Comments Add Comment

एलडीओको गुनासो- तस्करबाट घुस नलिँदा सरुवा उपहार पाएँ

युवराज कट्टेल

१० साउन, भैरहवा । चलचित्रहरुमा खलनायकले आफ्नो शक्तिको दुरुपयोग गरेर इमान्दार कर्मचारीको सरुवा गरेको देखिए जस्तै घटना नवलपरासी जिल्लामा देखिएको छ । मुठ्ठीभरका तस्करहरुका अगाडि राष्ट्रसेवक कर्मचारी कसरी लाचार बन्न बाध्य हुन्छ र सरकारी संयन्त्र कति निरीह बन्दो रहेछ भन्ने उदाहरण छ नवलपरासी जिल्लामा ।

नवलपरासीमा ढुंगा गिट्टी बालुवा तस्कारको आतंक छ । तस्करको दबावमा एक वर्षको अवधिमा दुई जना स्थानीय विकास अधिकारी (एलडीओ)को सरुवा भएको छ । पछिल्लोपटक एलडीओ युवराज कट्टेलको सरुवा गरिएको छ । त्यसअघि जिवलाल भुसालको सरुवा भएको थियो । दुवै जनाले घुस नलिई इमान्दारीपूर्वक काम गर्दा पुरस्कारस्वरुप सरकारको तर्फबाट सरुवा पत्र पाएका छन् ।

विना अनुमति नदी दोहन गरेर अनाधिकृत रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्दा नवलपरासी जिल्लाका तत्कालिन स्थानीय विकास अधिकारी (एलडीओ) जिवलाल भुसालले त्यसउपर कारवाही चलाएका थिए । त्यसबाट असन्तुष्ट पक्षले २०७३ पुस २२ गते भुसाललाई धादिङमा काज सुरुवा गरायो ।

भुसालको सरुवापछि पुस २८ गते युवराज कट्टेललाई नयाँ एलडीयो बनाएर पठाइयो । तर, उनी पनि टिक्न सकेनन् । तस्करहरुको दबावमा उनको गत असार ३० गते सरुवा भयो ।

यस्तो छ सरुवाको कारण

एलडिओ कट्टेलले पदभार ग्रहण गरेलगत्तै जिल्लामा अनुगमन सुरु गरेका थिए । अनुगमनको क्रममा चोरी गरेर नदीजन्य पदार्थहरु स्टक गरेर राखेको पाइयो । उनले सम्बन्धित क्रसर व्यवसायीहरुलाई स्टक गरेर राखेको नदीजन्य पदार्थ खरिद गरेको स्रोत खुलाउन भन्दै पत्राचार गरे ।

क्रसर व्यवसायीहरुले स्रोत खुलाउन नसकेपछि एलडीओ कट्टेलले स्टकमा रहेको करोडौं रुपैयाँ मूल्य बराबरको ३४ लाख घनमिटर नदीजन्य पदार्थ लिलामीको सूचना निकाले । लिलामी सूचना पश्चात तिल्मिलिएका व्यवसायीहरुले अदालतमा लिलामी विरुद्ध मुद्दा हाले । अदालतले पनि व्यवसायीहरुको पक्षमा लिलामी नगर्न/नगराउन भन्दै अन्तरिम आदेश जारी गर्‍यो । अहिले मुद्दा विचाराधीन अवस्थामा छ ।

यसअघिका एलडीओ जिवलाल भुसालले विष्णु कार्कीको कम्पनी उपर गरेको कारवाहीलाई कट्टेलले निरन्तरता दिएका थिए । कार्कीको स्मृति निर्माण कम्पनीले अनधिकृत रुपमा दोहन गरेर लाखौं घनमिटर नदीजन्य पदार्थ स्टक गरेर राखेको छ ।

स्मृति निर्माण कम्पनी नेपाली कांग्रेसका महासमिति सदस्य विष्णु कार्कीको कम्पनी हो । स्मृति निर्माण कम्पनीले अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी उपर कारवाही गर्न खोज्दा भुसाल र कट्टेलको सरुवा भएको स्थानीय बताउँछन् ।

‘तस्करहरुले सरुवा गराए’

एलडीओ युवराज कट्टेलले इमान्दारीपूर्वक राज्यको सेवा गर्दा चोर, तस्करहरुले आफ्नो सरुवा गराएको गुनासो गर्छन् ।

उनी भन्छन्- म यहाँ (नवलपरासी) आउन चाहेको थिएनँ तर पटक-पटकको दबाव पश्चात म यहाँ आए । र, यहाँ आएर एउटा इमान्दार कर्मचारीले जे गर्नुपर्ने हो मैले त्यही कार्य गरे । र, त्यही इमान्दारीको कार्य गर्दा आज मैले सरुवाको पत्र पाएँ । मैले यहाँ आएर नदी दोहान गर्न दिएन, चोरी, तस्करी गर्न दिएन । चोर र तस्करहरुलाई कानुनी दायरामा ल्याएँ । त्यसको स्वरुप सरकारले मलाई सरुवा पत्र उपहारमा दिएको छ ।

कामको क्रममा उनले जिल्लाको सीडीओ र एसपीको राम्रो सहयोग पाएको बताउँछन् ।

उनी भन्छन्- यहाँ खराब जमातको बिचमा असल जमात पनि छ । मैले स्टकमा राखिएका नदीजन्य पदार्थ स्रोत खुलाउन पत्राचार गरेपछि केही व्यवसायीहरु आएर जरिवाना तिर्दै आफूहरुलाई अवैधबाट वैध बनाएको भन्दै धन्यवाद पनि दिए । तर मुठ्ठीभरका तस्करहरुको अगाडि सरकारी सेवक लाचार बन्नुपर्दो रहेछ ।

उनले भने- मेरो सरुवा भएपश्चात अहिले रातिको समयमा व्यापक रुपमा नदीको अनाधिकृत रुपमा दोहन भइरहेको छ । ट्याक्टर र टिप्परहरुमा रातारात नदीजन्य पदार्थहरु अवैध रुपमा स्टक भइरहेको छ । यसलाई अब कसले रोक्ने ? इमान्दार कर्मचारी आए सरुवा पत्र उपहारमा पाइँदो रहेछ । घुस खाएर नदी दोहन गर्ने कर्मचारी पो यहाँ चाहिदो रहेछ ।

सरुवा पत्र प्राप्त गरे पश्चात मन्त्रालयका सचिवलाई सम्पर्क गरेका उनले ‘माथिको दवाव’ रहेको भन्ने जवाफ पाएका छन् ।

उनले कार्यरत ६ महिनामा जरिवानाबाट मात्र ८७ लाख रुपैयाँ राजश्व संकलन गर्न सफल भएका छन् ।

साउन महिनादेखि खोलाहरु ठेक्का लगाउने प्रक्रियामा जान्थ्यो । अब पनि खोलाको ठेक्का लाग्यो र यही एलडीओ भएमा अनधिकृत रुपमा चोरी निकासी गर्न समस्या हुने भन्दै तस्करहरुले उनको सरुवा गरेको बताइन्छ । ठेक्का लगाउनु अघि नै उनको असार ३० गते सरुवा गराइएको छ ।

स्रोतका अनुसार एलडिओ कट्टेलको सरुवा गराउनमा नवलपरासी जिल्लाको सुनवल नगरपालिकाको मेयर भरत थापा, क्रसर व्यवसायी संघ नवलपरासी लगायतको समूह रहेको छ ।

यो पनि पढ्नुहोस्

केरुङ्गे खोलाको गिटीमा देउवाको नजर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment