Comments Add Comment

सामाजिक सेवाबाट उपचार लिने बिरामीको संख्या बढ्दो

१५ साउन, चितवन । भरतपुर अस्पतालको सामाजिक सेवा इकाई मार्फत निःशुल्क तथा आधा शुल्क तिरेर उपचार लिने बिरामीको संख्या हरेक वर्ष बढ्दै गएको छ ।

अस्पतालबाट गत आर्थिक वर्षमा ७ हजार ७७ जनाले निशुल्क तथा आधा शुल्क मात्रै बुझाएर उपचार लिएका छन् । यो अघिल्लो आर्थिक वर्षमा भन्दा ७१२ जनाले बढी हो ।

आर्थिक वर्ष २०७२/ ७३ मा ६ हजार ३ सय ६५ जनाले अस्पतालको सामाजिक सेवा इकाईबाट निःशुल्क उपचार सेवा लिएका थिए । गत बर्षबाट सरकारले प्राकृतिक प्रकोप पीडित, सहिद परिवारका सदस्य, कुपोषणमा परेका बालबालिका, प्रहरीद्धारा ल्याइएका थुनुवा र आकस्मिक बिरामी भएका गरी ५ वटा समुहलाई लक्षित समुहमा थप गरेको छ । यसकै कारण पनि सेवा लिनेको सख्या पनि बढ्न पुगेको छ ।

गत वर्ष गरीव तथा अति गरीव ४ हजार ५६९, असहाय ९१, अपाङ ५८, जेष्ठ नागरिक २ हजार २९९, लैगिक हिंसापीडित ४२, महिला स्वास्थ्य स्वंयसेविका ८, प्राकृतिक प्रकोप पीडित १, सहिद परिवार २, कुपोषण बालबालिका १, प्रहरीद्धारा ल्याइएका थुनुवा ४, आकस्मिक बिरामी (अभिभावक नभएका) २ जनाले निशुल्क उपचार लिएका छन् । यसरी निःशुल्क र आधा शुल्कमा उपचार लिनेमा ३ हजार १८५ पुरुष र ३ हजार ८९२ महिला छन् ।

हरेक वर्ष निःशूल्क तथा आधा शुल्क मात्रै तिरेर उपचार गराउनको संख्या बढेसँगै अस्पतालको आर्थिक दायित्व पनि वृद्धि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. रूद्रप्रसाद मरासिनीको भनाइ छ ।

आर्थिक वर्ष २०७१/०७२ मा सामाजिक सेवा इकाई मार्फत रू ७४ लाख १८ हजार ६२, आर्थिक वर्ष २०७२/७३ मा १ करोड १ लाख १५ हजार ६३ रुपैया समाजिक सेवा मार्फत निशूल्क उपचारमा खर्च भएको छ ।
गत आर्थिक वर्षमा २०७३/७४ मा १ करोड ६ लाख ७५ हजार ४ सय १६ रुपैया खर्च भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

भरतपुर अस्पतालमा गरिव, विपन्न तथा सिमान्तकृत समुदायहरुले निःशुल्क सेवा लिन आउदा नेपाल सरकारले जारी गरेको परिचय पत्र वा नागरिकताको प्रमाणपत्र वा अन्य कुनै परिचय पत्र वा स्थानीय तहको सिफारिस लिएर आउनुपर्ने व्यवस्था गरिएको छ । असाहृयका लागि प्रहरीको सहयोग वा अन्य कुनै सामाजिक सस्था वा व्यक्तिको सहयोगमा आएकाहरुलाई निःशुल्क उपचार गरिने व्यवस्था छ ।

यस्तै, अपांगहरूका लागि महिला विकास शाखाले जारी गरेको परिचय पत्र, जेष्ठ नागरिकहरूले सामाजिक सुरक्षा भत्ता लिएको परिचयपत्र लिएर आउनुपर्ने व्यवस्था गरिएको छ । साथै लैंगिक हिंसामा परेका महिला, पुरूष वा वालवालिका र स्वंयसेविका महिलाहरूलाई पनि अस्पतालमा आंशिक तथा पूर्ण छुट हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment