Comments Add Comment

जाम हटाउन चिरीबाबुको प्रस्तावः प्राइभेट, संस्थान र सरकारी कार्यालय एउटै समयमा नखोलौं


७ साउन, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ट्राफिक ब्यवस्थापनका लागि नयाँ प्रस्ताव गरेका छन् । शनिबार काठमाडौंमा सामुदायिक प्रहरी र स्थानीय तहकाबीच हुनुपर्ने सहकार्यकाबारे अन्तरक्रियामा मेयर महर्जनले सबै कार्यालय १० बजे नै खोल्ने नीति परिवर्तन गर्ने प्रस्ताव गरेका हुन् ।

प्रहरी महाननिरीक्षक प्रकाश अर्याल सहभागी कार्यक्रममा मेयर महर्जनले फरक प्रकृतिका कार्यालयलाई छुट्टा-छुट्टै समयमा खोल्ने र बन्द गर्ने ब्यवस्था गर्ने गरी पहल लिन नेपाल प्रहरी र यस अन्तरगतको ट्राफिक प्रहरीलाई विशेष आग्रह गरे ।

यो ब्यवस्था भएमा अहिले देखिएको ट्राफिक जामको समस्या धरै हदसम्म समाधान हुने दाबी उनले गरे । ‘समृद्ध मुलुकमा कँही पनि सबै प्रकृतिका कार्यालय एकै समयमा खोलिँदैनन् । हामीले पनि काठमाडौंमा बढेको जामको समस्यालाई हटाउन त्यही नीति अवलम्बन गर्नुपर्छ’ मेयर महर्जनले भने, ‘अब प्राइभेट सेक्टरका कार्यालय विहान ८ बजे खोलौं, संस्थानका कार्यालयमा ९ बजेबाट सेवा सुरु गरौं, सरकारी कार्यालयलाई १० बजेको समय दिऔं’ महर्जनले भने, ‘अहिले विहान १० बजे सबै एकैपटक सडकमा आउँछौं । अनि दिनभर जाम भइरहन्छ ।’

उनले सबै पक्षसँग समन्वय गरेर कार्यालय खोल्ने र बन्द गर्ने समयलाई बिबिधीकरण गरिए काठमाडौं उपत्यका बढ्दो सवारी जामको समस्या हल हुने विश्वास हुने ब्यक्त गरे ।

‘जामको समस्या मुख्यतयाः पिक आवरमा सरल रुपमा सवारी व्यवस्थापन गरेरै सुल्झाउन सम्भव छ । मुख्यता १० बजे र ४ बजे आसपास सडकमा हुने चाप घटाउन फरक-फरक समयतालिका फरक प्रकृतिका कार्यालय खोल्ने ब्यवस्था गर्न प्रहरीले गृह मन्त्रालयसँग पहल गरोस्’ महर्जनले महानिरीक्षक अर्याललाई आग्रह गर्दै भने, ‘छलफल अघि बढाउन सकियो र नीतिगत निर्णयमा पुग्न सकियो भने जनताको सास्ती कम हुन्छ भन्ने ललिलतपु महानगरपालिकाको विश्वास छ ।’

विद्यासुन्दरले भने-रातभर शहर खुला राखौं

कार्यक्रममा बोलेका काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले ट्राफिक जामको समस्याबारे बोलेनन् । उनले सामुदायिक प्रहरीको सक्रियताको प्रशंसा गर्दै २४ घण्टा नै शहरलाई खुला राख्ने गरी महानगरले लिने पहलमा साथ दिन आग्रह गरे ।

‘हामीले सााझा बसमा पनि लगानी गरेका छौं । रातको समयमा पनि शहरलाई खुला राख्न बसलाई रातिसम्म सञ्चालन गर्न जरुरी छ’ मेयर शाक्यले भने, ‘त्यसमा प्रहरीको सहयोगको अपेक्षा छ ।’

काठमाडौं महानगरका मेयर शाक्यलाई केही सहभागीले सशुलक पार्किङ किन खोल्न खोजिएको भनेर प्रश्न समेत गरेका थिए । तर, उनी त्यस विषयमा प्रवेश नै गरेनन् ।

बूट, प्याडल र बसमा ध्यान दिऔं-महानीरिक्षक

कार्यक्रममा प्रहरी महानिरीक्षक आर्यालले भने सवारी जामको समस्याको दोषी नागरिक र सरकार दुबै भएको आशय प्रकट गरे । ‘अहिले यहाँ उपस्थित हामीमध्ये ९० प्रतिशत मान्छे आफ्नै सवारीमा आएका छौं । हामी पब्लिक बस किन चढ्न रुचाउँदैनौं ?,’ महानिरीक्षक अर्यालले भने, ‘समस्या बसमा पनि छन् । आत्मसम्मानसहितको सार्वजनिक यातायात सेवाको थालनी नभएसम्म नागरिक आफ्नै सवारी किन्न लालाहित नहुने भए । अब त सार्वजनिक यातायात सुधानुपर्छ ।’

उनले अहिले काठमाडौंमा बस्ने सबैले आफ्नै सवारी राख्ने अवस्था बने अहिले १० लाख रहेको सवारी संख्या ४० लाख नाघ्ने उल्लेख गरे । अहिलेकै क्रममा निजी सवारीप्रतिको मोह बढ्दै गए भोलि भयाबह अवस्था आउने चेतावनी उनले दिए । ‘अब मेयरसा’बहरुले पनि पब्लिक भेहिकलमा यात्रा गर्दा हिनताबोध नहुने गरी विकास गर्नुपर्‍यो । त्यहाँ सुरक्षाका सवालमा काम गर्नुपरे प्रहरी तयार छ’ अर्यालले भने, ‘सबै नागरिकले आफ्नै सवारी किन्न खोज्ने वातावरणलाई अब फेरौं ।’


उनले काठमाडौंका सडक युरोपका शहरी सडकभन्दा खासै सानो नरहेको उल्लेख गर्दै यातायात पद्धतिलाई फेरेर अघि जानुपर्ने बताए । ‘अब बसको छुट्टै डेडिकेटेड लेन तोकौं, बसमा निजी कारमा भन्दा एक घण्टा छिटो गन्तब्यमा पुग्ने ग्यारेन्टी गरौं’ आर्यालले भने, ‘त्यसो भयो भने पब्लिक भेहिकल चढ्न नागरिक आफैं उत्साहित हुन्छन् ।’

उनले शहरमा बुट, प्याडल र बसको प्रवर्द्धनमा स्थानीय सरकार लाग्नुपर्ने बताए । बुटलाई उनले फूटपाथ, प्याडललाई साइकल र बसलाई सार्वजनिक यातायातका रुपमा दर्शाए ।

‘सडकले चेपेर फूटपाथ हिँड्नै नसक्ने नबनाऔं, साइकल लेनको अवधारणा जाऔं र त्यसलाई प्रयोग गर्न प्रोत्साहन गरौं’ अर्यालले भने, ‘ठूला शहरी बसलाई नागरिकको पहुँच र शहरको प्रतिष्ठासँग जाडेर प्रयोगयोग्य बनाऔं । हामी स्थानीय तहसँगै छौं ।’

मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले सार्वजनिक यातायातमा महिला हिंसा मौलाएको भन्दै नगरहरुबीचको सहकार्यमा महिलाहरुका लागि छुट्टै बस चलाउन सकिने बताए ।


उनले प्रहरीसँगको सहकार्यमा फूटपाथ र सार्वजनिक जग्गाको अतिक्रमण हटाउने काममा आफ््नो नगरपालिका लागेको बताए ।

‘हनुमन्ते खोलाको धार फेर्न भूमाफियाले रातभर डोजर चलाएछन् । विहान हामीले प्रहरीलाई यसबारे खबर गर्न खोज्दा डिएसपीसा’ब मोबाइल नै स्वीच अफ गरेर बस्नु भएछ’ महानिरीक्षक अर्यालको ध्यानाकर्षण गराउँदै श्रेष्ठले भने, यस्तो अब फेरि दोहोरिनु हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment