+

ह्वीलचेयर क्रिकेटरको संघर्ष : खाजा–पानीसमेत पाउँदैनन्

२०७५ चैत  १३ गते १९:०९ २०७५ चैत १३ गते १९:०९
ह्वीलचेयर क्रिकेटरको संघर्ष : खाजा–पानीसमेत पाउँदैनन्

१३ चैत, काठमाडौं । उवडखावड मैदानको बीच पारेर एकातिर दुईवटा र अर्कोतिर एउटा स्टम्प गाडिएको छ । ह्विलचेयरमा बसेका क्रिकेटर एउटा ब्याट र दुई वटा बल अगाडि राखेर अभ्यासको तयारीमा छन् । उनीहरुले मैदान बनाएको खगेन्द्र नवजीवन केन्द्रको साघुँरो खुला भागमा तयारी गर्दा गर्दै रमितेहरुले घेरिसके ।

एक खेलाडी एउटा स्टम्प गाडिएतिरबाट ह्विलचेयर गुडाउँदै बलिङ गर्न बढे, अर्का खेलाडी टाउकोमा हेल्मेट बाँधेर ब्याट समातेर तयार भए । बाँकी फिल्डिङका लागि चारैतिर छरिए ।

यसरी नै ह्विलचेयर क्रिकेटरहरु पहिलो पटक हुन लागेको एसिया कप टी–२० क्रिकेट प्रतियोगिताको तयारीमा जुटेका छन् । जावलाखेल र जोरपाटीमा अभ्यास गरिरहेका छन् ।

गत वर्ष नेपाल, भारत र बंगलादेशबीच भएको त्रिदेशीय सिरिज जितेको नेपाललाई आफनै मैदानमा हुन लागेको एसिया कपमा अझ राम्रो खेल प्रदर्शन गर्नुपर्ने दबाव छ ।

अप्रिल अन्तिम साता हुने प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान र बंगलादेश सहभागी हुने छन् । त्रिवि मैदान कीर्तिपुरमा हुने खेल चार दिनसम्म चल्नेछ, जसमा समूह चरणका ६ खेलमा शीर्ष रहने दुई टोलीले फाइनल खेल्ने छन् ।

क्रिकेटले दिएको खुशी

खगेन्द्र नवजीवन केन्द्रको मैदानमा फूर्तिसाथ खेल देखाइरहँदा भेटिएका एक हुन्, रामकाजी कार्की । उनले यसैगरी हरेक बिहान ७ बजेदेखि ९ बजेसम्म अभ्यास गर्न थालेको दुई हप्ता भइसक्यो । ‘म बलिङमा छु । राम्रै भइरहेको छ, तर अभ्यास गर्नेजस्तो मैदान नै छैन । ढुंगाहरु छन् । धेरै टाढा पनि जान सकिँदैन’ उनले भने ।

क्रिकेट खेल्न थालेपछि नयाँ जीवन पाएको अनुभव हुन थालेको रामकाजी सुनाउँछन् । यसरी राष्ट्रिय टिममा खेल्छु भनेर कहिल्यै सोचेकै थिएनन् । आठ वर्षअघि रुखको घाँस झार्न लागेका बेला करेन्ट लागेर लडेपछि उनको खुट्टा काम नगर्ने भएको थियो ।

‘दसतिर हिँडिरहेको मान्छे, ह्विलचेयरमा मात्रै बस्नुपर्दा सुरुमा त असाध्यै दुःख लागेको थियो । तर अहिले सबै सामान्य भइसक्यो । एउटा बाटोबाट जिन्दगी अर्को बाटोमा मोडियो । बाटो फरक परे पनि जसरी चलायो उसरी नै चल्नेरहेछ, जीवन’ उनले सुनाए  ।

रामकाजीसँगै छन् दिगम सिंह चेम्जोङ । उनी गएको वर्ष सिरिज जित्ने टिमको उपकप्तान पनि हुन् । पाकिस्तानमा कराँची ह्विलचेयर क्रिकेट  प्रिमियर लिग समेत खेलेका उनी टिममा भरपर्दो मानिन्छन् ।

१० वर्षअघि मोटरसाइकल दुर्घटनामा परेर मेरुदण्डमा समस्या आएपछि ह्विलचेयरको सहारामा रहेका उनलाई खेलाडी जीवनले पुरानो कुराहरु बिर्साएको छ । ह्विलचेयर क्रिकेटमा मात्रै होइन, टेबलटेनिस र बास्केटबल समेत खेलेका छन् उनले । ‘हामीसँग इच्छाशक्ति धेरै छ । शतप्रतिशत मेहनत गर्छौं । राष्ट्रिय गानसँगै जर्सी लगाएर मैदान छिर्दा ह्विलचेयरमा बसेर देशका लागि केही गर्न पाएका भाग्यमानी हौँ जस्तो लाग्छ’ उनी भन्छन्, ‘आफ्नो देशलाई चिनाउन पाउँदा गर्व लाग्छ ।’

रामकाजी र दिगमको जस्तै अनुभव र खेलप्रतिको लगावले विष्णुपुकार श्रेष्ठ, साजन श्रेष्ठ, नविन राई, सुप राई, अकल तामाङहरु पनि मेहनत गरिरहेका छन् । एसिया कपमा आफ्नो उपस्थिति बलियो बनाउन जुटिरहेका छन् । खेलकुदमा नलागी अरु काम मात्रै गर्दा जिन्दगीमा अगाडि बढ्नै नसकेको जस्तो उनीहरुलाई लाग्छ ।

सुरुवातका ती दिन

२०७१ सालको फागुनतिर पाकिस्तानबाट ह्विलचेयर क्रिकेट खेल्ने एक टोली नेपाल आएको थियो ।

उनीहरुले नै ह्विलचेयर बास्केटबल खेलिरहेका केही खेलाडीसहित इच्छुकलाई ह्विलचेयर क्रिकेट कसरी खेल्ने भनेर सिकाए । ‘पाकिस्तानबाट उनीहरु आएर सिकाउनुअघि हामीलाई बलिङ कसरी गर्ने, ब्याट कसरी समात्ने भन्ने पनि थाहा थिएन । त्यो बेला उनीहरुको भनेको कुरा बुझ्दै गएपछि हामीलाई पनि रहर बढ्यो’ दिगमले सम्झिए ।

पाकिस्तानबाट आएको टोलीले उतैबाट ल्याएको मेडल, ट्रफी र प्रमाणपत्र राखेर पुल्चोक इञ्जिनियरिङ कलेजको मैदानमा प्रतियोगिता गराए । त्यसले ह्विलचेयर क्रिकेटमा इच्छुक नेपाली खेलाडीको ध्यान खिच्यो । तर झण्डै दुई वर्षमा तितरबितर भए ।

त्यसपछि जोडिन आइपुगे पर्यटन व्यवसायी छुल्टिम ग्याल्जेन शेर्पा । उनले नेपाली खेलाडी जुटाएर अभ्यास गराउने र भारतसम्म खेल्न लैजाने मेसो मिलाए । खेलाडीको अनुहारमा देखेको खुशीले पर्यटन व्यवसायको काम छाडेर आफू क्रिकेटमै लागेको बताउँदै शेर्पा भन्छन्, ‘उनीहरुले देखाएको चासो र उनीहरुको अनुहारमा देखिएको खुशीपछि व्यवस्थित रुपमा लाग्न संघ खोल्यौं र निरन्तरता दियौं ।’

२०७२ सालमा भारत आग्रामा गएका केही खेलाडीले ह्विलचेयर क्रिकेटमा नियमित खेल्ने बाटो बनाएपछि छुल्टिम शेर्पाकै अध्यक्षतामा २०७३ साल चैतमा नेपाल ह्विलचेयर क्रिकेट संघ स्थापना भयो । नेपाल पारा ओलम्पिक कमिटी अन्तर्गत रहेको संघले गत वर्ष त्रिदेशीय सिरिज आयोजना गरेपछि ह्विलचेयर क्रिकेट बाहिर पनि चिनिन थाल्यो ।

अन्तर्राष्ट्रिय ह्विलचेयर क्रिकेट परिषदका पूर्ण सदस्य राष्ट्रहरु नेपाल, पाकिस्तान, भारत, बंगलादेश र इंग्ल्याण्ड साथै दुई एसोसियट सदस्य श्रीलंका र थाइल्याण्डको सहभागितामा सम्पन्न बैठकले पहिलो पटक ह्लिचेयर क्रिकेटमा एसिया कप नेपालमा गर्ने टुंगो लगाएको हो । नेपालमा प्रतियोगिता आयोजना हुनु खुशीको कुरा भएको अन्तर्राष्ट्रिय ह्विलचेयर क्रिकेट परिषदका अध्यक्ष तथा पाकिस्तान ह्विलचेयर क्रिकेट संघका अध्यक्ष रहेका मोहम्मद जिसानले पनि बताए ।

‘यस्तो प्रतियोगिताका लागि नेपाल जति उपयुक्त स्थान अरु छैन । यहाँको सद्भाव र सत्कार ठूलो छ । यहाँका मानिसहरुको सहयोगी भावनाले प्रतियोगिता सफल हुनेमा विश्वस्त छौं’ जिसानले भने ।

अफ्ठ्यारा चिरेर सफलतातिर

ह्विलचेयर क्रिकेट खेलाडीहरुले भोगेका दुःखहरु धेरै छन् । ‘हाम्रो अवस्था गाह्रो छ । आउन, जान समस्या हुन्छ । सार्वजनिक यातायात, सडक ह्विलचेयरमैत्री छैनन् । अभ्यासमा पनि भनेजस्तो खाजाको व्यवस्था छैन । हाम्रो संस्था नै अलिकति गरिब परिदियो । विगतमा पाएका दुःख भुलिदिने हो भने पनि नेपाल ह्विलचेयर क्रिकेट संघका अध्यक्ष छुल्टिम शेर्पाको यो भनाइले उनीहरुको वर्तमान अवगत गराइदिन्छ ।

एसिया कपको लागि मैदान भन्नसम्म मिल्ने खुला भागमा अभ्यास गरिरहेका खेलाडीहरुलाई खाजा त परको कुरा पानीको समेत सुविधा छैन । खेलाडीहरु दुईतिर छरिएर अभ्यास गर्नु परिरहेको छ । न अभ्यासका बेला कुनै सहयोग न त खेलका बेला नै ।

‘फरक क्षमता भएका व्यक्ति भनेपछि वास्ता नगर्ने रहेछन् । यसपटक प्रतियोगिताकै लागि भनेर ८० वटा जति कर्पोरेट हाउसमा पुगिसकेँ । कसैले पनि वास्ता गरेका छैनन्’ शेर्पा भन्छन्, ‘युवा तथा खेलकुद मन्त्रीज्यूलाई भेट्न जाँदा राम्रोसँग संस्था चलाउनु, गुनासो आयो भने कारबाही गर्छौं भनेर पठाउनुभयो ।’

ह्विलचेयर क्रिकेटको सुरुवातका दिनदेखि स्वयम्सेवकका रुपमा काम गरिरहेका ध्रुब चौलागाइँ पनि खेलाडीको मेहनत देखेर छक्क पर्छन् ।

जोरपाटीको स्थानीय बासिन्दा उनी भन्छन्, ‘हिजोसम्मको अनुभवमा उनीहरु केही थिएनन्, अहिले यहाँसम्म आइपुगेर राष्ट्रिय खेलाडी बन्नु ठूलो उपलब्धीको कुरा हो । उनीहरु बिहान पाँच बजे उठेर अभ्यासमा आउँछन्, खेलप्रतिको लगाव ठूलो छ ।’

कस्तो होला एसिया कप ?

अप्रिल अन्तिम साता हुने एसिया कपका लागि खेलाडीहरुसँग अभ्यासको समय कम छ । उनीहरु बिहान अभ्यास गरेर दिउँसो घरतिर लाग्छन् । एक जना खेलाडी एसईईको परीक्षामा रहेकाले केहीपछि सबै खेलाडीलाई मिसाएर अभ्यास सुरु गर्ने तयारी छ ।

प्रशिक्षक मनिष महर्जन पनि समय कम भएकाले पूरा तयारी गर्न मुस्किल हुने बताउँछन् । ‘प्रतियोगिता आउन लागिसक्यो हामीसँग समय धेरै छैन । अप्ठ्यारो छ । नियमित भइरहेको छैन । अन्तिम एक हप्ता सबै खेलाडीलाई एकै ठाउँमा अभ्यास गराउन सकिन्छ कि जस्तो लागेको छ । एशोसियसनलाई भनेर हेरौं के हुन्छ,’ उनले भने ।

गएको वर्ष त्रिदेशीय सिरिज जित्ने टिमका धेरै खेलाडी अहिले एसिया कपका लागि छैनन् । संघले खेलाडीको पुरस्कारमा हिस्सा मागेपछि आएको विवादले एसिया कपमाथि असर परिदिँदा खेलाडीहरु पनि बेखुशी छन् ।

‘पहिले हामीले सिरिज जित्ने बेलामा धेरै नै मेहनत गरेका थियौं । त्यो समय अभ्यास पनि राम्रो भएको थियो । त्यसपछि भने निकै समय ग्याप भयो । नेपालको माहोल नै राम्रो छैन । आश गरौं राम्रो नै होला’ सिरिज जित्दाका उपकप्तान दिगम चेम्जोङले भने ।

हेर्नुहोस् भिडियो

पहिले सानेपास्थित काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरमा बिहानदेखि बेलुकासम्म अभ्यास गर्थे । अहिले अनुभवी खेलाडी र अभ्यास दुबै नहुँदा नतिजा प्रभावित हुने सम्भावना छ ।

जोरपाटीमा बिहानदेखि अभ्यास गरिरहेका सुप राईलाई पनि समय पूरा नपाउँदा र राम्रो मैदान नहुँदा भनेजस्तो नहोला कि भन्ने चिन्ता छ । ‘यहाँको मैदान अभ्यास गर्न उपयुक्त छैन । समय पनि पूरा पाएका छैनौँ । अभ्यासको अभाव नै छ । अलि राम्रो ठाउँमा अभ्यास गर्न पाए त्यही अनुसार गर्न सकिन्थ्यो जस्तो लागेको छ’ उनले भने ।

हेर्नुहोस् थप तस्वीरहरु : 

तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखक
ऋग्वेद शर्मा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय