाजिक व्यवहार गर्ने प्रवृत्ति घट्दै गएको छ ।

कस्तो बच्चा संकटमा ?

शहरी क्षेत्रमा हुर्किएका बच्चाहरु सामाजिक जीवनबाट विमुख हुँदैछन् ।

एकल परिवारमा बस्ने, अझ एउटा मात्र बच्चा छन् भने उनीहरु सामाजिक जीवनबाट बिमुख भएका छन् । धेरैजसो आमाबुवा कामकाजी छन् । उनीहरुलाई बच्चासँग खेल्ने, कुराकानी गर्ने फुर्सद छैन । घर बाहिर गएर खेल्ने वातावरण छैन । सामाजिक एवं पारिवारिक जमघटमा सहभागी गराइएको छैन ।

के हुन्छ असर ?

– आफ्नो पीडा, दुखेसो, गुनासो सुनाउने वा बाढ्ने नजिकको साथी हुँदैन ।

– यस्ता बच्चामा प्रतिस्पर्धाको भावना कम हुन्छ ।

– आत्मा मनोबल कमजोर हुन्छ ।

– यसरी हुर्कने बच्चाहरुमा सामाजिक भावना कम हुन्छ । समाजमा घुलमिल हुन सक्दैनन् ।

– पारिवारिक माया, ममता अनुभूत गर्न सक्दैनन् ।

– सामाजिक जीवन-यापन कष्टकर हुन्छ ।


के गर्ने त ?

१. बच्चालाई साथीभाई, आफन्त, छिमेकीसँग घुलमिल हुन प्रेरित गर्नुपर्छ ।

२. बच्चासँग खेल्ने, रमाउने गर्नुपर्छ । बच्चाका लागि निश्चित समय छुट्याउनु पर्छ ।

३. आफन्त एवं नातेदारसँग चिनजान गराइदिनुपर्छ ।

४. घरबाहिरको गतिविधिमा सरिक गराउनुपर्छ, साथीहरुसँग खेल्न दिनुपर्छ ।

५. आफ्ना हजुरबा-हजुरआमा एवं परिवारका पाको, परिपक्क सदस्यहरुसँग बस्न एवं कुराकानी गराउन प्रेरित गर्नुपर्छ ।

६. परिवारका सदस्य, छिमेकी आदिलाई नाता वा साइनो लगाएर बोल्न सिकाउनुपर्छ ।

७. घरभित्र पारिवारिक संस्कारमा अभ्यस्त गराउनुपर्छ ।

८. भोज-भत्तेर, धार्मिक कार्यक्रम आदिमा सहभागी गराउनुपर्छ ।

९. बेलाबखत फेमेली गेटटुगेदर आयोजना गरेर आगन्तुकसँग रमाउन दिनुपर्छ ।

१०. घरायसी काम सिकाउनु पर्छ, जो उनीहरुले गर्न सक्छन् ।

११. सानोतिनो किनमेलका लागि पसल पठाउने, बिल तिर्न पठाउने गर्नुपर्छ ।

१२. फिल्म, कार्टुन, कथा आदिको माध्यामबाट पनि सामाजिक जीवनको महत्व दर्शाउन सकिन्छ । यसका लागि त्यही फिल्म वा कार्टुन हेर्न दिनुपर्छ, जसमा सामाजिक विषय छ ।

१३. सामाजिक कामहरुमा सहभागी गराउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment