Comments Add Comment

नेपाली क्रिकेटको विवाद सहमति उन्मुख, विधान अनुमोदन गर्न आईसीसीले दियो एक महिना

७ साउन, काठमाडौं । नेपाली क्रिकेटको विवाद सहमति उन्मुख भएको छ । सल्लाहकार समूहमा दुई समूहबीच मिल्न नसकेको केन्द्रीय साधारणसभामा जिल्लाको प्रतिनिधित्वको विवादमा लगभग सहमति जुटेको छ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का इमरान ख्वाजा सहितको टोलीको उपस्थितिमा शनिबार भएको छलफल सकारात्मक देखिएको छ ।

स्रोतका अनुसार केन्द्रीय साधारणसभामा जिल्ला क्रिकेट संघ भएको ३८ जिल्ल्लाबाट  एक-एक जना र प्रत्येक प्रदेशबाट दुई जिल्ला बराबर एक प्रतिनिधि आउने व्यवस्था गर्ने सहमति जुटेको छ ।

सल्लाहकार समूहले अशोकनाथ प्याकुरेल समूह (निर्वाचिन क्यान)ले जिल्लाको भोटिङ राइट माग राखेको थियो । तर, विजयराज पाण्डे समूहले भने प्रत्येक प्रदेशबाट दुई जिल्ला बराबर एक प्रतिनिधि आउनु पर्ने मत राखेको थियो ।

संक्रमणकालीन व्यवस्थापनबारे भने अझै सहमति जुटेको छैन । अशोकनाथ समूहले साधारणसभामा निर्वाचित क्यानको उपस्थिति खोजेको छ ।

तर, पाण्डे समूहले विधान अनुमोदनपछि निर्वाचित क्यान स्वत भंग हुने धारणा राखेका छन् ।

दिनभर विभिन्न विकल्पमा छलफल भएपनि कुनै सहमति हुन नसकेको एक सदस्यले बताए । विजयराज पाण्डे समूह साधारणसभामा निर्वाचित क्यानको उपस्थिति कुनै हालतमा स्वीकार नगर्ने पक्षमा छ ।

प्याकुरेल समूहका एक सदस्यले भने यसबारे भोलिको छलफल हेरेर निर्णय लिने बताएको छ ।

स्रोतका अनुसार आईसीसी दुबै पक्षबीच जे सहमति हुन्छ, त्यसलाई मानेर अघि बढ्ने मनस्थितिमा देखिन्छ । साथै आईसीसी प्रतिनिधिहरुले विधानको विवाद धेरै लम्ब्याउन नहुनेमा जोड दिएका छन् ।

आईसीसीले एक महिनाभित्र विधान अनुमोदन गरिसक्नु पर्ने भनेको छ । नभए आवश्यक कदम चाल्ने बताएको छ ।

एक सदस्यले भने, भोलि फेरि छलफल छ । सहमति भयो भने अरु विषय पनि मिल्छ र ढिलोमा ६ महिनाभित्र निर्वाचन क्यान आउन सक्छ ।

तस्वीरः रोहित दाहालको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment