Comments Add Comment

पेट्रोल खानीमा फेरि विदेशी कम्पनी, ७ वर्षभित्र उत्खनन सुरु गर्ने योजना

१५ साउन, काठमाडौं । सरकारले नेपालमा रहेको भनिएको पेट्रोलियम खानीहरुमा अन्वेषण र उत्खननको काम फेरि अघि बढाउने भएको छ ।

झण्डै ३ वर्षदेखि लगभग ठप्प रहेको पेट्रोलियम अन्वेषणको काम अघि बढाएर केही वर्षभित्रै पेट्रोल उत्खखन् गर्ने सरकारी योजना छ । योजनाअनुसार काम भए ७ वर्षपछि पेट्रोल उत्खननको तयारी सुरु हुनेछ ।

सरकारले पुनः विदेश कम्पनीहरुलाई नेपालको १० वटै पेट्रोलियम ब्लकको अन्वेषण, विकास र उत्खनन्का लागि लाइसेन्स जारी गर्ने तयारी गरेको छ । यसका लागि पेट्रोलियम खानी उत्खनन् नियमावली संशोधन हुँदैछ ।

खानी जिम्मा दिने कम्पनीको टेण्डर मूल्यांकन प्रक्रियालाई वैज्ञानिक बनाउन भन्दै खानी विभागले अघि बढाएको नियमावली संशोधन प्रस्ताव मन्त्रिपरिषद्बाट पास भएको छ तर, राजपत्रमा प्रकाशित हुन बाँकी छ ।

यो सूचना प्रकाशित भएलगत्तै पेट्रोल खानीहरुको अन्वेषण, विकास र उत्खनन्का लागि ग्लोबल टेण्डर प्रकाशित हुने विभागका महानिर्देशक राजेन्द्र खनालले अनलाइनखबरसँग बताए ।

लाइसेन्सस मात्रै होल्ड गरेको भन्दै सुशील कोइराला नेतृत्वको सरकारले सबै पट्रोलियम ब्लकमा अन्वेषणको जिम्मा लिएका कम्पनीहरुको इजाजत रद्द गरेको थियो । त्यसपछि नयाँ लाइसेन्स जारी गरिएको छैन ।

अब भने साँच्चिकै रिजल्ट आउने गरी काम गर्न सक्ने सक्षम कम्पनी मात्रै छनोट हुने खनालले बताए । नयाँ ब्यवस्थाअनुसार पेट्रोलियम ब्लकहरुमा आउने विदेशी कम्पनीले सुरुवातमा ४ वर्ष अन्वेषणका लागि पाउनेछन् । त्यति सयमा काम नसकिए थप ३ वर्ष पनि दिइने खनालले जानकारी दिए ।

‘नियमावली संशोधनपछि मूल्यांकन प्रक्रिया पारदर्शी र प्रभावकारी बन्छ । योग्य कम्पनीहरु छानिने भएकाले अब पहिले जस्तो लाइसेन्स होल्ड गरेर काम नगर्ने समस्या दोहोरिँदैन’ महानिर्देशक खनालले भने, ‘अब कम्पनी छानिएपछि अन्वेषणको काम बढीमा ७ वर्षभित्र सकाउँछौं । त्यसपछि आउने अनुसन्धान प्रतिवेदनमा आधारित भएर उत्खननका लागि पूर्वाधार विकासको काम सुरु हुन्छ ।’

झण्डै ३७ वर्षअघि भएको अध्ययनले तराईको अधिकांश क्षेत्रबाट पेट्रेलियम पदार्थ उत्खनन गर्न सकिने देखाएको थियो । यसै विषयमा अध्ययन गर्न खानी विभागमा पेट्रोलियम अन्वेषण परियोजना पनि चलिरहेको छ । यो युनिटले पेट्रोलियम खानीको प्रारम्भिक अध्ययनमा काम पनि गरिरहेको छ ।

तर, सम्भावना भएका क्षेत्रमा अहिलेसम्म डीप ड्रिल गर्न सकिएको छैन । यो काम हुन नसक्दा कुन क्षेत्रमा कति पट्रोल छर त्यो उत्खनन गर्र्न आर्थिक तथा प्राविधिक रुपमा कति सम्भव हुन्छ भन्ने विस्तृत अनुसन्धान भएको छैन । यसअघि अन्वेषणका लागि जिम्मा दिइएका विदेशी कम्पनीले पनि यसअघि गतिलोसँग काम गरेनन् । सरकारसँग दक्ष प्रविधिक पनि छैन ।

अहिलेसम्म के के भए ?

खानी विभागको अहिलेसम्म गरेको अध्ययनले नेपालको चुरेभन्दा मुनिको सबै तराईको भू–भागबाट पेट्रोलियम पदार्थको उत्खनन हुन सक्ने देखाएको छ । पेट्रोलियम बन्ने स्रोत पहाडी भू–भाग हो भने, चुरे सिल्ड क्षेत्रमा पर्छ । तराईबाट उत्खनन् गर्न सकिने भएकाले त्यसलाई रिर्जभ्वायरका रुपमा मानिएको छ ।

विभागले पेट्रोलियमको सम्भावनालाई पुष्टि गर्ने गरी भौगर्भिक एक्स–रे लगायत विभिन्न अध्ययन सकेको छ । तिनै अध्ययनका आधारमा सम्भावित भू–भागलाई १० वटा ब्लकमा विभाजन गरिएको छ ।

यसअघि १, २, ४, ६ र ७ नम्बर ब्लकमा केरिन इनर्जीले पाएको अनुमति खारेज भएको थियो भने ३ र ५ मा टेक्साना, ८ र ९ मा इएबी र १० नम्बर ब्लकमा बीबीबीको अनुमति रद्द भएको थियो । त्यसपछि कुनै ब्लकका लागि पेट्रोलियम पदार्थको अन्वेषण र उत्खननका लागि कसैलाई अनुमति दिइएको छैन ।

अब फेरि विदेशी कम्पनीले यीनै ब्लकहरुमा पेट्रोलियम अन्वेषण, विकास र उत्खननको काम गर्नेछन् ।

२० वर्ष अघिको एउटा प्रयास

भारतले ०४५ सालमा नकाबन्दी लगाएपछि त्यतिबेलाको सरकारले पेट्रोलियम पदार्थको अन्वेषणमा विषेश ध्यान दिएको थियो । त्यसैको परिणामस्वरुप सेल नेपाल नामक कम्पनीले विराटनगर आसपासको क्षेत्रमा अन्वेषण काम सुरु गर्‍यो  ।

मोरङको बाहुनी गाविसस्थित राधानगरमा सेल नेपालले ३५ सय २० मिटर गहिराइसम्म ड्रिल गर्‍यो । तर, त्यति गहिराइसम्म पुग्दा पनि तेल नभेटिएपछि कम्पनी पछि हट्यो । अहिले पनि राधानगरमा पेट्रोल खोज्न खनिएको खाडल यथावत छ । ‘सम्भावना भएको क्षेत्रमा ड्रिल गरिएको थियो, अझै केही गहिराइसम्म ड्रिल गरेको भए पेट्रोलिम पदार्थ नभेटिएला भन्न सकिन्न,’ विभागका भूगर्भविद सोमनाथ सापकोटाले अनलाइनखबरसँग भने, ‘त्यतिबेलाको सरकारको पहलमा पनि त्यति काम भएकै हो । तर, त्यसपछि उल्लेख्य काम गर्न सकिएन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment